चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा बढेको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ । छलफलपछि वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा समेत टिकट बिक्री गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सक्रियतामा क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर छलफल गरेको हो ।
छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने र त्यस्तो भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीका बिक्री प्लेटफर्ममै सार्वजनिक गर्ने सहमति भएको क्यानले जनाएको छ ।
आन्तरिक हवाई सेवामा न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको भए पनि चाडपर्वको समयमा यात्रुको चाप बढ्दा वायुसेवा कम्पनी तथा टिकट बिक्री गर्ने एजेन्सीले महँगो भाडा लिने गरेको गुनासो आउने गरेको छ । यही गुनासो सम्बोधन गर्न क्यानले वायुसेवा कम्पनीसँग छलफल गरेको हो ।
बुद्ध एयरको धनगढीको टिकट १० हजारमै
यसैबीच, मुलुकको ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले धनगढीका लागि १० हजार रुपैयाँमै टिकट उपलब्ध गराएको जनाएको छ । बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोसप र एआई प्रयोग गरेर तयार पारिएका भ्रामक स्क्रिनसटमार्फत हवाई भाडासम्बन्धी गलत सूचना फैलाइएको दाबी गरिएको छ ।
कम्पनीले न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइरहेको र त्यसका कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइरहेको जनाएको छ । बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न गन्तव्यमा न्यूनतम भाडामा टिकट उपलब्ध गराइएको बुद्ध एयरको भनाइ छ ।
कम्पनीले आफ्नो आधिकारिक बिक्री प्रणालीमा कायम भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने ट्राभल एजेन्सी वा अन्य माध्यम फेला परेमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।
