२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

बर्दियाका किसानलाई सस्तोमा बेच्नुपर्ने बाध्यता

सरकारले धान खरिदमा ढिलाइ गर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका छन् । बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् । सरकारले तोकेको धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् ।

सरकारले मोटो धानको प्रतिक्विन्टल तीन हजार ६६० र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ समर्थन मूल्य तोके पनि किसानले मोटो धान प्रतिक्विन्टल दुई हजार ८०० र मध्यम धान तीन हजार २०० रुपैयाँमा बेच्न बाध्य छन् । मल, जल अभावका बीच मेहनत र परिश्रम गरी उत्पादन गरेको धानको उचित मूल्य नपाएर सस्तोमा बिक्री गरेको गुलरिया नगरपालिका–९ का जवाहिर यादवले बताए ।

‘प्रतिक्विन्टल दुई हजार ८०० का दरले धान बिक्री गरेका छौं,’ उनले भने, ‘धान लगाउने बेलामा लिएको ऋण तिर्न र चाडपर्व नजिकिएकाले सस्तोमा धान बेच्न बाध्य भएँ ।’ आफूहरूजस्ता सामान्य किसानले कहिल्यै पनि सरकारले तोकेको धानको समर्थन मूल्य नपाएको गुलरिया नगरपालिका–१० का रमेश लोधले बताए ।

‘सरकारले निश्चित कोटा तोक्छ, गत वर्ष पनि हामीजस्ता गाउँका किसानले खबर नपाउँदै टाठाबाठाले बेचेर तोकिएको कोटा पूरा भएको थियो,’ उनले भने, ‘अनि हामीजस्ता सामान्य किसानले निजी व्यापारीलाई सस्तोमा धान नबेचेर के गर्ने ?’ कृषि कर्ममा लागेका वास्तविक किसानले चौतर्फी समस्या झेल्नुपरिरहेको गुलरिया नगरपालिका–८ का वीरेन्द्र बनियाले बताए ।

‘धान लगाउने बेला वर्षात् नहुँदा महँगोमा इन्धन खरिद गरी सिँचाइ गरेर धान रोपाइँ गर्नुपर्छ,’ उनले भने, ‘यस्तै मल नपाएर भारतबाट महँगोमा ल्याएर हाल्नुपर्छ । धान तयार भई भित्र्याउने बेला पानीले भिजायो । पानीबाट बल्लतल्ल बचाउन सकेको धान सस्तोमा बेच्न बाध्य भएका छौं ।’ बर्दियामा ५० हजार १५० हेक्टरमा धान खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले बताइन् ।

‘गत आर्थिक वर्षमा जिल्लामा दुई लाख २५ हजार ६७५ मेट्रिक टन धान उत्पादन भएको थियो,’ उनले भनिन्, ‘यस वर्ष हालसम्म स्थानीय तहहरूबाट धान उत्पादनको तथ्यांक आइसकेको छैन ।’ गत वर्ष जिल्लामा दुई लाख २५ हजार ६७५ मेट्रिक टन धान उत्पादन हुँदा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले ३० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

अन्य किसानले समर्थन मूल्य नपाएर निजी व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जिल्लामा बढी उत्पादन हुने भएकाले धान खरिदको कोटा बढाउनुपर्ने किसानले माग गरेका थिए । तर, चालु आर्थिक वर्षमा गत वर्षकै धान खरिदको कोटा दोहोरिँदा किसान निराश बनेका छन् । चालु आर्थिक वर्षमा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले बताए ।

‘मोटो २५ हजार क्विन्टल र मध्यम पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर जिल्लास्थित आठवटै पालिकाबाट तीन/तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने कोटा बाँडफाँट भइसकेको छ ।’ आगामी मंसिरको पहिलो सातादेखि मात्र धान खरिद सुरु हुने प्रमुख पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँका दरले व्यवस्थापन खर्चका लागि अनुदान उपलब्ध गराउने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाका सूचना अधिकारी युवराज विकले बताए । ‘१० हजार क्विन्टल खरिदका लागि हामीसँग बजेट छ,’ उनले भने, ‘अस्ति बसेको बैठकमा जिल्लाका आठ वटा सहकारीले १३ हजार ८०० क्विन्टल धान खरिद गर्ने मौखिक जानकारी गराए पनि अझैसम्म सम्झौता गरेका छैनन् ।’

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार