चिन्ताले चितामा पुर्याउँन बाँकी थियो । दिक्क लाग्यो । घर बस्न मन लागेन । फुपूको घर गएँ । साउदीबाट छुट्टीमा आएका भानिज दाजुलाई भेटेँ । भानिज दाइले मलाई हेर्दै भन्नुभयो, ‘ओहो मेरो भाइ, धेरैमा भेट भयो ।’ मैले ओठे मुस्कानसहित भनेँ, ‘हो नि दाजु धेरैमा भेट भयो ।’ भानिज दाइले भनेँ, ‘बस्दै गर, म चिया पकाएर लिएर आउँछु ।’ मैले भनेँ, ‘दुःख नगर्नु दाजु ।’ दाजुले भने, ‘होइन भाइ, चिया पकाउन के दुःख हुने हो र ? जीवनभरि नै परदेशमा बिताएका हामीलाई चिया पकाउनु सामान्य हो । चिया पिउँदै गफिउँला नि दाजुभाइ ।’
दाजुले तुरुन्तै दुई कप चिया लिएर आए । दाजुभाइ बसेर चिया पिउन थाल्यौँ । मैले जिज्ञासु हुँदै भनेँ, ‘भाउजू खोई त दाजु ?’ दाजुले चिया सुरुप्प पिउँदै भने, ‘बाबु के भनौँ, आङ कनाउनु छारो उडाउनु । भन्न लाजै मर्नु छ ।’ मैले आश्चर्य मान्दै सोधेँ, ‘त्यस्तो के भयो दाजु ? दाजुले झुस्स फुलेको दारी मुसार्दै भने, ‘के हुनु भाइ, जहाज नै डुब्यो नि ।’ मैले फेरि सोधेँ, ‘कहाँ जानु भएको छ भाउजू ?’
दाजुले टाउकोमा हात राख्दै भने, ‘कहाँ गई गई । के भन्नु भाइ मेरो त चौपट भयो नि । उमेरमै फौजीको जागिरमा पेन्सन भएँ । पाँच बालबच्चा पेन्सनले नपुग्ने । साउदी गएँ । परदेश बस्दा बस्दै पच्चिस वर्ष उतै बित्यो । यो बुढेसकालमा भद्रगोल भयो । घर फर्किंंदा सम्पत्ति पनि छैन, बुढी पनि छैन । छोराछोरीको बिहे भएको छैन । व्यवहार बिग्रियो । आइमाई गतिलो नभएर चौपट भयो ।’ मैले गिलासको चिया सुरुप्प पार्दै भनेँ, ‘के भन्नु भएको दाइ ?’ त्यति सोझी भाउजूलाई किन दोष लगाउनु भएको ?’
दाइले दिक्क मान्दै भने, ‘थुतुनो सोझो भएर के गर्नु ? मुतुनो सोझो नभएपछि, त्यसैले गर्नु गर्यो ।’ मैले दाइको कुराले अचम्मित हुँदै भनेँ, ‘दाइ, के भयो र त्यस्तो ?’ दाइले आँखाबाट आँसु झार्दै भने, ‘यतिका वर्ष साउदीमा दुःख गरेँ । सबै नष्ट भयो । न रहे बाँस, न बजे बाँसुरी भयो । मैले चासो राख्दै भनेँ, ‘के भयो दाइ त्यस्तो ?’
दाइले मनभरिको पीडा पोख्दै भने, ‘के भन्नु भाइ । लाजै मर्नु यस्ता कुरा भन्न पनि अप्ठ्यारो । म साउदी बस्दा तलको फ्लाटमा भाडामा मान्छे बस्थे । ठेक्कापट्टा गर्ने ठेकेदार थियो । उही भाडावालासँग घरबेटी भनाउँदी बस्ने, दिनदिनै रक्सी खाने, मोज गर्ने गरिछ । कैयौँ रङ्गीन रातहरू उसैसँग बितेछन् । उसैसँग लिप्त भइछ । सम्पूर्ण पैसा नाठो पोइलाई खुवाइछ । यो घर बैङ्कमा धितो राखेर पनि पैसा दिएकी रहिछ । म उताबाट फर्कें । केही समयपछि बैङ्कबाट पत्र आयो । पत्र खोलेर पढेँ । आकाशबाट खसे जस्तो भएँ । घर त लिलामीमा रहेछ । त्यो ठेकेदार म आउँनासाथ भाग्यो । धुर्त ठेकेदारले सम्पूर्ण लट्पट्यायो । घर लिलाममा गयो । बल्ल सबै पोल खुल्यो । मैले श्रीमती भानाउँदीलाई केरकार पारेँ । घरमा तनाब भयो । घरै छोडेर भागी, कहाँ गई खोई ? अत्तोपत्तो छैन । बढेका छोराछोरी छन् । बिहेदान गर्नुछ । व्यवहार समाल्ने कसले ? जिन्दगीभरि दुःख गरेँ । न श्रीमती छ, न पैसा छ । चिन्ताको भँुमरीमा रुमल्लिइरहेको छु । यो बुढेसकालमा एक्लो भएँ । नितान्त सडक छाप भएँ । यस्तै छ भाइ घरको दुर्दशा ।’
मैले भनेँ, ‘हो नि दाइ । मेरो घरमा पनि त्यस्तै छ । श्रीमतीसँग पटक्कै मेल हुन सकेन । श्रीमान् श्रीमतीको व्यवहार नै छैन दाइ ।’ अनुभवी दाइले भने, ‘भाइ, पुरुष अन्तै सम्बन्ध भए पनि घर अपनाउँछ तर महिलाको अन्तै सम्बन्ध छ भने मरे पनि आफ्ना पतिलाई स्वीकार गर्दैनन् । आइमाईले गति छोड्यो भने जहाज नै डुब्छ । म त डुबेँ भाइ । घर भनेको आइमाई हो । आइमाइले गति छोड्यो । घर नै ढल्यो, के गर्नु भाइ ? बुढेसकालमा जिउँदै मृत्युवरण गर्दै छु ।’
०००
पीडा उम्लिँदै गयो, म पोखिँदै गएँ । क्षतविक्षत भएँ । विरक्तिएँ, भौँतारिएँ । घरमै बस्न मन लागेन । गाउँकै चिया पसलमा गएँ । बसेर चिया पिउँदै थिएँ । पुरानु साथीसँग जम्काभेट भयो । उसलाई देख्नासाथ भनेँ, ‘दीपक, कहिले आयौ दुवैबाट ?’ दीपकले कुर्सीमा बस्दै भन्यो, ‘तीन महिना भयो यार ।’ मैले प्रश्न गर्दै भनेँ, ‘दुवै अब नफर्कने ?’ दीपकले मुख खुम्च्याएर भन्यो, ‘के जानु यार ? विदेश गए के, नगए के ?’ मैले भनेँ, ‘किन निरास भएको दीपक ?’
दीपकले उत्तर दिँदै भन्यो, ‘के हुनु यार, मेरो त स्वास्नी पोइला गई । घरमा बालबच्चा अलपत्र छन् । कमाएको सबै पैसा कुम्ल्याएर गई पापिनीले । म त के गर्नु, के नगर्नु ? यत्तिकै बहुलाहा जस्तै भएको छु । मैले भनेँ, ‘त्यही त यार हामी दुवै एकै ड्याङका मुला हौँ । मेरा घरमा पनि त्यस्तै छ ।’ दीपकले भन्यो, ‘के कुरा गरेको सञ्जय ? भाउजू त घरमै छन् । कति राम्री छोरी पढाएर बसेकी छन् । मेरो त बालबच्चा छोडेर गई । बालबच्चाको बिचल्ली छ ।’
मैले भनेँ, ‘बाहिर हेर्दा राम्रै छ । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । मभित्र के भएर बितिरहेको छ । बरु त्यस्तै कसैसँग गएको भए आनन्द हुन्थ्यो । छुट्कारा पाउँथेँ ।’ दीपकले भन्यो, ‘गाउँमा धेरैको विदेश गएर कति राम्रो छ । प्रगति भएको छ । गाउँका दाइहरू विदेश भए पनि घरपरिवार बिग्रेको छैन । भाउजूहरूले घर सम्हालेर बसेका छन् ।’
मैले भनेँ, ‘हो नि दीपक । सबै एकैनास कहाँ हुन्छन् र ? हाम्रो एकै हातका औँला त बराबर छैनन् । हरेक मानिसमा फरक व्यक्तित्व हुन्छ । हाम्रो समाजमा कति नारीहरू महान् छन् । उनीहरूको त्याग तपस्याले घर चलेको छ । प्रगति भएको छ । घर भनेको नारी हो । घरमा नारीको सम्पूर्ण भूमिका हुन्छ । हामी पुरुष त बाहिर कमाउने मात्र हो । घर व्यवहार मिलाउने महिलाले नै हुन् । पतिपत्नीको सम्बन्ध बन्नु नै घर बन्नु हो । एकेउटा घर बन्नु नै समाज बन्नु हो । समाज बन्नु नै राष्ट्र बन्नु हो तर वैदेशिक रोजगारीले केहीको घर बन्यो । केहीको झनै ध्वस्त पा¥यो । बालबच्चाहरूको बिजोग भयो । पारिवारिक विखण्डनको दलदलमा भासिँदै छ समाज ।’
दीपकले भन्यो, ‘हो नि सञ्जय, ती केही आदर्श नारीहरूले घर र समाज टिकेको छ । सबै हाम्रो जस्तै भए के हुन्थ्यो होला समाज ?’ मैले भनेँ, ‘बालबच्चाको बिजोग हुन्थ्यो । हामी पुरुषहरू पागल हँुदै हिँड्नुको विकल्प हँुदैन । कि त संन्यास लिनुपर्छ ।’ दीपकले दुखेसो पोख्दै भन्यो, ‘हेर न सञ्जय, त्यो पापिनीले गर्दा मिल्ने दाजुभाइ छुट्टिएर बस्यौँ । त्यो आइमाईले राम्रै धोका दिई सञ्जय मलाई ।’
मैले सान्त्वना दिँदै भनेँ, ‘दुःख नमान दीपक । घर घरको कहानी यस्तै हो । बिहे नगर्दासम्म दाजुभाइ मिलेर बस्छन् । जब बिहे हुन्छ अनि महिलाहरू देउरानी जेठानी सासूबुहारी नन्द भाउजु मिल्दैनन् । छुट्टिएर बस्न बाध्य बनाउँछन् । घर फुटा तो गवार लुटा यस्तै हुन्छ । प्राचीन कालदेखि अहिलेसम्म अधिकांश युद्ध महिलाकै कारणले भएका छन् ।’ दीपकले प्रसङ्ग बदल्दै भन्यो, ‘सञ्जय जमाना उल्टो भए जस्तो छ । पहिला त पुरुषहरूले बहुबिहे गर्थे । अब त महिलाले पालो फेरे जस्तो छ । कानुन पनि महिलाकै हकहितमा छ । जमाना पनि कस्तो आयो ?’
दीपकले थप्दै भन्यो, ‘हो नि सञ्जय, महिलाहिंसा भन्दै महिलाहरू उजुरी गर्न जान्छन् । हामी पुरुष त कहाँ उजुरी गर्न जाने ? कति अन्याय छ ।’ मैले उसको कुरामा सही थप्दै भनेँ, ‘हो नि दीपक, पुरुषको हकहितमा बोलिदिने कोही छैन । न पुरुष अधिकारकर्मी छन् न कुनै राज्यका निकाय छन् । हामी पुरुषले भित्रैभित्र पिल्सिएर बस्ने हो । रुँदै हिँड्न पनि नमिल्ने । तड्पिएर बाँच्ने हो । डिप्रेसनमा फस्ने हो । काल निम्त्याउने हो ।’
दीपकले भन्यो, ‘सञ्जय, हामी पुरुषहरूलाई प्रकृतिले नै फरक बनायो । जन्मिदादेखि आमाको साथ हुन्छ । बिहेपछि श्रीमतीको साथ हुन्छ । उनीहरू नै घरव्यवहार गर्छन् । हामी पुरुषमा घर चलाउने भूमिका नै छैन । सुरुमा गौर गरेर नियाल्ने महिलाको भूमिका हुन्छ । हामी पुरुषहरू त बाहिरबाट कमाएर ल्याउने मात्र हो । घरव्यवहार चलाउने महिला नै हुन् । यसो सम्झिँदा भगवानले हामीलाई महिला निर्भर बनाइदिए । हामी महिलामा डिपेन्डेड छौँ । उनीहरू विना हाम्रो घरबार चल्दैन ।
०००
आफैँ पीडित छु । साथीको पीडाले अझै मर्माहत भएँ । विदेश जाने कुरा सुन्दा बुझ्दा धेरैको अवस्था उस्तै छ । मेरा घरमा रातोदिनको कलह अशान्ति चर्किदै गयो । श्रीमती भानाउँदी छाडा साँढे गोरु जस्तै गर्छे । मलाई हेप्छे, मान्छे गन्दिन । जो चोर उसको ठुलो स्वर छ । उसकै मोबाइलमा रमाउँछे । च्याटमै व्यस्त हुन्छे । म उसको घृणाको पात्र भएँ । यी काला दिनहरू बित्दै गए । म रङ्गहीन भएँ । संसारै अँध्यारो लाग्यो । पतिपत्नीको सम्बन्ध पटक्कै सुध्रेन । एकै छानामुनि सँगै बस्न मुस्किल भयो ।
मलाई असह्य भयो । सबै सम्पत्ति श्रीमतीको नाममा छ । ऊ बोस भई । म दासजस्तो भएँ । उसैको सबै हैकम चल्छ किनकि म रित्तो थिएँ । मेरो नाममा कुनै सम्पत्ति थिएन । म उसको सामुन्ने अस्तित्वविहीन भएँ । तनावले कैयौँ रात निद्रा हराम भयो । केही सिप लागेन । मर्नुभन्दा बौलाउनु बेस जस्तो लाग्यो । सधैँ लड्दै बस्नुभन्दा छुट्टिनु ठिक लाग्यो । अन्तिम विकल्प पारपाचुके रोजेँ । वकिलको फर्ममा गएँ सम्बन्धविच्छेदको मुद्दा चलाउन । वकिलको फर्ममा टुसुक्क बसेँ ।
कालो कोट लगाएका अधबैँसे वकिलले सोधे, ‘के सेवा गरौँ हजुर ?’ मैले जिन्दगीसँग हारेको महसुस गर्दै भनेँ, ‘म हारेँ हजुर, आफ्नो घरमै हारेँ । गृहस्थ जीवनबाटै असफल भएँ । पतिपत्नीको सम्बन्ध निर्वाह गर्न सकिनँ । अब मलाई सम्बन्धबिच्छेद गराइदिनुपर्यो । वकिलले मेरो अनुहार हेर्दै भने, ‘तपाईंले सम्बन्धविच्छेद गर्ने आधारहरू के छन् ?’ मैले अनभिज्ञ हँुदै भनेँ, ‘के कस्तो आधार चाहिन्छ हजुर ?’ वकिलले मलाई बुझाउँदै भने, ‘श्रीमतीले लामो समय घर छोडेर बसेको हुनुपर्छ । श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको प्रमाण हुनुपर्छ । श्रीमतीले भौतिक आक्रमण कुटपिट गरेको प्रमाण हुनुपर्यो ।’
मैले नम्र हँुदै भनेँ, ‘त्यस्तो केही प्रमाण छैन हजुर ? म लामो समय वैदेशिक रोजगारमा थिएँ । यहाँ मनपरी गरी । पूर्ण शङ्का लाग्छ, उनको कोही मानिस छ तर मसँग त्यसको केही प्रमाण छैन,’ वकिलले भनेँ, ‘विनाप्रमाण केही गर्न सकिँदैन सञ्जयजी ।’ म हिस्स परेँ ।
मलाई वकिलले सम्झाउँदै भने, ‘हेर्नुस् सञ्जयजी, वैदेशिक रोजगारको ठुलो समस्या यही हो । हाम्रो देश रेमिटेन्सले चलेको छ । धेरै युवा बाहिर छन् । यौन पनि खाना जस्तै हो । पहिले पहिले नारीहरू इमानदार थिए । त्यागी थिए । पतिव्रता थिए । महिलालाई संस्कारले बाँधेर राखेको थियो । गृहस्थीमा सीमित थिए । अब त्यस्तो रहेन । अहिले तडकभडक छ । खानपानले मानिसमा चेन्ज आयो । अबको मानिसमा यौन भोकसँग सम्झौता गर्दैनन् । यौन यति सशक्त छ सृष्टिको बीज रोप्ने यौन । प्रेमको सागरमा डुबुल्की मार्ने यौन । संसार बिर्साएर आनन्दित हुने यौन । घर बनाउने यौन हो । कतिका घर बिगार्ने पनि यौन नै हो । यौनबाट अछुतो कोही छैन ।’
उनी फेरि भन्दै गए, ‘हामीकहाँ दिनदिनै वैदेशिक रोजगारीको केस आउँछ । कति गाउँमा घरभित्र सम्बन्ध हुन्छ । घरभित्रै देवर भाउजूबीच सम्बन्ध हुन्छ । कैयौँ हाडनातामै सम्बन्ध राख्ने छन् । आफ्नै छरछिमेकीसँग सम्बन्ध राख्ने पनि छन् । वैदेशिक रोजगारीले निम्त्याएका समस्या हुन् यी । विदेशबाट फर्केर आउँदा धेरैको पतिपत्नीको बेमेल हुन्छ । पुरुषले परस्त्रीसँग सम्बन्ध राखे पनि घरमा पनि मिलाउँछ तर महिलाको हकमा अलि फरक देखिन्छ । परपुरुषसँग सम्बन्ध छ भने पतिलाई तिरष्कार नै गर्छ । सम्बन्ध बन्नै सक्दैन ।’
वकिलको कुरामा कुरा थप्दै भनेँ, ‘होे वकिल साब, सही कुरा गर्नुभयो । कसरी थाहा पाउनुभयो ? वकिलले हाँस्दै भने, ‘दिनभरि हामीले हेर्ने केस यस्तै हो ।’ मैले वकिलसँग दुखेसो पोख्दै भनेँ, ‘घर फर्केपछि हामीबीच सम्बन्ध बन्न सकेन । कति बेमेलको तनाबले बाँचौँ ? कति अशान्तिले पिल्सिरहुँ ? मन र विचार नमिलेर एकै छानामुनि बस्नु नै महाजेल भोग्दैछु । चार दिवारभित्रको जेल जेलभन्दा पनि कठिन जेल रहेछ । अब यो जेलबाट मुक्त हुन चाहन्छु । जसरी पनि मुक्त गरिदिनु पर्यो वकिल साहेब ।’
वकिलले मलाई बुझाउँदै भने, ‘महिलाको हकमा सम्बन्धविच्छेद गर्न सजिलो छ । पुरुषहरूलाई विनाकारण, विनाप्रमाण सम्बन्धविच्छेद गर्न मुस्किल छ । सम्बन्ध विच्छेदको सन्दर्भमा विश्वकै कानुन महिलामैत्री छ । यदि अलग अलग बसेका खण्डमा पनि पुरुषले श्रीमती बालबच्चालाई मानोचामल भर्नुपर्छ । सम्पत्ति आदि श्रीमतीलाई दिनुपर्छ ।’ वकिलको कुरा सुनेर निराश हुँदै भनेँ, ‘यो मानोचामल चाहिँ कहाँबाट भर्नु ? यो जेलबाट मुक्त हुन नपाउनु ?’ हरे पुरुष धिक्कार छ । न मर्नु, न बहुलाउनु भयो । के अब आत्माहत्या गर्नुभन्दा अर्को विकल्प के छ त ?
समाप्त
कल्पना खरेल