नेपालगन्ज बजारका पसलहरूमा म्याद नाघेका खाद्य पदार्थको खुला बिक्रीसँगै होटल तथा रेस्टुरेन्टहरूमा सरसफाइको अवस्था निकै नाजुक भेटिएको छ । बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तुको अवैधरुपले व्यापार भइरहेको छ भने उपभोग्य मिति समाप्त खाद्यवस्तु विक्री वितरण भइरहेका छन् । म्याद गुज्रेका र मिति सच्याइएका सामानहरु बजारमा फेला पर्ने गरेका छन् ।
नेपालगन्ज–१२, सुर्खेत रोडस्थित अन्सारी ट्रेडर्समा करिब आठ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री फेला परेको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव तथा अनुगमन टोलीका संयोजक प्रवीणकुमार रानाले जानकारी दिए । उनले ती सामग्री तत्कालै नष्ट गरिएको र भविष्यमा म्याद गुज्रिएका सामान नराख्न चेतावनी पनि दिइएको बताए ।
त्यसैगरी वडा नम्बर १२ कै सञ्जीवनी कलेज एन्ड मेडिकल साइन्सेसको उत्तरतर्फ रहेको न्यू ओम तन्दुरी होटल एन्ड लजमा अनुगमन गर्दा रङ्गिएको मासको दाल प्रयोग गरिएको पाइएको तथा सरसफाइ र स्वच्छताको अवस्था अत्यन्तै कमजोर देखिएको संयोजक रानाले जानकारी दिए । उनका अनुसार न्यू ओम तन्दुरी होटललाई सरसफाइ र खाद्य स्वच्छताका लागि विशेष निर्देशन दिँदै सिल गर्ने चेतावनीसमेत दिइएको छ ।
अन्सारी ट्रेडर्स र न्यू ओम तन्दुरी होटल दुवैले नेपालगन्ज उपमहानगरपालिकामा व्यवसाय दर्ता नगरेको पनि पाइएको छ । दुवैलाई व्यवसाय दर्ताका लागि सात दिनको समय दिइएको र अनुगमनलाई अझ तीव्र बनाइने तथा कैफियत भेटिए कडा कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ । बजार अनुगमन निकै कम हुने गरेकाले म्याद गुज्रिएका खाद्य सामग्री, मिसावटयुक्त वस्तु तथा होटल–रेस्टुरेन्टको सरसफाइ नहुँदा त्यसले जनस्वास्थ्यमा असर गर्ने देखिन्छ ।
बजारमा बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो पेयपदार्थ लगायतका वस्तुहरु छ्यापछ्याप्ती फेला पर्ने गरेका छन् । साथै पसलमा उपभोग्य मिति समाप्त भएको वस्तु फेला पर्ने गरेको र कतिपय वस्तुको खरिद बिल नभएको र पसल नवीकरणसमेत नभएको पाइएको छ । बजार अनुगमनमा धेरैजसो पसलमा खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएका, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका पाइएका छन् ।
नेपालगन्ज बजारका अधिकांश पसलमा अखाद्य तथा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री फेला पर्न थालेपछि अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समिति सक्रिय भएको छ । बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइरहेको छ ।
बजारमा दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेलाई हदैसम्मको कार्वाही नभएसम्म बजार नियन्त्रण हुन नसक्ने नेपालगन्जबासीहरु बताउँछन् । नेपालगन्जका अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण नराखी बिक्री गरिएको पाइएको छ । हातले विवरण लेखिएको र म्याद नाघेको सामान समेत बजारमा छ्यापछ्याप्ती विक्री वितरण भइरहेका छन् ।
अनुगमनमा मूल्यसूची नराख्ने, खरीद बिल र बिक्री बिल लिनेदिने नगरिएको, तराजु नवीकरण नगरिएको, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएपछि ती सामानहरु जफत गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउन कडा निर्देशन दिइएको अनुगमन टोलीका संयोजक प्रवीणकुमार रानाले जानकारी दिए । नेपालगन्जका मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको छ भने म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था छैन ।
सत्यपाटी