सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआइजी) डा.मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो ।
केसी र कार्की दुवै एउटै ब्याचीका प्रहरी अधिकारी हुन् । नेपाल प्रहरीको नेतृत्वमा पुगेका डा.केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अघि बढाउने प्रहरी अधिकृतका रूपमा परिचित छन् । उक्त प्रकरणमा प्रभावशाली राजनीतिक व्यक्तिहरूको नाम जोडिएपछि उनी पटक–पटक सरुवामा परेका थिए ।
तर, प्रहरी सेवामा आफ्नो कार्यक्षमता र अनुसन्धानमा देखाएको सक्रियताका कारण उनी प्रहरी संगठनको नेतृत्व तहसम्म पुग्न सफल भएका छन् । केसी २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीसँगै प्रहरी सेवामा प्रवेश गरेका दानबहादुर कार्की र राजन अधिकारी पनि प्रहरीको उच्च नेतृत्व तहमा पुगेका अधिकारी हुन् ।
एआइजी बढुवाका क्रममा पनि केसीलाई छुटाउने प्रयास भएको बताइएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक उनीलाई बढुवा गर्ने पक्षमा नरहेको र सिद्धिबिक्रम शाहलाई बढुवा गर्ने तयारी भएको विवरण सार्वजनिक भएका थिए ।
तर, पार्टीभित्रै विवाद उत्पन्न भएपछि केसीको नाम अन्तिममा राखेर बढुवा सिफारिस गरिएको थियो । केसीलाई बढुवाबाट रोक्न खोजिनुको मुख्य कारण नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनको भूमिका रहेको बताइन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय

केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख बनेका थिए । त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व दानबहादुर कार्कीले गरिरहेका थिए । दुवैले करिब सात महिना कार्यालय प्रमुखका रूपमा काम गरेका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा २०७९ जेठ १८ गते ८१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले पीडितका तर्फबाट उजुरी दर्ता गराएका थिए ।
त्यसअघि वसन्त कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । उनी २०७८ पुस २२ गते कार्यालय प्रमुख बनेका थिए र २०७९ असार १७ गतेसम्म जिम्मेवारीमा रहे । त्यसपछि जनक भट्टराई कार्यालय प्रमुख बनेका थिए । उनको कार्यकालमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले गति लिन सकेन । तर, केसी कार्यालय प्रमुख बनेपछि अनुसन्धान अघि बढ्यो ।
तत्कालीन प्रहरी महानिरीक्षक वसन्त कुँवरले पदको शपथ लिनुअघि नै २०७९ चैत १२ गते बिहान एसएसपी केसीको नेतृत्वमा प्रहरीले घटनाका मुख्य आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायतको नाम जोडियो ।
उनीहरू पक्राउ परेपछि केसीको सरुवाका लागि राजनीतिक दबाब परेको विवरण सार्वजनिक भएका थिए । त्यसपछि २०८० भदौ ४ गते केसी र कार्की दुवैको सरुवा गरियो । केसीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइयो भने कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको थियो ।
बेचन झा र प्रतीक थापा पक्राउमा पनि भूमिका

२०८१ जेठ ४ गते मनोज केसी र राजन अधिकारी डीआइजीमा बढुवा भए । बढुवापछि केसीलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो । विशेष ब्युरोमा रहँदा उनले २०८१ असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई पक्राउ गर्न भूमिका खेले ।
उक्त घटनापछि केसीलाई दुई महिना नबित्दै विशेष ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज पठाइएको थियो । विशेष ब्युरोमा भने राजन अधिकारीलाई जिम्मेवारी दिइएको थियो । त्यसपछि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका केसीलाई गत वैशाख ४ गते एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।
बढुवा सिफारिस सूचीमा अन्तिम नम्बरमा परेका उनी अन्तत: एआइजी बनेका थिए । केसीले एसएसपी र डीआइजी हुँदा ठूला तथा चर्चित आपराधिक घटनाको अनुसन्धानमा भूमिका निर्वाह गरेका थिए । ललिता निवास प्रकरणसहित विभिन्न ठूला अपराधको अनुसन्धान अघि बढाएका उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा देखाएको सक्रियताका कारण चर्चामा आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणताका केसी एसएसपी थिए । उनकै नेतृत्वको टोली कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो भने सरकारमा कांग्रेस रहेसम्म उनले महत्त्वपूर्ण पोस्टिङ पाएका थिएनन् ।
भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएको बेला ४ भदौ २०८० मा तत्कालिन सरकारले उनलाइ जिम्मेवारीबाट हटाएको थियो । प्रहरी संगठनभित्र अनुसन्धानमा कडा र निर्भीक अधिकृतका रूपमा चिनिएका केसीको नेतृत्वमा अब नेपाल प्रहरीले कस्तो कार्यदिशा लिन्छ भन्ने चासो बढेको छ ।
