२०८३ भदौ ५ , शुक्रबार 21, August 2026, Friday

रास्वपाको बैठक छल्दै प्रधानमन्त्री बालेन मुस्ताङतिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ । बैठकमा आज पनि प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित नहुने भएका छन् । शाह मुस्ताङ तर्फको भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा उपस्थित छन् । कार्य व्यस्तताका कारण उनी मुस्ताङको भ्रमणमा गएको सचिवालयले दाबी गरे पनि बालेनले केन्द्रीय कमिटी बैठक छलेको देखिन्छ । बालेन समूहका नेताहरू केन्द्रीय कमिटी बैठकमा उपस्थित भइरहेका छन् । पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमा आइसकेका छन् ।

केही दिनअघि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा पनि शाह उपस्थित किन भएनन् भन्ने विषय उठेको थियो । त्यसपछि सभापति रविले अर्को संसदीय दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी गराएका थिए । तर बालेन केन्द्रीय कमिटीको बैठकमा भने आज उपस्थित छैनन् । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशनपछि तेस्रोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टी सभापति लामिछानेले केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनित गर्न सक्ने देखिन्छ तर यसको यकिन जानकारी गराइएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा सभापति लामिछानेले ५१ केन्द्रीय कमिटी ११ जना पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य नियुक्त गर्न पाउने प्रावधान छ । यस अगाडि लामिछानेले वरिष्ठ नेतामा वालेन्द्रलाई मात्रै मनोनित गरेका थिए ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार