२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

बारीभरि सयपत्री फूलले पहेँलपुर, किसानलाई बजारको चिन्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ । कारण हो, तिहार आउनुअगावै फूल फक्रिनु ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका थिए, तर यस वर्ष तिहार ढिलो परेका कारण फूल दसैँलगत्तै फक्रिएको छ । फूल छिटो फुलेपछि तिहारसम्म बिक्री गर्न सकिने हो कि होइन भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।

‘गत वर्ष तिहार छिटो परेको थियो । फूल पनि राम्ररी बिक्री भयो । मागअनुसार पुर्याउनै सकेनौँ,’ चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहकी अध्यक्ष जितमाया रानाले भनिन्, ‘यसपटक तिहार ढिलो छ । फूल भने दसैँलगत्तै फक्रिन थालेको छ । एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ ।’

जितमायाको यो चिन्ता उनको व्यक्तिगतमात्र होइन, समूहमा आबद्ध २३ जना किसानको साझा चिन्ता हो । गत वर्षको राम्रो आम्दानी र बजारमा देखिएको मागले उत्साहित भएका किसानले यसपटक फूलखेतीको क्षेत्रफल झन्डै तीन गुणा बढाएका छन् तर उत्पादन बढेसँगै बिक्रीको अनिश्चितता पनि बढेको छ ।

मकै, मास र बोडी छाडेर फूलखेती

छिम्लीश्वाराका किसानले पहिले बारीमा मकै, मास र बोडी लगाउँथे । मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षा अनुसार नहुने गरेको किसानको अनुभव छ । यही अवस्थाबाट केही फरक गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन् ।

विदेशबाट फूल आयात हुने गरेको देखेपछि आफ्नै ठाउँमा फूल उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था कम गर्न सकिने उनीहरूको सोच थियो । स्वदेशमै उत्पादन गरेर स्थानीय बजारको माग पूरा गर्ने र किसानको आम्दानी बढाउने उद्देश्यले सुरु गरिएको फूलखेतीले पहिलो वर्षमै उत्साहजनक परिणाम दिएको जितमाया बताउँछिन् ।

गत वर्ष समूहले छ रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेको थियो । तिहारको समयमा फूलको माग राम्रो भएपछि उनीहरूले उत्पादन गरेको फूल बिक्री गर्न समस्या भएन । मागअनुसार फूल पुर्याउन नसक्ने अवस्था आएपछि किसानमा खेती विस्तार गर्ने हौसला बढेको उनको भनाइ छ । यस वर्ष समूहले खेती विस्तार गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको छ ।

गत वर्षको तुलनामा करिब तीन गुणा क्षेत्रफलमा खेती गरिएको हो । किसानले यसपटक रु १५ लाखबराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् तर गतवर्ष बजारको माग पूरा गर्न नसकेका किसान यस वर्ष उत्पादन भएको फूल नै बिक्री नहुने हो कि भन्ने चिन्तामा छन् । फूलखेतीमा लगानी, श्रम र समय खर्च भइसकेको छ । अब उनीहरूको आम्दानी तिहारको बजारले कस्तो रूप लिन्छ भन्नेमा निर्भर रहेको छ ।

यसपटक १५ लाखको लक्ष्य

समूहले गतवर्ष सयपत्री फूल बिक्री गरेर रु चार लाख ५० हजार आम्दानी गरेको थियो । प्रतिकिलो रु तीन सयका दरले फूल बिक्री गरिएको अध्यक्ष रानाले बताइन् । गत वर्ष माग राम्रो भएकाले फूल बिक्री गर्न समस्या नभएको उनको भनाइ छ । यस वर्ष उत्पादन क्षेत्रफल बढेकाले आम्दानीको लक्ष्य पनि बढाइएको छ ।

किसानले रु १५ लाख बराबरको फूल बिक्री गर्ने अपेक्षा गरेका छन् तर फूल फुल्ने समय र तिहारको मितिबीच तालमेल नमिल्दा लक्ष्य पूरा हुनेमा उनीहरू ढुक्क हुनसकेका छैनन् । ‘गत वर्ष माग धेरै थियो, फूल पुर्याउन सकेनौँ । त्यसैले यसपटक खेती बढाएका हौँ’, जितमाया भन्छिन्, ‘तर यस वर्ष तिहार ढिलो भएकाले फूलको बजार कस्तो हुन्छ भन्ने अन्योल छ ।’

फूलखेतीमा उत्पादनमात्र पर्याप्त हुँदैन । फूल फक्रिने समय, चाडपर्वको माग र बिक्रीको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । समयमै बिक्री गर्न नसकिए फूलको गुणस्तरमा असर पर्ने र किसानले अपेक्षित मूल्य नपाउने जोखिम रहन्छ । छिम्लीश्वाराका किसान अहिले यही जोखिमसँग जुधिरहेका छन् ।

बिचौलियाका कारण किसानले उचित मूल्य पाएनन्

फूलखेतीमा किसानले भोगिरहेको अर्को समस्या हो, बजार मूल्य निर्धारण र बिक्री वितरण । गत वर्ष प्रतिकिलो रु तीन सयमा फूल बिक्री गरेका किसानले आफूहरूको उत्पादन खरिद गरेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बिक्री गरेको अनुभव सुनाउँछन् । सुरुमा फूलको उचित मूल्य कति हुनुपर्छ भन्ने जानकारी नभएकाले आफूहरूले तोकेको मूल्यमा बिक्री गरेको अध्यक्ष राना बताउँछिन् ।

किसानले बारीमा फूल उत्पादन गर्न धेरै मिहिनेत गरे पनि बिक्रीको अन्तिम मूल्यबाट प्राप्त हुने लाभको ठूलो हिस्सा किसानसम्म नआउने अवस्था रहेको उनको भनाइ छ । ‘फूलको मूल्य कति राख्ने भन्ने हामीलाई थाहा थिएन । प्रतिकिलो रु तीन सयमा बिक्री गर्यौँ । हामीसँग फूल किनेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बेच्नुभयो,’ उनले सुनाइन् । किसानले निकै दु:ख गरेर उत्पादन गर्ने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘किसान र उपभोक्ताबीच सिधै सम्पर्क भएर खरिद–बिक्री गर्न सके किसानले पनि राम्रो मूल्य पाउँथे, उपभोक्ताले पनि सहज रूपमा फूल पाउन सक्थे ।’ किसानले फूल बिक्रीका लागि हाटबजारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । स्थानीय तहले हाटबजार वा अन्य व्यवस्थित बिक्री केन्द्रमार्फत किसान र उपभोक्तालाई जोड्नसके बिचौलियामाथिको निर्भरता घट्ने र किसानले उचित मूल्य पाउने उनीहरूको अपेक्षा छ ।

मकै र मासभन्दा फूलखेतीबाट राम्रो आम्दानीको आशा

समूहकी कोषाध्यक्ष सन्सरी रानाका अनुसार पहिले बारीमा मकै र मास लगाउने गरिन्थ्यो । खेतीमा दु:ख धेरै भए पनि आम्दानी कम हुने भएपछि उनीहरू फूलखेतीतर्फ आकर्षित भएका हुन् । गतवर्ष सयपत्री फूलबाट राम्रो आम्दानी भएपछि यसपटक खेती विस्तार गरिएको उनले बताइन् । ‘पहिले मकै, मास लगाउँथ्यौँ । जति दु:ख गरे पनि आम्दानी कम हुन्थ्यो । फूलखेती गर्दा गत वर्ष राम्रो आम्दानी भयो,’ सन्सरी भन्छिन् ।

उनले यसपटक तिहार ढिलो भएको र फूल छिटै फुलेकाले बजारमा मूल्य पाउँछौँ कि पाउँदैनौँ भन्ने चिन्ता रहेको बताइन् । फूलखेतीले परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानलाई नयाँ विकल्प दिएको छ तर बजार सुनिश्चित नभए उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने उनीहरूको अनुभव छ ।

मौसमको चिन्ता पनि उत्तिकै

समूहकी सदस्य विसरा रानालाई पनि फूल छिटो फुलेकोमा चिन्ता छ । तिहारसम्म फूल बिक्री गर्न सकिने हो कि होइन भन्ने अन्योलका बीच वर्षाको सम्भावनाबारे आउने समाचारले थप चिन्तित बनाएको उनले सुनाइन् । ‘फूल छिटै फुलेको छ । अब के हुन्छ भन्ने चिन्ता लागेको छ,’ विसरा भन्छिन्, ‘फेरि पानी पर्छ भन्ने समाचार पनि आइरहेको छ ।’

किसानको मिहीनेतलाई बजारसँग जोड्नुपर्ने

छिम्लीश्वाराका २३ जना महिलाले सुरु गरेको सयपत्री फूलखेती स्थानीय उत्पादन र सामूहिक उद्यमको उदाहरण बनेको छ । परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि नयाँ सम्भावना खोजेका उनीहरूले पहिलो वर्षको अनुभवका आधारमा खेती विस्तार गरेका छन् ।

विदेशबाट फूल आयात हुने अवस्थालाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उनीहरूको उद्देश्य प्रशंसनीय छ । तर, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कुरा नारामा मात्र सीमित हुनु हुँदैन । किसानले उत्पादन गरेको फूल उपभोक्तासम्म सहज रूपमा पुर्याउने, उचित मूल्य निर्धारणमा सहयोग गर्ने र बजारको मागअनुसार बिक्री व्यवस्थापन गर्ने प्रणाली आवश्यक रहेको बताइएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार