मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो ।
जोमसोम हुँदै कागबेनी–कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ । यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।
कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए ।
परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए । निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए ।
उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् । करिब १०० मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए । भगवानको शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे ।
यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिए । एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उनले विश्वास छ ।
मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू छन् । गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ देख्न सकिन्छ । ‘गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्,’ स्थानीय गुरुङले भने ।
गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग गरेका छन् । । छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएका छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्याङ छन् । भर्याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ ।
सत्यपाटी