२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

नौ दिनपछि खुल्यो कोरोला नाका, सडक अझै अवरुद्ध

मुस्ताङको जोमसोम बसपार्कमा राखिएका मालवस्तु ‘कन्टेनर’ । बेनी-जोमसोम सडक अवरुद्ध हुँदा रोकिएका कन्टेनरहरु एक साताभन्दा बढी समय हुँदा पनि गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । तस्वीर : सुन्दरकुमार थकाली । रासस

नेपाल–चीन जोड्ने सबै नाका अवरुद्ध हुँदा अन्तिम विकल्प बनेको मुस्ताङ भन्सार कार्यलयस्थित कोरला नाका करिब नौ दिनपछि खुल्यो । नाका खुले पनि गन्तव्यसम्म आउने बाटो खुलेन । जसका कारण भन्सार जाँचपास गरेका करिब ४०० मालबाहक कन्टेनर बाटोमै थन्किएका छन् ।

असोज ११ को हिमपात र त्यसपछिको बाढीपहिरोले सडक बिगारेपछि दसैँ तथा जाडोलक्षित लत्ताकपडा, खाद्यान्न र फलफूल बोकेका गाडीहरू गन्तव्यसम्म पुग्न सकेका छैनन् । सडक विभागले म्याग्दीको कुइनेटा–पोखरे बगर खण्डको १० किलोमिटर अवरुद्ध सडक आगामी असोज २६ गतेभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ ।

उक्त सडकखण्डमा मर्मत सम्भार तथा पुनर्निर्माणको काम भइरहेकाले पुनः सञ्चालनमा आउन अझै ६ दिन लाग्ने सडक विभागका प्रवक्ता ई.शुभराज न्यौपानेले बताए । चीनसँग जोडिएको मुस्ताङस्थित कोरोला नाका (भन्सार कार्यालय) सञ्चालनमा रहे पनि बाटो अवरुद्ध हुँदा आयात–निर्यात तथा ढुवानीमा गम्भीर असर परेको बताउँछन्, मुस्ताङ भन्सार कार्यालय प्रमुख विदुर चुडाल ।

उनका अनुसार, कोरोला–जोमसोमसम्मको करीब १०० किलोमिटरको बाटो अहिले सहज छ । तर, मुस्ताङको घाँसादेखि म्याग्दीको सहस्रधारा–बेनीसम्मको सडकखण्ड पहिरो तथा बाढीका कारण अवरुद्ध रहेको चुडालले बताए । यसले गर्दा भन्सार जाँचपास भएका कन्टेनरहरू बाटोमै रोकिएका उनको भनाइ छ ।

‘बाटो अवरुद्ध हुनुअघि असोज ९ गतेभन्दा पहिले चीनतर्फ गएका गाडीहरू सामान लोड गरेर फर्किसकेका छन् । भन्सारले ती मौज्दात गाडीहरू दैनिक ६० देखि ७० वटाका दरले जाँचपास गराइरहेको छ । अबको तीन दिनमा ती सबै गाडीहरूको जाँचपास गरिसक्छौँ,’ चुडालले भने, ‘तर, तलबाट नयाँ खाली कन्टेनरहरू माथि आउन नपाएकाले सामान लिन थप गाडी चीनतर्फ जान पाएका छैनन् ।’

उनका अनुसार, भन्सार जाँचपास भई छुटेका कन्टेनरहरू पनि तल्लो बाटो अवरुद्ध भएका कारण काठमाडौं लगायत गन्तव्यसम्म पुग्न सकेका छैनन् । अत्यधिक चिसो र अक्सिजनको कमीका कारण उच्च हिमाली क्षेत्रमा लामो समय बस्न कठिन हुने भएकाले चालकहरूले जोमसोम, लेते, घाँसा तथा कागबेनी क्षेत्रका उपयुक्त स्थानमा गाडीहरू पार्क गरेर राखेको उनले बताए ।

‘तलबाट नयाँ गाडीहरू आउन पाएका छैनन् । यहाँ नाकामा भएका पुराना गाडीहरूको जाँचपास गरिरहेका छौँ । चीनबाट आयात गरिएका सामानहरूमा मुख्यगरी दसैँ र जाडोलक्षित उपभोग्य वस्तु तथा कच्चा पदार्थहरू रहेका छन्,’ उनले भने । बाढीपछि रसुवा नाकाबाट डाइभर्ट भई कोरोला नाकाबाट भित्रिएका स्याउ, आँप तथा अन्य फलफूलका कन्टेनरहरू बाटोमै अड्किँदा फलफूलहरू कन्टेनरमै कुहिन थालेका छन् ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल चीनतर्फका उत्तरी नाकाहरूमध्ये कोरोला नाका मात्र सञ्चालनमा रहेको बताउँछन् । रसुवा नाका बाढीले ध्वस्त बनाएको र तातोपानी नाका चीनतर्फबाटै अझै स्थगीत भएको उनको भनाइ छ । ‘बीचमा बाटो अवरुद्ध भएर केही समस्या आएको र अलिअलि मात्र जाँचपास भएको भए पनि दुई दिनदेखि बाटो खुलिसकेकाले मालवाहक गाडीहरू पास भैरहेका छन्,’ कोरला नाकाबारे जानकारी दिँदै भुसालले भने ।

उनका अनुसार तातोपानी नाकाको काम हाल स्थगित अवस्थामा रहेको छ । रसुवागढी नाका कहिले सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ । दसैँको मुखमा नाकामा अवरोध भएर सामानहरू अड्किँदा तातोपानी र रसुवागढी जस्ता दुई ठूला भन्सारहरू ठप्प छन् । यसले भन्सार राजस्व संकलनमा गम्भीर असर परेको छ भने व्यवसायीहरू पनि मारमा परेका छन् । उपभोक्तालाई पनि समस्या पारेको छ ।

चीनतर्फको निर्यात ठप्प

कोरोला नाकाबाट चीनतर्फ हुने नेपाली वस्तुको निर्यात पूर्ण रूपमा ठप्प छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार, नाका बन्द भएर नभई तल्लो क्षेत्रबाट निर्यातयोग्य सामान मुस्ताङसम्म ल्याउन नसकिएकाले निर्यात रोकिएको हो । निर्यातकर्ताहरूले प्रक्रियाबारे चासो राखिरहे पनि बाटो नखुलेसम्म निर्यात सहज हुन नसक्ने अवस्था छ ।

स्थानीयहरू नै समस्यामा

सडक अवरुद्ध भएसँगै मुस्ताङ क्षेत्रमा सञ्चार र खाद्यान्नको समस्या देखिन थालेको भन्सार प्रमुखले गुनासो गरे । उनका अनुसार, असोज ९ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदा भन्सार कार्यालयले जेनेरेटर चलाएर र भौतिक रूपमै उपस्थित भई जाँचपासको काम गरिरहेको छ । इन्टरनेट र डेटा सेवा बेलाबेलामा मात्र आउने भएकाले कम्प्युटरसम्बन्धी काममा बाधा पुगेको उनले बताए ।

यस्तै, ढुवानी हुन नसक्दा मुस्ताङमा चामल र खाना पकाउने ग्यासको अभाव सुरु भइसकेको उनले जनाए । बाटोमै रोकिएका करिब ४०० गाडीका चालकहरू, भन्सार कर्मचारीहरू र स्थानीयलाई दैनिक खान पनि समस्या पर्न थालेको उनले बताए । सडक विभागले कहिले सडक पूर्ण रूपमा बनाएर पुनः सञ्चालन गर्ला भन्ने उनको प्रश्न छ । यस्तो अवस्थामा विभागले जतिसक्दो छिटो सडक पुननिर्माण र सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

असोज २६ भित्र मुस्ताङ जोड्ने सडक खुलाउने तयारी

अब आगामी असोज २६ गतेभित्र मुस्ताङ जोड्ने सडक खण्डअन्तर्गत कुइनेटादेखि पोखरे बगरसम्मको १० किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउँछन्, सडक विभागका प्रवक्ता ई. शुभराज न्यौपाने । उनका अनुसार, जोमसुमभन्दा तल पर्ने उक्त सडकखण्डमा बाटो अवरुद्ध भएपछि हाल खुलाउने काम तीव्रताका साथ भइरहेको छ ।

‘पोखरे बगरमा रहेको पुलको एप्रोच (पहुँच मार्ग) बगाएकोले बन्दैछ । कुइनेटा क्षेत्रमा पहिरो खसेको छ । पहिरोभन्दा तल क्षेत्रमा सडक बगाएको छ,’ विभागका उपमहानिर्देशक समेत रहेका न्यौपानेले भने, ‘अवरुद्ध रहेको उक्त १० किलोमिटर खण्डमा मर्मत सम्भार तथा पुनर्निर्माणको काम निरन्तर भइरहेकाले आगामी असोज २६ गतेसम्ममा सडक पुनः सञ्चालनमा आउनेछ ।’

यसअघि भन्सार विभागले सूचना जारी गर्दै कालीगण्डकी कोरिडोर (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) सडक अवरोध पुगेको बताएको थियो । असोज ८ गतेदेखिको वर्षाको कारणले एनएच–४८ कालीगण्डकी कोरिडोर (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान एवं पुलको एप्रोच रोड बगाएको कारणले सडक अवरोध भएको थियो ।

उक्त सडक खण्डमा पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी १, २, ३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना, लाटोखोला भन्ने स्थानमा सडकमाथिबाट लेदोसहितको पहिरो गएर सडक अवरुद्ध भएको साथै पोखरेबगर पुलका लेफ्ट एप्रोच रोड बगाएको, तातोपानी कुण्ड, नाच्र्यांग, खामभित्ता भन्ने स्थानमा नदीको उच्च वहावको कारणले बाटो कटान भएकोले सडक अवरोध भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार