‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ ।
हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसले आँखाको नियमित हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।
नेपालमा सन् १९८१ मा अन्धोपनको प्रचलन ०.८४ प्रतिशत रहेकोमा सन् २०२२ को ¥यापिड एसेसमेन्ट अफ एभरेज अफ ब्लाइन्डनेस सर्वेक्षण अनुसार यो घटेर ०.२८ प्रतिशतमा पुगेको छ । तर अन्धोपनको दर घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या भने चुनौतीका रूपमा बढिरहेका छन् ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दा सम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोष पछिल्लो समय बढ्दो चुनौती बनेका छन् ।
बढ्दो औसत आयु, नसर्ने रोगको बढ्दो भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ जोखिम थपिरहेको उनले बताए । सङ्घका अनुसार हालसम्म ५ करोड दुई लाख ४८९ जनाले उपचार सेवा पाएका छन् भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
सङ्घले २८ वटा आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विदेशी नागरिकलाई आँखा स्वास्थ्य सेवा दिँदै आएको छ । विश्व दृष्टि दिवसले आँखाको समस्या देखिएपछि मात्र उपचार गर्नेभन्दा पनि नियमित आँखा परीक्षण, समयमै रोग पहिचान र उपचारमा ध्यान दिनुपर्ने सन्देश दिने गरेको छ ।
