२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

दानबहादुरलाई खगेन्द्रले ‘थर्काउँदै’ थिए, सरकारले हटाइदियो

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।

केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै हटाइएको हो ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियामाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

उक्त विषयलाई लिएर विवाद चर्किंदै जाँदा प्रहरी संगठनभित्र समेत तीव्र अन्तर्विरोध देखिएको थियो । त्यससँगै आईजीपी कार्की र सरकारबीचको सम्बन्ध पनि तनावपूर्ण बनेको थियो ।

यसैबीच, कार्कीको नाम बिचौलिया भनिएका इनम सापकोटासँगको कथित सम्पर्कको विषयमा समेत जोडिएको भन्दै सार्वजनिक चर्चा भएको थियो । यिनै घटनाक्रमबीच सरकारले प्रहरी नेतृत्व परिवर्तन गर्दै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार