नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा उल्लेख्य वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले यस्तो निर्णय गरेको हो ।
शनिबार जारी प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागत पनि उल्लेख्य रूपमा बढाएको महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति—विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू पनि प्रभावित भएका छन् ।
हाल नेपालभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गर्दै आएको यो क्षेत्र लागत वृद्धिका कारण संकटमा परेको महासंघले जनाएको छ ।
विज्ञप्तिमा मूल्य वृद्धि कुनै नाफामूलक निर्णय नभई बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण बाध्य भएर गरिएको उल्लेख गरिएको छ । उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि मूल्य समायोजन अपरिहार्य बनेको महासंघको भनाइ छ ।
महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ । साथै, उपभोक्ता, वितरक र सरोकारवालाहरूलाई उद्योग संरक्षण, रोजगारीको रक्षा र सेवाको निरन्तरताका लागि गरिएको मूल्य समायोजनमा सहयोग गर्न आग्रह गरिएको छ ।
सत्यपाटी