जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ ।
वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरको खच्चाबाट दीपक कार्कीले बताए ।
उनका अनुसार खच्चामा सुक्खा पहिरो आइरहने भएकाले समस्या भइरहेका बेला यस किसिमको निरन्तरताको वर्षाले त सडक पूरै अवरुद्घ भएको बताए । वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको जनाइएको छ । अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उनले बताए ।
शुक्रबारसम्म भारी वर्षाको सम्भावना
देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । बुधबारदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ । बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । गत २४ घण्टामा पनि कास्कीमा भारी वर्षा भएको थियो भने देशका धेरै ठाउँमा भारी वर्षा भएको थियो ।
