२०८३ कात्तिक १९ , बिहीबार 5, November 2026, Thursday

तरकारी छाडेर फूलखेती, सोचेभन्दा राम्रो आम्दानी

बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ । सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन् ।

पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन् । नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी खेती छाडेर फूल खेती सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीन वटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन् ।

‘लामो समयदेखि तरकारी खेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूल खेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूल खेतीबाट घर खर्च राम्रै चलेको छ,’ थापाले भनिन्, ‘वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।’

उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ । बागलुङमा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ ।

उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन् । हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छन् । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ । तरकारी खेतीबाट फूल खेतीमा लागेकी थापाका लागि फूल खेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार