२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले मंगलबार सार्वजनिक गरेको घटनासम्बन्धी प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

कारबाही सिफारिस हुनेमा काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी छन् ।

अधिकारी हाल प्रहरी नायब महानिरीक्षक (डीआइजी) छन् । आयोगले संविधानको धारा २४९ को उपधारा २ को (ख) बमोजिम उनीहरूमाथि विभागीय कारबाही गर्न सम्बन्धित अधिकारीसमक्ष सिफारिस गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार