बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रादेशिक क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा महत्त्वपूर्ण स्वास्थ्य उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएपछि बिरामीलाई उपचारमा सहज भएको छ । सुशील कोइराला प्रादेशिक क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.नीरज भट्टराईले लामो समयदेखि बिग्रिएर थन्किएका अत्यावश्यक उपकरण मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि बिरामीको उपचारमा सहजता भएको बताए ।
उनका अनुसार उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको थियो । सोही सम्झौता अनुसार केन्द्रका प्राविधिक केही दिनअघि अस्पतालमा आएर ४४ वटा उपकरण मर्मत गरी फर्किएका थिए । अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ६० वटा आवश्यक उपकरणमध्ये ४४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रबाट आएको प्राविधिक टोलीले मर्मत गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार मर्मत गरिएका उपकरणमा उपचारका लागि अत्यन्तै आवश्यक मानिने दुईवटा एक्सरे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीनवटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा केमो क्याबिनेट, माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावर लगायत ४४ वटा उपकरण छन् । उपकरण मर्मतपछि बिरामीले एक्सरे, अल्ट्रासाउन्ड लगायतका सेवाका लागि बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका सूचना अधिकारी डा.प्रवीण गुप्ताले बताए ।
उनका अनुसार बिग्रिएका उपकरणमध्ये क्यान्सर सम्बन्धी रोगको परीक्षण तथा उपचारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण मर्मत भइसकेकाले उपचारमा सहज भएको छ । लामो समयदेखि बिग्रिएर थन्किएका अस्पतालका महत्त्वपूर्ण उपकरण मर्मत सम्भार भएपछि बिरामीले सामान्य परीक्षणका लागि समेत बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । गत साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टिम लिडर इन्जिनियर उमेश किरातको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली अस्पतालमा आएर ४४ वटा उपकरण मर्मतसम्भार गरी फर्किएको थियो ।
