कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको १५औं महाधिवेशन प्रक्रिया तीव्र बनाएको छ ।देउवा पक्षले अहिलेसम्म ६१८ पालिकासहित २६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
देउवा पक्षले मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी र अहिलेसम्म सम्पन्न भएका अधिवेशनको विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले छोटो समयमै देशभर अधिवेशन प्रक्रिया अघि बढाइएको र नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको दाबी गरे ।
महतका अनुसार अहिलेसम्म ६१८ पालिकाका साथै प्रदेशसभाका २२८ निर्वाचन क्षेत्रमा र प्रतिनिधिसभाका ११४ निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको छ । त्यस्तै २६ जिल्लामा अधिवेशन सम्पन्न भएको र थप १२ जिल्लामा अधिवेशन उद्घाटन भएर प्रक्रिया अघि बढिरहेको उनले बताए । वडा अधिवेशन पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको उनको भनाइ छ ।
महतकै अनुसार पनि अझै १३५ पालिका, १०२ प्रदेशसभा निर्वाचन क्षेत्र, ५१ प्रतिनिधिसभा क्षेत्र र ३९ जिल्लामा अधिवेशन हुन बाँकी देखिन्छ । ‘छोटो समय लिएर अधिवेशन प्रक्रिया अघि बढाएका हौं, देशभरका साथीहरू सक्रियताका साथ सहभागी हुनुभएको छ, उत्साहपूर्वक सहभागिता देखिएको छ,’ महतले भने ।
उनले थपे, ‘यसको मुख्य विशेषता स्वत:स्फूर्त सहभागिता हो, कुनै साधनस्रोत दिइएको छैन, केन्द्रबाट पनि दिन सकेका छैनौं, जुन जुन तहमा अधिवेशन भएको छ, ती तहका साथीहरूले आफ्नै साधनस्रोत प्रयोग गरेर अधिवेशन गर्नुभएको छ ।’ उनले आफूहरूको महाधिवेशन विधि, न्याय र कांग्रेसको मूल्यमान्यता पक्षधरहरूको सहभागितामा अघि बढेको दाबी गरे ।
विशेष महाधिवेशनमा सहभागी भएका नेता–कार्यकर्ता पनि देउवा पक्षले अघि बढाएको अधिवेशन प्रक्रियामा जोडिन थालेको उनको दाबी छ । ‘हामी विधि र न्यायको पक्षमा छौं, कांग्रेसको जुन मूल्य र मान्यता छ, त्यो विचार बोकेका छौं भन्ने मानसिकताका साथीहरू सक्रिय हुनुभएको छ, विशेष महाधिवेशनमा सहभागी साथीहरू पनि हाम्रो अधिवेशनमा जोडिनुभएको छ, जोडिने क्रम जारी छ,’ उनले भने ।
महाधिवेशन शेरबहादुर देउवाको संयोजकत्वमा अघि बढाइने र दैनिक संयोजनको जिम्मेवारी नेता शशांक कोइरालाले गरिरहेको उनले जानकारी दिए । देउवा पक्षले महाधिवेशन तयारीसँगै गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि पनि प्रश्न उठाएको छ । महतले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा नै अहिले पनि पार्टी सभापति रहेको दाबी गर्दै आफूहरू नै कांग्रेसको मूलधार भएको जिकिर गरे ।
‘हामी ठीक ठाउँमा उभिएका छौं, १४औं महाधिवेशनको सभापति शेरबहादुर देउवा हो, अहिले पनि पार्टी सभापति उहाँ नै हुनुहुन्छ, सभापतिलाई हटाउन दुईतिहाइले मात्रै सकिन्छ, त्यो पनि केन्द्रीय कार्यसमितिले आयोजना गरेको विशेष महाधिवेशनबाट,’ उनले भने । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई तत्काल मान्यता दिएको निर्णय अस्वाभाविक रहेको भन्दै आफूहरू अदालत गएको उनले बताए । सर्वोच्च अदालतले समेत उक्त प्रक्रियामा त्रुटि देखेर पुनरावलोकनको अनुमति दिएको उनको दाबी छ ।
पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिकता पाउने विश्वास उनले व्यक्त गरे । संस्थापन पक्षले १८–२३ मा १५ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको नयाँ अद्यावधिका लागि सम्पूर्ण विवरण निर्वाचन आयोगमा बुझाइसकेको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनको नेतृत्वलाई मान्यता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै महतले त्यसको गहिरो छानबिन हुनुपर्ने मागसमेत पत्रकार सम्मेलनमा गरेका छन् ।
गगन थापा नेतृत्वको कांग्रेससँग वैचारिक, वैधानिक र पार्टी सञ्चालन पद्धतिका दृष्टिले कांग्रेसको मूल आत्मा नरहेको उनको टिप्पणी थियो । ‘उहाँहरूको कांग्रेसमा नेपाली कांग्रेसको आत्मा छैन, वैचारिक कोणबाट, वैधानिक कोणबाट र पार्टी सञ्चालन गर्ने पद्धतिको कोणबाट पनि उहाँहरू ठीक ठाउँमा हुनुहुन्न, हामी ठीक ठाउँमा छौं, कांग्रेसको आत्मा हामीसँग छ,’ उनले भने ।
