हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीबार बेलुका नदी किनारमा पौडी खेल्न गएका खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिका कर्णाली नदीको तीव्र बहावमा बगेपछि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।
नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीको बहावले बगाएको खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले बताए । बिहीबार कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए ।
घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले कर्णाली नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरे पनि नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । दुई बालबालिका एकैपटक बेपत्ता भएपछि तल्लोलाली गाउँ शोकमा डुबेको छ । बेपत्ता बालबालिकाको खोजी कार्य शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ ।
