२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् ।

स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन् । ‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रूपमा सल्लाह गरेर पहिलो अभ्यासका रूपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिए ।

‘अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,’ उनले भने । तिहारमा बजारमा फूलको माग बढी हुने र भारतीय आयातित फूलले बजारको माग धानिरहेको उल्लेख गर्दै सञ्चालक आर्चायले यस खेतीका लागि धेरै तयारी गर्नुनपर्ने उल्लेख गरे ।

सानो मेहनत र लगानीले नै ठुलो प्रतिफल हापिसल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए । उनका अनुसार फुटाहामा पानी नजम्ने ठाउँ छनोट गरेर चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरिएको हो । तिहारअघि नै करिब रु ५० हजार बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए ।

त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेत लगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको छ । पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरीखेतीलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको उल्लेख गर्दै आर्चायले धेरैजसो विषयमा आफूले ज्ञान राखेकाले कुनै निकायलाई हारगुहार गर्न नपरेको स्पष्ट गरे ।

‘पानी नजम्ने जग्गा छनौट गर्नुपर्छ र पानी धेरै भएको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपछ,’ पुष्पखेतीबारे जानकारी दिँदै उनले भने । बर्षे झरीमा रोग र किराको व्यवस्थापन गरेर लोभलाग्दो रूपमा फूलको उत्पादन गरिएको आर्चायले बताए । बजारीकरणको काम सामाजिक सञ्जालबाट नै भएको र त्यहाँबाट नै माग आएको उल्लेख गरे ।

तिहारमा नेपालगन्जको धम्बोझीमा माला र फूलको खुद्रा बेचबिखन हुने फिट फार्मले जनाएको छ । लुम्बिनी फ्लोरिकल्चर एसोसियसनका पूर्वसदस्य एवम् महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिए । उनले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गरे ।

उनले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको धारणा राखे । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार