तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ । आधुनिकताले हराउँदै गएको माटाको भाँडा बनाउने पुख्र्यौली पेसालाई जोगाउन यहाँका कुम्हाल समुदायका घरहरूमा अहिले माटो मुछ्ने, चक्र घुमाउने र दियो–पाला सुकाउने कामको व्यस्तता देखिन्छ ।
वर्षभरि सुनसानजस्तै बन्ने यो समुदायमा चाडपर्वको आगमनसँगै रौनक र व्यस्तता एकाएक बढेको नेपालगन्ज उपमहानगरपालिका–१३ का रमेश कुम्हालले बताए । उनका अनुसार तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले बेग्लै चहलपहल छाएको छ ।
‘समय फेरिएसँगै घरगृहस्थीमा स्टिल, प्लास्टिक र आल्मुनियमका भाँडाकुँडाको प्रयोग अत्यधिक बढेको छ । यसले गर्दा माटाका भाँडा बनाउने पेसा सङ्कटतर्फ धकेलिँदै गएको छ । तर, तिहार र छठजस्ता पर्वमा मात्रै माटाका भाँडाको माग हुने गरेकाले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छौँ,’ रमेशले भने ।
हिन्दू संस्कृतिमा तिहारको दीपमालिका र छठको पूजामा माटाका दियो तथा भाँडाको प्रयोग अनिवार्य मानिन्छ । विद्युतीय झिलीमिली बत्तीको बाढी आए पनि माटोको दियोले बाल्ने उज्यालोको सांस्कृतिक मान्यता र पवित्रता फरक हुन्छ । यही धार्मिक तथा सांस्कृतिक आस्थाका कारण तिहार र छठमा माटाका सामग्रीको माग उच्च हुने गरेको उनको भनाइ छ ।
आधुनिक युगमा यो पेसाबाट मात्रै परिवारको जीविकोपार्जन गर्न निकै कठिन बन्दै गएको छ । युवापुस्ता विदेश पलायन हुने वा अन्य पेसातिर लाग्ने क्रम बढेसँगै परम्परागत पेसा सङ्कटमा परेको रमेशको बुझाइ छ । तर पनि पुर्खाको चिनो र संस्कृतिलाई छाड्न नसकेकाले यसलाई निरन्तरता दिँदै आइएको उनले बताए ।
‘चाडपर्वका बेला सबैभन्दा बढी माग दियो र पालाको हुन्छ, माग धान्नकै लागि कुम्हाल परिवारहरू रातदिन नभनी खटिएका छन्,’ नेपालगन्ज–१३ का दीपक कुम्हालले भने, ‘अहिले घैँटा, दियो, पाला र भुर्कीलगायतका सामग्री तीव्रगतिमा तयार पारिरहेका छन् ।’ तिहारमा मागअनुसार दियो पुर्याउन कठिन हुने भएकाले धेरै पहिलेदेखि नै उत्पादन सुरु गरेको उनको भनाइ छ ।
बजारमा एउटा दियो रु एकमा बिक्री हुने गरेको छ । गत वर्षको तिहारमा मात्रै ३० हजारभन्दा बढी दियो बिक्री गरेको दीपकले बताए । दसैँ र तिहारको समयमा नेपालगन्जका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा माटाका भाँडा किन्नेको भीड लाग्ने गर्छ । विशेषगरी त्रिभुवनचोक, सदरलाइन, त्रिवेणी मोड र धम्बोझी चोकमा माटाका भाँडाको कारोबार र चहलपहल उच्च हुने गरेको नेपालगन्जका उपभोक्ताहरु बताउँछन् ।
