भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क विश्लेषण गर्दा लागुऔषध सम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ ।
विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन, भदौ र असोज महिनामा मात्रै प्रहरीले चार किलोभन्दा बढी लागुऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार चालु आवको साउन र भदौ महिनामा प्रहरीले तीन किलो १० ग्राम ४०२ मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो भने असोज महिनामा मात्रै एक किलो १७९ ग्राम ७५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको छ ।
उनले साउन र भदौ महिनामा ३०८ ग्राम ५७० मिलीग्राम चरेश, १३ किलो ६८४ ग्राम अफिम, एक किलो ९९३ ग्राम ५८० मिलीग्राम गाँजा, १४ लिटर कोरेक्स, पाँच हजार ३४२ ट्याबलेट नाइट्रोजेपाम र ४३ हजार १९९ क्याप्सुल ट्रामाडोल बरामद भएको बताए । विशेषगरी ट्रामाडोलको बरामद मात्रा अघिल्ला आर्थिक वर्षको तुलनामा निकै उच्च देखिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार ३४८ र २०८२/०८३ मा पाँच हजार १४३ क्याप्सुल ट्रामाडोल बरामद भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ४३ हजार १९९ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा पनि लागुऔषध बरामदको मात्रा उल्लेख्य देखिएको छ ।
असोज महिनामा मात्रै एक किलो १७९ ग्राम ७५० मिलीग्राम ब्राउनसुगर, ३२ किलो ५२० ग्राम गाँजा, २० ट्याबलेट नाइट्रोजेपाम र ४२० क्याप्सुल ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । उनले खुला सीमा, सीमावर्ती क्षेत्रमा हुने ठुलो संख्याको आवतजावत तथा लागुऔषधको सीमापारी हुने सहज पहुँचले जिल्लामा लागुऔषध अवैध कारोबारको जोखिम उच्च रहेको बताए ।
लागुऔषध नियन्त्रणका लागि प्रहरी कारबाहीसँगै सीमावर्ती क्षेत्रमा निगरानी, कारोबारमा सङ्लग्न सञ्जालको पहिचान, युवालाई लक्षित सचेतना कार्यक्रम र पुन:स्थापना तथा उपचारका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने नेपालगन्जका स्थानीय कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले लागुऔषधविरुद्धको प्रहरी कारबाही निरन्तर भइरहेको देखाए पनि मुद्दा र पक्राउको बढ्दो सङ्ख्याले समस्या दिनदिनै बढ्दै गएको देखिन्छ ।
