गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमभ्यालीका किसान यतिबेला ११ महिनामा पाकेको गहुँ भित्र्याउन व्यस्त छन् । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान गहुँ काट्ने, कुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त भएका हुन् ।
चुमभ्यालीको छेकम गाउँका किसान दोर्जे लामाका अनुसार यहाँ खेतीपातीका काममा महिला र पुरुषले आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्ने चलन छ । पुरुषले गहुँ काट्ने र कुट्ने काम गर्छन् भने महिलाले केलाउने र थन्क्याउने काम गर्छन् । गहुँ भित्र्याउने काम सकिएलगत्तै केही दिनमा तोरी र फापर काट्ने, झाँट्ने तथा कुट्ने काम सुरु हुने लामाले बताए ।
गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको हो । चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ । यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामामार्फत साइत जुराउने परम्परा रहेको छ । साइत जुराएर बाली भित्र्याउँदा सहकाल रहने स्थानीय जनविश्वास छ ।
स्थानीय प्रमुख लामा पासाङ फुञ्जोका अनुसार चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली भित्र्याउने गरिँदैन । छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली भित्र्याउने गरेका छन् । भौगोलिक रूपमा गाउँहरू टाढा–टाढा रहे पनि किसानहरू एकअर्काको खेतबारीमा काम गर्न पुग्ने गर्छन् ।
कतिपय गाउँमा पुग्न चार घण्टासम्म पैदल हिँड्नुपर्छ । अबको एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्ने स्थानीयले बताएका छन् । चुमनुब्री–७ को छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार तीन सयदेखि तीन हजार पाँच सय मिटरको उचाइमा अवस्थित छ ।
अत्यधिक उचाइ र चिसो मौसमका कारण यहाँ गहुँ पाक्न मात्रै करिब ११ महिना लाग्ने गरेको छ । प्रमुख लामा फुञ्जोका अनुसार चुमभ्यालीमा गहुँ, फापर र आलु मुख्य बाली हुन् । बारीमा गहुँ र फापर आलोपालो लगाएर बालीचक्र मिलाउने परम्परा रहेको छ । वर्षमा एकपटक मात्रै खेती हुने भएकाले ११ महिना लगाएर उत्पादन गरिएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको उनले बताए ।
चुमभ्यालीमा उत्पादित गहुँ र फापर गुणस्तरीय मानिन्छ । त्यसैले स्थानीय उत्पादनको माग काठमाडौँमा रहेका तथा विदेशमा बस्ने लामा गुरुहरूमाझ समेत रहेको फुञ्जोले बताए । स्थानीय उत्पादनलाई उपभोगका साथै विभिन्न खाद्य परिकार बनाउन प्रयोग गरिन्छ । परम्परागत खेती प्रणाली अपनाउँदै आएका चुमभ्यालीका किसानले पछिल्लो समय प्रविधिको प्रयोग पनि बढाएका छन् ।
करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिन प्रयोग गरेर गहुँ काट्ने र कुट्ने काम हुँदै आएको छ । चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार चुमभ्यालीका अधिकांश घरमा अहिले गहुँ काट्ने तथा कुट्ने मेसिन रहेका छन् । चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग गरिन्छ । यसका साथै स्थानीयले गहुँबाट रोटी र चम्पा बनाउने गर्छन् ।
गहुँ याक र नाकका लागि दानाका रूपमा प्रयोग हुनुका साथै घरेलु मदिरा उत्पादनमा समेत प्रयोग हुने गरेको छ । कठिन भौगोलिक अवस्था, छोटो खेतीयोग्य समय र लामो उत्पादन चक्रका बीच चुमभ्यालीका किसानले पुस्तौँदेखि अपनाउँदै आएको परम्परा र पछिल्लो समयको प्रविधिलाई सँगसँगै अघि बढाइरहेका छन् । साइत जुराएर बाली भित्र्याउने परम्पराले यहाँको कृषि संस्कृतिलाई अझै जीवन्त राखेको छ ।
