२०८३ कात्तिक १८ , बुधबार 4, November 2026, Wednesday

बाँकेको राप्ती नदीमा रोकिएन अवैध उत्खनन्

प्रहरीले बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ढुवानी गर्नेहरुलाई निरन्तर कारबाही गर्दै आएपनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानी रोकिएको छैन । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा मात्रै अवैध उत्खनन् तथा ढुवानीमा संलग्न २० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध उत्खनन् तथा ढुवानीमा संलग्न सवारीसाधनलाई कारबाही गरेपछि अवैध उत्खनन् र ढुवानी जारी रहेको पुष्टि भएको हो । प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न २० वटा टिपर र ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार कारबाहीबाट कुल एक लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । उनले अवैध उत्खनन तथा ढुवानीमा प्रयोग भएका सवारीसाधनलाई नियन्त्रणमा लिने कार्य निरन्तर भइरहेपनि सो कार्य नरोकिएकोमा चिन्ता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउन महिनामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्ने चारवटा सवारीसाधन नियन्त्रणमा लिएर १६ हजार रुपियाँ जरिवाना गरिएको थियो । भदौ महिनामा भने नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या बढेर आठ पुगेको छ । भदौमा ४१ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही प्रकारले असोज महिनामा आठ वटा सवारी साधनलाई कारबाही गरेर ९० हजार जरिवाना असुल गरिएको छ । तीन महिनाको तथ्यांक तुलना गर्दा साउनको तुलनामा भदौ र असोजमा नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या दोब्बर भएको छ । त्यस्तै, जरिवाना रकमसमेत १६ हजार रुपैयाँबाट बढेर ९० हजार रुपैयाँसम्म पुगेको छ ।

जिल्लामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न सवारी साधनमाथि कारबाहीसँगै यसको स्रोत, उत्खनन् स्थल र ढुवानी प्रक्रियाको निगरानीलाई प्रभावकारी बनाउँदै नदीजन्य पदार्थको अवैध उत्खनन्ले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र र वातावरणमा असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा नियमित अनुगमन, कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार