नेपाली समाजमा ‘छोरी बचाउ’ अभियानको चर्चा र वकालत भइरहँदा छोराहरू भने सामाजिक प्रतिष्ठा र परम्परागत दायित्वको एउटा यस्तो अँध्यारो चक्रव्यूहमा फसिरहेका छन्, जसको मूल्य उनीहरूले आफ्नै जीवन दिएर चुकाउनु परिरहेको छ । छोरा जन्मनासाथ ‘कुल दीपक’ र ‘बुढेसकालको सहारा’को ट्याग भिराइँदा उसले भर्खरै फेर्न लागेको सासभन्दा गरुङ्गो भारी उसको काँधमा हस्तान्तरण गरिन्छ ।
एउटा बालक जसले अझै संसारलाई राम्ररी चिन्न पाएको हुँदैन, उसलाई जन्मनासाथ मानसिक तनावको एउटा लामो र कहिल्यै नसकिने विरासत सुम्पिइन्छ । यहीँबाट सुरु हुन्छ एउटा पुरुषको जीवन र तनावबीचको कहिल्यै नजितिने दौड । हुर्कने क्रममा छोरालाई सिकाउने पहिलो पाठ नै ‘भावनाको दमन’ हो । ‘छोरा मान्छे रुनु हुँदैन’ वा ‘मर्दले आँसु झार्नु कमजोरी हो’ जस्ता शब्दहरूले उसको संवेगलाई सानैमा मारिदिन्छ ।
जब एउटा बच्चालाई रुनबाट बञ्चित गरिन्छ, उसको मस्तिष्कमा पर्ने सिधा असरले उसको व्यक्तित्वलाई नै कठोर बनाइदिन्छ । छोरीहरूले घरको काम वा अन्य क्रियाकलापबाट आफ्नो रिस र आवेग पोख्ने अवसर पाउँदा पुरुषलाई भने यस्ता घरेलु कामबाट टाढा राखेर केवल ‘आर्थिक मेसिन’ बन्न प्रेरित गरिन्छ । एउटै उमेरका छोरा र छोरीबीच कामको बाँडफाँड यसरी गरिन्छ कि पुरुषको काँधमा सानैदेखि जिम्मेवारीको गरुङ्गो भारी राखिन्छ ।
जसले यो भार बुझ्यो, ऊ त समाजको नजरमा असल बन्यो, तर जसले यो बोझ थेग्न सकेन वा परिवारको साथ पाएन, ऊ अन्तत: विचलित भई कुलत वा अपराधको बाटो रोज्न बाध्य हुन्छ । यही मानसिक दबाबको प्रत्यक्ष परिणाम आज पुरुषको स्वास्थ्यमा भयावह रूपमा देखिएको छ । शहीद गंगालाल हृदय केन्द्र र स्वास्थ्य सेवा विभागको पछिल्लो आँकडा अनुसार नेपालमा वर्षेनी ३० देखि ४० हजार मानिसको मृत्यु मुटुरोगका कारण हुन्छ, जसमा पुरुषको संख्या निकै उच्च छ ।

२०८१ को प्रारम्भिक तथ्याङ्कले मुटुघातबाट मृत्यु हुने कुल संख्यामध्ये करिब ७० प्रतिशत पुरुष रहेको देखाउँछ । अर्थात्, मुटुघातबाट ज्यान गुमाउने प्रत्येक १० जनामा ७ जना पुरुष छन् । ३५ देखि ५५ वर्षको उमेर समूहका पुरुषहरू यसको सबैभन्दा बढी शिकार भइरहेका छन् । महिलामा रजोनिवृत्ति नभएसम्म रहने हर्मोनल सुरक्षा पुरुषमा हुँदैन, तर त्योभन्दा ठूलो कारण उनीहरूले खेपिरहेको मानसिक र सामाजिक तनाव नै हो ।
तनाव व्यवस्थापन गर्ने सही सीप र वातावरण नपाउँदा पुरुषहरूले धुम्रपान र मद्यपानलाई आफ्नो सहारा बनाउने गरेका छन् । समाजमा पुरुषले रक्सी खानुलाई ‘तनाव भुलाउने माध्यम’का रूपमा स्वीकार गरिनु अर्को विडम्बना हो । निकोटिन र रक्सीले मस्तिष्कमा क्षणिक रूपमा ‘डोपामाइन’ रिलिज गरी आनन्दको भ्रम त दिन्छ, तर यसले रक्तचाप बढाउने र मुटुको नसा ब्लक गर्ने बाहेक केही गर्दैन । वैदेशिक रोजगारीको पीडा, खाडी मुलुकको अत्यधिक गर्मी र घरपरिवारको चिन्ताले गर्दा युवा पुरुषहरू सुतेकै अवस्थामा मृत्युको मुखमा पुगिरहेका छन् ।
‘जसरी पनि कमाउनुपर्छ’ भन्ने एउटै वाक्यले कतिलाई आत्महत्या त कतिलाई आत्मदाहको स्थितिसम्म पुर्याएको छ । असफल हुनु वा आर्थिक रूपमा कमजोर हुनुलाई पुरुषको अस्तित्वसँगै जोडेर हेरिदिँदा उनीहरूले आफ्नो पीडा व्यक्त गर्नुभन्दा डोरी वा आगो रोज्नुलाई नै सहज ठान्न थालेका छन् । आजको अवस्थामा पुरुषको मानसिक स्वास्थ्यका बारेमा सोच्नु अब विलासिता होइन, अनिवार्य आवश्यकता बनेको छ । सानै उमेरमा कपाल झर्नु, निद्रा नलाग्नु, विवाह वा प्रतिबद्धताबाट डराउनु यी सबै पुरुषले झेलिरहेको मानसिक संकटका लक्षण हुन् ।
छोरालाई केवल ‘कुलको दीपक’ र ‘कमाउने मेसिन’ को रूपमा मात्र नहेरौँ । उसलाई पनि रुने अधिकार दिऔँ, उसलाई पनि असफल हुने छुट दिऔँ र उसलाई पनि मनको कुरा पोख्ने वातावरण बनाऔँ । जबसम्म समाजले पुरुषलाई पनि एउटा संवेदनशील मानवका रूपमा स्वीकार गर्दैन, तबसम्म न त मुटुघातको दर घट्छ, न त आत्महत्याको शृङ्खला नै रोकिन्छ । मुटु जोगाउन पहिला मनको गाँठो फुकाउनु जरुरी छ, र यसका लागि समाजको सोच र पुरुषको ‘मर्द’ हुनुको परिभाषा बदल्नै पर्छ ।
