२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday

बाँकेमा हिंसाका घटनामा वृद्धि, १०३ वटा उजुरी दर्ता

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ५ गते शनिबार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका घटना वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको मासिक तथ्यांकमा मात्रै महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको र्पाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक रमेश विष्टका अनुसार चैत महिनामा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी दर्ता भएकोमा ८२ वटा विभिन्न तरिकाले उजुरी फछ्र्यौट गरिएको तथा २१ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् ।

निमित्त सूचना अधिकारी विष्टले पिडित भएर उजुरी दिनेहरुमा १८ देखि २५ वर्ष उमेरका २५ जना तथा २६ देखि ३९ वर्ष उमेरका ५२ जना महिला, बालबालिका र जेष्ठ नागरिक रहेको बताए । गत महिनामा मात्रै ५३ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएको वा बेपत्ता भएको भनि जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन परेको पनि विष्टले बताए ।

सोही आधारमा खोजतलास गर्दा २९ जना फेला परेको र बाँकी २४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएका मध्ये २५ महिला, १९ बालिका, चार बालक र पाँच जना जेष्ठ नागरिक रहेका थिए, जसमध्ये ११ महिला, १३ बालिका, तीन बालक र दुई जना जेष्ठ नागरिक फेला परेको र अझै पनि १४ महिला, छ बालिका, एक बालक र तीन जना जेष्ठ नागरिकको खोजी गरिरहेको निमित्त सूचना अधिकारी विष्टले बताए ।

सोही प्रकारले बाँकेमा गत चैत महिनामा घरेलु हिंसा र झै झगडाका ६८ वटा उजुरी परेकोमा ५२ वटा उजुरीमा दुबै पक्षविच मिला पत्र गराएर पठाएको तथा अन्यको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसैगरि सोही अवधीमा जिल्लामा जघन्य, गम्भीर र सामान्य अपराधका २०१ वटा मुद्दा दर्ता भएकोमा १७१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार