२०८३ कात्तिक १९ , बिहीबार 5, November 2026, Thursday

वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित

कात्तिक १२ देखि १४ गतेसम्म परेको वर्षाले पाकेर काटी खेतमा थुपारिएको मार्सी धान कुहिएर क्षति पुगेको छ । वर्षाका कारण धानका बाला कुहिएर खानै नमिल्ने अवस्थामा पुगेपछि किसान चिन्तित भएका छन् ।

हुम्ला जिल्लाकै उच्च क्षेत्रमा पाक्ने मार्सी धान काटेर खेतमै थुपारिएको अवस्थामा वर्षा भएपछि क्षति पुगेको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका किसान सूचना शाहीले बताए ।

वर्षा रोकिएर मौसम सफा भएपछि बुधबार थुपारिएको धान चुट्न गाउँभरिका किसान खेतमा पुगेका थिए । तर, धानका बाला कुहिएको अवस्थामा भेटिएपछि किसान निराश भएर फर्किनुपरेको उनले बताए ।

एक जनाको मात्र नभई खोल्सी गाउँका करिब डेढ सय किसानले लगाएको धान वर्षाका कारण कुहिएर नष्ट भएको अर्का किसान हरि शाहीले बताए । थुपारिएको धानका सबै बाला कुहिएर काम नलाग्ने भएपछि किसानले पराल मात्र सङ्कलन गरिरहेको उनको भनाइ छ ।

यस वर्ष अहिलेसम्म यस्तो घटना नभएको बताउँदै उनले गाउँका सबै किसानले धानबाली भित्र्याउन नपाएको गुनासो गरे । मङ्गलबार गाउँभरिका किसानले एकैसाथ खेतमा पुगेर धान चुट्ने योजना बनाएका थिए । तर, वर्षाले धान कुहिएपछि सबै किसान खाली हात घर फर्किनुपरेको उनले बताए ।

गाउँका किसानको कुल एक सय पाँच हल खेतमा मार्सी धान खेती गरिएको थियो । यस वर्ष वर्षाका कारण ३०० क्विन्टलभन्दा बढी धानमा क्षति पुगेको अर्का किसान सन्तोष सिंहले बताए । धान राम्रो फलेकाले गत वर्षभन्दा बढी उत्पादन हुने आशामा रहेका किसान खेतबाट खाली हात फर्किनुपरेपछि चिन्तित बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार