२०८३ भदौ ५ , शुक्रबार 21, August 2026, Friday

लागुपदार्थ सेवन गरी गाडी चलाउने चालक नियन्त्रणमा

बाँकेमा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउनेबिरुद्ध प्रहरीले कडाई गर्दै लागुपदार्थ सेवनको चेकजाँचलाई तीव्र पारेर नियन्त्रणमा लिन थालेको छ । केही चालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो यात्रुबाट आएपछि प्रहरीले लापसे चेकजाँचलाई तीव्र पारेको छ ।

सो क्रममा एकै ठाउँबाट आठजना सवारी चालकलाई लागूपदार्थ सेवन गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जनाए । उनका यसअघि ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई जरिवाना लिने, सवारीसाधन तथा चालक अनुमतिपत्र नियन्त्रणमा लिने गरेकोमा हाल आएर लागुपदार्थ सेवनको पनि चेकजाँच बढाइएको हो ।

उनले बैजनाथ गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेको चेकपोस्ट अगाडि संयुक्त रूपमा गरिएको लागुपदार्थ सेवन परीक्षणको क्रममा आठ जनालाई पक्राउ परेको बताए । इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकपोस्ट क्षेत्रमा सवारीसाधन तथा चालकको लापसे परीक्षण गरेको थियो ।

सो क्रममा २५ वटा सवारी साधनका चालकलाई लागूपदार्थ सेवन सम्बन्धी परीक्षण गरिएको प्रहरीले जनाएको छ । परीक्षण गरिएका चालकमध्ये आठजना चालकले लागूपदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चालक तथा घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा चालकको निर्णय क्षमता, प्रतिक्रिया समय तथा सवारी नियन्त्रणमा प्रतिकूल असर पर्न सक्ने भएकाले दुर्घटना जोखिम अत्यधिक हुने हुँदा लापसे चेकजाँचलाई अझै बढाउनुपर्ने स्थानीयको माग छ । दुर्घटना न्युनीकरणका लागि लापसे र मापसे चेकजाँचमा कडाइ आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख प्रहरी प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले नियमित रूपमा सवारी चालकको मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षणलाई तिव्रता दिएको बताए ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार