कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् । सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ ।
मिर्गाैला पीडित बिरामीले हस्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चाप अनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिए ।
‘हामीसँग चार जना स्टाफनर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,’ जोशीले भने, ‘अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन समिति उपकरण छन् बिरामीको चाप छ ।’ मेसु जोशीका अनुसार अहिले अस्पतालले दुई सिफ्टमा सेवा प्रदान गर्दै आएको छ ।
शैय्या अभावका कारण २५ जनासम्म पालो कुरेर बस्ुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिले १० वटा बेड उपलब्ध छन् नौ वटा सञ्चालनमा छन् एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘आवश्यक उपकरण र जनशक्ति अभावका हुँदा सहज रुपमा सेवा दिन सकिएको छैन ।’ अस्पतालमा दैनिक २५ बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन् ।
डायलाइसिसका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति नहुँदा उपचार व्यवस्थापनमा चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै पहिलो निर्णय सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस शैय्या थप गरेर मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गरेका थिए ।
अस्पताल प्रशासनले शैय्या थपेर मात्रै समस्या समाधान नहुने बताउँदै शय्यासँगसँगै जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने अस्पतालले जनाएको छ । ‘शय्या थपेर मात्रै हँुदैन आवश्यक जनशक्ति र उपकरण पनि थप्नु आवश्यक छ,’ मेसु जोशीले भने, ‘हामीसँग भौतिक संरचना छ, शैय्या र जनशक्ति थप भए राति पनि उपचार गर्न सक्छौँ ।’ अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा अहिले पनि यहाँबाट बिरामीहरु उपचारका लागि अन्यत्र जाने गरेका छन् ।
