२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको शव फेला, चार हजार ७२० बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार ६ बजेसम्म एक हजार ४५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी एक हजार ४५५ जनाको शव फेला परेको हो ।

साथै दुई जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म एक हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार ३३७ र आफन्तका दुई हजार ८२ गरी कुल तीन हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको एक हजार ४३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७२० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा एक हजार १७९ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार