अहिले बर्डफ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयले आज नेपालगन्ज उपमहानगरपालिका–१६ बाट १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३६ थान अवैध कुखुरा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए । साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने गरिएको बताउँदै उहाँले प्रहरी देख्ने बित्तिकै ती व्यक्ति भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको उनले उल्लेख गरे ।
पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्जका प्रमुख डा.हरेराम यादवले बर्डफ्लुको जोखिम हुँदाहुँदै पनि अवैध रूपमा भारतीय कुखुरा नेपालगन्ज भित्र्याउने कार्य बन्द हुन नसकेकामा चिन्ता व्यक्त गरे । ‘हामीले दैनिकजसो समातिरहेका छौँ । तर कसरी भित्रिरहेको छ, आश्चर्य लाग्छ,’ उनले भने ।
खुला सीमानाका र व्यापारीमा सचेतनाको कमीका कारण अवैध कुखुरा नेपालगन्ज ल्याइएको उल्लेख गर्दै डा.यादवले अहिलेसम्म ३५ हजार तयारी कुखुरा नष्ट गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा ६० हजार भारतीय अवैध चल्ला र ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको उनले उल्लेख गरे ।
प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएका पशु क्वारेन्टाइन नेपालगन्जले जनाएको छ । तराईका केही जिल्लामा बर्डफ्लुको जोखिम बढ्दै गए पनि हालसम्म यस क्षेत्रमा सङ्क्रमण नदेखिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा यादवले जानकारी दिए ।
सत्यपाटी