२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

आगामी डिसेम्बरसम्म उत्कर्षमा पुग्दै ‘एल निनो’

प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले जनाएको छ ।

यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिइएको छ । डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढरूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताए ।

उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ । डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी रहेकामा अगस्टमा २.५ डिग्री सेल्सियस पुगेको थियो ।

अक्टोबर–नोभेम्बर–डिसेम्बरमा यो असामान्यता करिब ३.७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ र यो सन् २०१५–२०१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा बढी हो । एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने नभई समुद्रमा सञ्चित ताप बाहिर आउने साउलोले बताए ।

हालको समुद्र आफूले मापन गरेयताकै सबैभन्दा तातो रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उनले उल्लेख गरे । एल निनोले विश्वका धेरै भागमा औसतभन्दा बढी तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउने भएकाले खडेरी र बाढीको जोखिम बढ्न सक्छ । यसले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत असर पार्ने डब्लुएमओले जनाएको छ ।

सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखिने एल निनो करिब नौदेखि १२ महिनासम्म रहन्छ । यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखकै अत्यधिक तातो वर्ष बनाउन योगदान गरेको थियो । हालको एल निनोले मध्य अमेरिकालगायत केही क्षेत्रमा प्रभाव देखाउन थालिसकेको छ । त्यहाँ खडेरीका कारण जनावर र बाली नष्ट भइरहेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार