नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भाईटीकाको भोलिपल्ट कात्तिक २६ गते कारावासमुक्त गर्न अदालतबाट पत्राचार भएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार, रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरिएको हो । पत्र सोमबार (कात्तिक १६) नै कारागारमा पुगिसकेको छ ।
रायमाझीले ६५ वर्ष उमेर पूरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन दिएको निवेदनका आधारमा कैदमुक्त गर्न अदालतबाट डिल्लिबजार कारागारलाई पत्राचार गरिएको काठमाडौं अदालतका तहशिलदार विकासकुमार रजकले जानकारी दिए ।
‘ज्येष्ठ नागरिकको सुविधाका लागि दिएको निवेदनमा इजलासको आदेशबमोजिम कारागारमा परिपत्र भएको छ,’ रजकले भने, ‘उहाँको नागरिकता अनुसार, कात्तिक २५ गते ६५ वर्ष पुग्नुहुँदो रहेछ । पत्रअनुसार कात्तिक २६ गते कैद मुक्त हुन पाउनुहुन्छ ।’
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाएको आरोपमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट रायमाझीलाई चार वर्ष कैद सजाय ठहर भएको थियो ।
२०८३ असार ३० गते उनलाई कैद सजाय ठेकिएको थियो । उनले ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट हुने कानुनी व्यवस्थाको सुविधा पाएका हुन् ।
