नेपाली भाषा तथा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिका अन्तर्गत गुठीज्युला बजार क्षेत्रमा शुक्रबारदेखि फोरजी सेवा सुरु भएको हो ।
नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा पुग्नेछ ।
नयाँ टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गाला लगायतका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ ।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको टेलिकमले जनाएको छ । विद्युत् जडान हुन नसकेपछि तत्कालका लागि सोलार प्रणालीबाट टावर सञ्चालनमा ल्याइएको हो ।
दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी विस्तार
सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । यही योजना अनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यसै हप्ताभित्र फोरजी सेवा सञ्चालन गर्ने तयारी छ । त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा फोरजी विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनैमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ । ताप्लेजुङको ओलाङचुङगोलामा पनि करिब तीन हजार ४०० मिटर उचाइमा फोरजी सेवा पुगेको छ ।
एक हजार ६०० नयाँ टावर निर्माण हुँदै
देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।
दुर्गम क्षेत्रमा फोरजी विस्तारले स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट सेवामा पहुँच बढाउनुका साथै शिक्षा, स्वास्थ्य, पर्यटन, व्यवसाय र सरकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
