२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday
उपन्यास अंश

‘श्रीमतीको तिरष्कारले डिप्रेसनको सिकार भएँ’

आङ कन्याउनु, छारो उडाउनु, आफ्नो घरको कुरा कोसँग भन्नु ? लाजै मर्नु । दिनदिनै पिल्सिरहेँ । पीडाको सागरले थिचिरह्यो । उनको हठले मिचिरह्यो । घर नै युद्ध मैदान भयो । कलह अशान्ति भयो ।
कल्पना खरेलकल्पना खरेल । साहित्यकार । २०८२ पुस १ गते मंगलबार

अर्का दिन छिमेकी मास्टर दाइको फोन आयो । फोन उठाएँ । छिमेकी दाइले भने, ‘सञ्जय आमा सिरियस हुनुहुन्छ । छिटोभन्दा छिटो घर आऊ । आमालाई हस्पिटलमा भर्ना गरिदिएँ । आमालाई किमो चढाउनुपर्छ । मेरो पनि स्कुल पढाउनुपर्छ । यहाँ हस्पिटलमा बस्ने मान्छे छैनन् । हस्पिटलले बिरामीको परिवार खोजिरहेको छ ।’ मैले छिमेकी दाइलाई भनेँ, ‘उपचार गर्न पैसा चाहिन्छ । त्यहाँ आएर के गर्नु दाइ ?’ ‘ल कसरी मिलाउँछौ मिलाऊ’ भन्दै छिमेकीले फोन राखे । छिमेकी दाइ सायद आफ्नो पेसामा जानुभयो । हस्पिटलमा आमा बेवारिसे हुनुभयो । विनाकोही आमा एक्लै पर्नुभयो । डाक्टर, नर्स आउँदै सोधे, ‘आमा खोई त तपाईंको परिवार ?’

आमाले रुँदै भन्नुभयो, ‘मेरो छोरा विदेशमा छ । घरमा कोही छैन ।’ आमा हस्पिटलमा बेवारिसे लास जस्तै ढल्नुभयो । मलाई अभावले छेकारो हालिदियो । बाध्यताले तगारो लगायो । नेपाल फर्कने चान्स नै छैन । भर्खर सानु कुटी बनाएँ । छोरी पढ्न सहरमा छिन् । बढ्दो खर्चको मारमा खल्ती रित्तिएको छ । आमाको उपचार गर्न पैसा छैन । अप्ठ्यारोका बाबजुद उपाय सोचेँ । सहकर्मी साथीहरूसँग सापटी पैसा मागेँ । साथीहरूले सापटी दिएर सहयोग गरे । आमाको उपचार गर्न दिदीलाई पैसा पठाएँ । आमालाई फोन गरेर भनेँ, ‘आमा कस्तो छ अहिले ?’ आमाले रुन्चे स्वरमा भन्नुभयो,‘ के हुनु बाबु । क्यान्सरसँग युद्ध गर्दैछु ।’

मैले प्रश्न गर्दै भनेँ, ‘आमा हस्पिटलमा को छ तपाईंसँग ?’ आमाले सकी नसकी मलीन स्वरमा भन्नुभयो, ‘एक्लै छु बाबु ।’ मैले पुनः प्रश्न गर्दै भनेँ, ‘दिदीबहिनी आएनन् ?’ आमाले कारुणिक स्वरमा भन्नुभयो, ‘दिदीले आएर दबाईहरू किनेर गइन् । बहिनीे कहिलेकाहीँ भेट्न आउँछे । बहिनीको अफिस छ । फुर्सदै छैन । छोरालाई जस्तो छोरीको जिम्मेवारी हुँदैन बाबु । छोरा हुँदा हुँदै छोरीहरूले जिम्मेवारी महसुस गर्दैनन् । अंश खाने छोरा हो, आमालाई छोराले नै हेर्नुपर्छ भन्ने सोच्छन् । बिहे गरेपछि छोरी पराई भइहाल्छन् । उनीहरूलाई आफ्नै दायित्व र कर्तव्यले बाँधेको हुन्छ । हाम्रो परम्परा यस्तै छ । छोरीहरूको आफ्नै संसार हुन्छ । उनीहरूका पनि सासूससुरा छोराछोरी श्रीमान् रिझाउनुपर्यो । झन् अबका छोरीहरू जागिरे हुन्छन् । चाहेर पनि बाबुआमालाई समय दिन सक्दैनन् । उनीहरू आआफ्नै घर व्यवहारमा अल्झेका हुन्छन् ।’

मैले भनेँ, ‘हो नि आमा मेरै जिम्मेवारी हो । आमाबुवा छोरासँग बस्छन् । छोराले हो आमाबाबुको स्याहारसुसार गर्ने । म अभागीलाई बाबुआमाको सेवा गर्न जुरेको छैन । बाबु गर्भमा छँदै गुमाएँ । आमा बिरामी हँुदा परदेशमा छु । के गरौँ आमा ?’ आमाले भन्नुभयो, ‘बाबु भाग्यमा जे छ, त्यही हुन्छ ।’ मर्माहत हुँदै भनेँ, ‘आमा आफ्नो ख्याल गर्नु’ भन्दै फोन राखेँ । आमाको कुराले टुक्रा टुक्रा भएँ । आफू परदेशमा छु । आमा हस्पिटलको शैयामा लावारिस ढलिरहनुभएको छ । जीवन र मरणको युद्धमा हुनुहुन्छ । चिन्तित भएँ । उपचारमा पैसाको खोलो लागिरहेको छ । सास छउन्जेल आश हुने । संसारमा सबै चिज पाइन्छ । आमा कहाँ पाइन्छ र ? सकेसम्म आमालाई बचाउन प्रयत्न गरेँ । पटक पटक साथीहरूसँग सापटी मागेर पैसा पठाएँ । क्यान्सर रोगको उपचार अति महँगो थियो ।

उपचार गर्दा गर्दै ऋणले टुप्पी डुब्यो । म परदेशमै अड्किरहेँ । एकपछि अर्को समस्याले गाँझिरह्यो । पीडामै दिनहरू बित्दै गए । आमा क्यान्सरसँगको युद्धमा लडिरहनुभयो । दिन बित्दै जाँदा क्यान्सर बलियो हुँदै गयो । आमा कमजोर हँुदै जानुभयो । हस्पिटलमै बेवारिसे भएर थलिनुभयो । मन आत्तियो । आमालाई फोन गरेर भनेँ, ‘आमा, कस्तो छ अहिले ? आमाले सकी नसकी भन्नुभयो, ‘गाह्रो भयो बाबु । कहिले आउँछौ ? तिमीलाई देख्न मन छ । तिमीसँग भेटेर मर्न पाए हुन्थ्यो ।’ आमालाई सान्त्वना दिँदै भनेँ, ‘हजुरलाई अलि निको हुन्छ, अनि त फर्किहाल्छु । आमा नआत्तिनु सन्चो हुन्छ । उपचार गर्दा खर्च हुन्छ । त्यहाँ आएर खर्च जुटाउन गाह्रो हुन्छ । जसरी भए पनि उपचार गरेर सन्चो हुनुपर्छ आमा ।’ मेरो कुराले आमा भक्कानिँदै स्तब्ध हुनुभयो ।

000

म ड्युटीमा थिएँ । पालेको भूमिका निभाउँदै थिएँ । मन उदास थियो । आफैँभित्र त्रास सल्बलाइरहेको थियो । सास फेर्न गाह्रो भएको जस्तो हुँदै थियो । एक किसिमको छट्पटी थियो । मन अशान्त र चञ्चलिएको थियो । अनिष्टको जस्तो सङ्केत हँुदै थियो । आफैँ शिथिल भएँ । पटक्कै भोक छैन । सपनामा रुख ढलेको देख्छु । धमिलो बाढी आएको देख्छु । खोई के हुने हो ? अनौठो शङ्का उब्जिँदै थियो । फोनमा रिङटोन बज्यो । यसो हेरेको नेपालको नम्बर थियो । फोन उठाएँ । उताबाट ‘सञ्जय’ भन्ने नौलो आवाज आयो । म ‘हजुर को हुनुहुन्छ ?’ भन्दै थिएँ ।

‘आमा रहनु भएन । आमा परमधाम जानुभयो । छिटो घर आऊ’ भन्ने आवाज आयो । त्यस खबरले आकाशबाट खसेजस्तो भएँ । फोनमा कुरा गर्नै सकिनँ । ड्युटीमै मुर्छा परेँ । संसारै उजाडियो । धर्ती नै फाट्यो । आकाशै खस्यो । घरको मूल खम्बा ढल्यो । पीडाले अनियन्त्रित भएँ । केही क्षणपछि अलिकति सम्हालिएँ । भिनाजुलाई फोन गरेर भनेँ, ‘भिनाजु, आमाको अन्त्येष्टि गर्नुहोला । म अहिले आउँन पाउँदिन । धेरै ऋण छ, त्यो ऋण तिरेर मात्र फर्किन्छु ।’ भिनाजुले मलीन स्वरमा भने, ‘सञ्जय, आमाको ‘बाबु बाबु’ भन्दै प्राण गयो । छोरालाई भेट्ने घिटघिटी थियो । अन्तिम घडीमा तिमीलाई भेट्न सक्नुभएन आमाले । काजक्रिया गर्न त आउनुपर्यो ।’

मैले रुँदै भनेँ, ‘आमालाई म आउँछु भन्दै आश्वासन दिएको थिएँ । मेरो आश्वासन झुटो साबित भयो । अब म मेरी आमालाई कहाँ पाउँछु । आमालाई कहाँ भेट्न सक्छु । भिनाजु, म नितान्त टुहुरो भएँ । अब मेरो कोही छैन । संसार उजाडियो । नेपाल फर्केर के गर्नु ? घरमा मेरी आमा हनुहुन्न ।’ भिनाजुले सान्त्वना दिँदै भने, ‘सञ्जय, यस्तै हो संसारको रीत । हामीले सत्यलाई स्वीकार्नु पर्छ । जन्मेपछि मृत्यु अवश्य छ । शाश्वत् सत्यलाई स्वीकार्नुको विकल्प छैन । तिमी त पुरुष हौ । छोरा मान्छे बलियो हुनुपर्छ । यस्ता कुरामा बिलौना गरेर अल्झिने हो र ?’ भिनाजुका कुराले अझै रुँदै भनेँ, ‘भिनाजु पुरुषको पनि त्यही मन हो । पुरुष कुनै पत्थर होइन । मेरी आमालाई यो दुनियाँमा कहाँ पाउँछु । आमाले मलाई टुहुरो बनाएर जानुभयो ।’ भिनाजुले भन्नुभयो, ‘सञ्जय नरोऊ । ल खुरुक्क हिँडिहाल । भोलिसम्म पर्खिन्छाँै । तिमी आएपछि अन्त्येष्टि गर्ने हो । छोराले नै दागबत्ती दिनुपर्छ ।’

मैले अलि सम्हालिँदै भनेँ, ‘भिनाजु, व्यवहार मिलाएर आउँछु । आएपछि नै काजक्रिया गर्छु । अहिले मलाई नपर्खिनुहोला । गर्नुपर्ने विधि हजुरहरूले गर्नुहोला ।’ भिनाजुले ‘ल हुन्छ त’ भन्दै फोन राखे । अन्धकार छायो । रित्तो रित्तो भएँ । टुक्रिनसम्म टुक्रिएँ । खाडीको मरुभूमिमा मुर्छा परेर रोएँ । जहाजै डुब्यो । आकाश उजाडियो । बिलौना गर्दै रोएँ । आमाले यति छिटो छोडेर जानुभयो । अब म तपाईंलाई कहाँ भेट्न सक्छु ? कहिल्यै नभेट्ने यात्रा गर्नुभयो । यति तातो खाऊ बाबु भन्नुहुन्थ्यो । अब कसले भन्छ ? आमाको न्यानो माया कहाँ पाउनु । मेरी आमा तिमीविना कसरी रहनु ? आमालाई सम्झिँदै पागल जस्तै भएँ म । पलपल आमाको कमी खड्किरह्यो । मातृवियोगले पोलिरह्यो,

छोडी गयौ, मेरी आमा
अस्त भयौ, मेरी आमा
मलाई नै एक्लै पारी,
कहाँ गयौ, मेरी आमा ?

000

महिना मर्यो, तलब आयो साथीहरूको ऋण तिर्दै ठिक्क हुन्छ । एक पैसा बच्दैन । श्रीमतीले फोन गरेर थर्काउँदै भनिन्, ‘छिटो पैसा पठाइदेऊ । महिना मर्यो, कोठाभाडा तिर्नुछ । छोरीको स्कुलको फिस बुझाउनुछ । खानुपर्यो । हिँड्नुपर्यो । काठमाडौँमा पाइला पाइलामा पैसा चाहिन्छ । पिउने पानीदेखि सम्पूर्ण किन्नुपर्छ । विनापैसा केही हुँदैन । आजभोलि पैसा कसलाई दिन्छौ ?’ मैले नम्र हुँदै उनलाई बुझाउँदै भनेँ, ‘जति कमायो, ऋण तिर्न ठिक्क छ । घर बनाइयो । आमाको उपचार गर्दा खर्च भयो । आधा तलब ऋण तिर्दैछु । आधा तलब तिमीलाई पठाइरहेको छु । खर्च अलि पुर्याएर गर्नु सुषमा ।’

श्रीमतीले चर्को स्वरमा भनिन्, ‘कोठाभाडा तिर्नुपर्यो । चलेको फेसनअनुसार लगाउनै पर्यो । बेला बेला साथीहरूसँग घुम्नुप¥यो, रेस्टुरेन्टमा खानै पर्यो । छोरीको फिस बुझाउनुपर्यो । कसरी खर्च कम गर्ने ? मैले भनेँ, ‘पैसा कमाउन कति गाह्रो छ । खर्च गर्नेलाई एकैछिन हो । विदेशमा बुटामा पैसा फल्छ भन्ने सोच्छन् ।’ उनले मेरो कुरा सुनेर रिसाउँदै फोन काटिन् । दिन, हप्ता, महिना गर्दै समय बित्यो । दुई वर्ष ऋण तिर्दा तिर्दै ठिक्क भयो । विदेश छिरेकै छैटौँ वर्ष भयो । व्यवहार मिलाउँदा मिलाउँदै समयले नेटो काट्यो । छोरी पनि ठुली भइन् । छोरी जन्मिना साथ विदेश हिँडेको थिएँ । आज यतिका वर्ष भयो । परदेश बस्दा बस्दै दिक्क लाग्यो । पैसाले कहिल्यै पुग्दैन । अब त घर जानुपर्छ । आमाको काजक्रिया पनि गर्नुछ । काजक्रिया नगर्दासम्म आमा तर्नुहुन्न ।

शास्त्रले भने अनुसार छोराले क्रिया गर्नैपर्छ । त्यसैले पनि हिन्दु समाजमा छोराको बढी महत्व छ । धेरैजसो आमालाई सपनामा देख्छु । कहिले खान छैन भन्नुहुन्छ । कहिले बास पाइन भन्नुहुन्छ । छिटो घर गएर काजक्रिया गर्नुपर्यो । दसैँ छुट्टीमा श्रीमती छोरी घरमै छन् । यही बेला परिवारसँग बस्न पाउँछु । साहुसँग विनम्र अनुरोध गरँे । घर जान बिदा मागेँ । साहुले दुई महिनाको विदा दिए । खुसीको सीमा भएन । प्लेनको टिकट लिएँ । भोलिपल्टै आफ्नो देश फर्कें । दुई महिनालाई त्यो मरुभूमिलाई बिदाइ गरेँ । अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएँ । प्लेनबाट बाहिर झरेँ । आफ्नो जन्मभूमिलाई दण्डवत गरेँ । नेपाल आमासँग साक्षात्कार हँुदा गर्वले छाती ढक्क भयो । भावुक भएँ । गहभरि आँसु छचल्कियो । प्राणभन्दा प्यारो मेरो देश । भावबिभोर भएँ ।

एयरपोर्टबाट पुनः अर्को प्लेनमा भारतपुर गएँ । मध्याह्नमा गैँडाकोट घर पुगेँ । घटस्थापनाको दिन थियो । शरद् ऋतुको मन्द तापक्रममा शीतलता पनि छाएको थियो । मौसम अनुकूल थियो । मकै भित्र्याइसकेको थियो । फाँटहरूमा पँहेलै धानका बालाहरू झुलेका थिए । घरघरमा सयपत्री फूलहरू ढकमक्क फुलेका थिए । देशविदेशबाट साथीभाइहरू दसैँलाई घर आएका थिए । आफ्नो गाउँ पुग्दा स्वर्गको अनुभूति भयो । वरिपरिका छरछिमेकीहरू सञ्जय आए भन्दै थिए । समयको गतिसँगै छोरी ठुली भइछन् । छोरीले मलाई देखेर पनि अपरिचितलाई जस्तो व्यवहार गरिन् । मलाई हेरेको हेर्यै गरिन् । श्रीमती मलाई देखेर मलीन भइन् । म घर पुग्दा उनमा कुनै उत्सुकता थिएन । उनको अनुहार ग्रहण लागेको जूनजस्तो थियो ।

चिटिक्क परेको सानु घर । नयाँ घर देखेर खुसी भएँ । आफ्नै पसिनाले बनाएको घर, साह्रै प्यारो लाग्यो तर त्यो घर शून्य लाग्यो । आमाविनाको घर रित्तो थियो । नुनविनाको तरकारीजस्तै खल्लो लाग्यो । आमा गुमाएको दुई वर्ष भयो । झझल्को ताजा भयो । आँखा वरिपरि आमालाई देखेँ । वरपर छिमेकीले भने, ‘सञ्जय बाबु, बल्ल घर आउने साइत जुर्यो ?’ मैले भनेँ, ‘हो नि बल्लतल्ल आएँ । आफ्नै घर आउन पनि अनेक बाधाहरूले रोक्यो ।’ भित्र पसेर टुसुक्क बसेको मात्र थिएँ । नजिकै रहेका आफ्नै पुरोहित आए । उनले भने, ‘सञ्जय बाबु, तपाईं आउनुभएको थाहा पाएँ । त्यसैले आएको म । आमाको काजक्रिया गर्नुपर्यो ।’ मैले अनभिज्ञ हँुदै भनेँ, ‘गुरु के गर्नुपर्छ ?’

‘पहिला कोरा कपडा ल्याउनुपर्यो । अहिले नारायणी नदी जानुपर्छ ।’ गुरुको कुरामा सहमति जनाउँदै भनेँ, ‘हुन्छ गुरु जाऊँ गङ्गामा’ भनेँ । गुरु आफैँले नजिकैबाट कोरा कपडा किनेर ल्याउनुभयो । गुरुले भन्नुभयो, ‘सञ्जय बाबु, जुत्ता खोल्नु, खालीखुट्टा जानुपर्छ ।’ मैले जुत्ता खोल्दै भनेँ, ‘गुरु अरू के गर्नुपर्छ ?’ गुरुले भने, ‘जौ, तिल, कुस, पिण्ड बाट्ने जौको पिठो लिएर आएको छु । जनै पनि मसँगै छ । कपाल खौरिने बिलेट पनि किनेर ल्याएँ । जाऊँ अरू केही चाहिँदैन ।’ गुरु अघिअघि लाग्नुभयो । म गुरुको पछिपछि लागेँ । नारायणी नदीको किनारमा पुगियो । गुरुले कपाल खौराइदिए । नदीमा पसेँ । स्नान गरेँ । स्नान सकेर बगरमा फर्किएँ । कोरा कपडाको कछाड लगाएँ ।

गुरुले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘सञ्जय बाबु, जनै कतारतिरै छुटेछ । पहिला जनै लगाउनुहोस् । मैले अलि सर्माउँदै भनेँ, ‘हो नि गुरु । विदेश गएदेखि जनै छैन । गुरुले जनै दिँदै भन्नुभयो, ‘ब्राह्मणले जनै छुटाउँनै हुँदैन । गुरुबाट जनै लिएँ । जनैको धागो छड्के पारेर लगाएँ । गुरुले कुसको औँठी बटार्दै भने, ‘यो औँठी दाँहिने हातको औँलामा लगाउनू ।’ मैले गुरुसँग कुसको औँठी लिएँ । दाँहिने हातको साइली औँलामा औँठी लगाएँ । गुरुले संस्कृतमा भट्याउनुभयो । जसो जसो पण्डित बाजे, उसै उसै स्वाहा गरेँ । नदी किनारमै कर्मकाण्ड गरियो । आमालाई सम्झेर पिण्ड तर्पण दिइयो । क्रियापुत्रीको भेषमा लुरुलुरु घर फर्किएँ । घरको एक कोठामा कम्बल बिच्छ्याएर बसेँ । त्यस दिन क्षेत्रोपवास बसियो । अन्नपानीविना निराहार बसियो । खाली पेट रातभरि निद्रा लागेन ।

भोलिपल्ट मध्याह्नमा गुरु आउनुभयो । नारायणी नदी गयौँ । नदीमा स्नान गरेँ । उसै गरी पिण्ड तर्पण दिएँ । दुई दिनदेखि केही खाएको थिएन । खाली पेटमा भनन्न रिँगटा लाग्यो । प्रेसर लो भयो । ढलौँला जस्तो भएँ । बगरमै दाउरो जोडेर सादा भात पकाएँ । भात पस्केर केराको पातमा राखेँ । निस्तो भात खाएँ । पटक्कै रुचेन । नुनविना घाँटीबाट खाना निलिएन । पस्केको भात आधा त्यसै रह्यो । नदीमै हातमुख चुठेँ । गुरु अघिअघि लागे । म गुरुको पछिपछि लागेँ । दुवै घर फक्यौँ । मध्याह्नको चर्को घामले नाङ्गो शरीरमा पोल्यो । कछाडको वस्त्रले गुप्ताङ्ग मात्र छोपिएको थियो । अरू शरीर निर्वस्त्र थियो । नाङ्गो खुट्टा घर फर्किंदै गर्दा गुरुलाई सोधेँ, ‘गुरु, चप्पल लगाउनै नहुने हो ? साह्रै खुट्टा पोल्यो, बिझायो ।’

गुरुले बुझाउँदै भन्नुभयो, ‘दुःख भनेकै यही हो । दुःखमा चप्पल लगाउनु हँुदैन । किरियापुत्रीले गर्ने नियम यिनै हुन् । पुरुषको दुःखान्तको समय यही हो । आमाबाबुको काजक्रिया छोराले गरेपछि नै पित्रृ तर्छन् । काजकिरिया गर्नको निमित्त बाबुआमाले छोरा जन्माउँछन् ।’ गुरुबाजेले बुझाउँदै गर्दा घर पुगियो । यसो पैताला हेरेको । खुट्टाभरि फोकै फोका ठेला उठेछन् । दिनदिनै मध्याह्नमा नदी गयो, नदीमै कर्मकाण्ड ग¥यो । यसै गरी घर फर्कियो ग¥यौँ । तेह्र दिनसम्म किरिया बसेँ । अलिनो बस्दा निक्कै कष्ट भयो । तेह्र दिन एक छाक निस्तो खानाले शरीर गल्यो । दुब्लाउँदै गएँ । स्वरूप नै बदलियो । निक्कै कष्टकर भयो यो समय । बाँदरको जस्तो स्वरूप भयो । तेह्र दिनसम्म काजक्रिया गरियो । दानपुण्य वैतरणी गरियो । आमाको काजक्रिया सकियो ।

000

घर पुगेको चौधौँ दिन भयो । घरमा पूजा एकाहा लगाइयो । लाखबत्ती बालियो । सत्यनारायण भगवानको आरधना गरियो । एघार जना पण्डितले पाठ गरे । घर चोख्याएर पवित्र बनाइयो । पण्डितलाई दान दक्षिणा गरेँ । १५ दिनदेखि चोखिएर पवित्र भयौँ । अब परिवारतिर मेरो ध्यान गयो । श्रीमतीको मुहारमा हेरेँ । अझै पहिलाभन्दा राम्री लोभलाग्दी देखिएकी । फेसनयुक्त वस्त्रले नौली देखिएकी थिइन् । उनमा भर्खर २५ वर्षको जवानी झल्किरहेको थियो । पहिलाभन्दा लवाइ खुवाइमा परिवर्तन थियो । उनलाई देखेर सन्तुष्ट भएँ । लामो समयको मिलन थियो । खाडीको मरुभूमिसँगै खडेरी परेको म । स्त्रीजातिको सङ्गतभन्दा निक्कै टाढा थिएँ । श्रीमतीलाई देख्दा नौलोजस्तो लाग्दै थियो ।

आफ्नै श्रीमती अप्सराजस्तै लाग्यो । प्रकृतिको नियम न हो । नारी आकर्षणले लुछुप्प भएँ । श्रीमतीलाई प्यारले अँगाले । उनको भरिलो शरीरले स्पर्श गर्यो । मेरो संवेदनशील अङ्ग जग्मगायो । काम वासनाले जिरिङ्ग भएँ । शरीर तातेर आयो । अनुहार रातो भयो । अँगाल्दा पहिलाभन्दा अझै जवानीले भरिएकी अनुभूति गरेँ । प्यारले अँगाल्दा पनि उनले मेरो अँगालोबाट उम्किने प्रयास गरिन् । मेरो अँगालोबाट फुत्किने सक्दो कोसिस गरिन् । मायालु शब्दले भनेँ, ‘प्यारी मलाई हेरन ।’ उनले झर्किंदै भनिन्, ‘के हेर्ने तिम्रो खाप्चो ? आफ्नो खाप्चो आफैँ हेर, म हेर्दिनँ । मैले फकाउँदै भनेँ, ‘के भयो मेरी रानी ? किन रिसाएकी ?’

उनले झर्किंदै भनिन्, ‘मन छैन भनेपछि बुझ्दैनौ ?’ फेरि नम्र हुँदै फकाउँदै भनेँ, ‘यतिका वर्षमा भेट्दा पनि किन रिसाएकी ? भन त के भयो ?’ उनले मुख फुलाउँदै भनिन्, ‘केही भएको छैन । जवर्जस्ती नगर । मलाई मन छैन ।’ उनको व्यवहारले दुखी भएँ । तर पनि लागिपरेर फकाएँ । झुक्नुसम्म झुकेँ । माया वर्षाउँदै भनेँ, ‘मेरी दिलकी रानी नरिसाऊ न । तिमी जे भन्छ्यौ, त्यही मान्छु । नरिसाऊ प्रिया । तिम्रो म, मेरी तिमी हौ । किन यस्तो गछ्र्यौ ?’ विनम्र हँुदै उनको खुट्टा ढोगेँ । उनले पटक्कै मानिनन् । जबर्जस्ती गर्नु पनि भएन । उनको इच्छाविपरीत हाबी हुन सकिनँ । उनी शक्तिशाली भइन् । म कमजोर हँुदै हारेँ । तिर्खाएको म अधुरो भएँ । म निरुत्साहित भएँ । अधुरो भएँ । टाउको दुख्यो । शरीर भारी भयो । मन खिन्न भयो ।

साह्रै दुःखी भएँ । पटक पटक उनीसँग झुकेँ । केही सिप लागेन । म उनको तृष्णामा लालायित भएँ । उनले मलाई तिरष्कार गरिरहिन् । उनले तिरष्कारले प्रहार गरिरहिन् । रातभरि निद्रा लागेन । वासनाले छट्पटाएँ । उनको मन पटक्कै पग्लेन । रिस पनि उठ्यो । बिहान भयो । उठेर नुहाई धुवाई गरेँ । फ्रेस भएँ । छोरीलाई अँगाल्न खोजेँ । छोरी पनि मसँग आउन चाहिनन् । फकाएँ चकलेट दिएँ, पटक्कै मसँग मानिनन् । खेलाउन प्रयास गरेँ रुँदै टाढिन् । मन धमिलो भयो । जसको निमित्त परदेश गएर दुःख गरेको थिएँ । उनीहरू नै मदेखि टाढिए । एक्लै जन्मिएँ । एक्लै मर्नु त छँदै छ । स्वार्थी रङ्गमञ्चमा कोही कसैको हँुदो रहेनछ । भत्किएको मन उजाडिँदै बहकिन थाल्यो ।

हे ईश्वर कहाँ छौ
सम्हाल जहाँ छौ
शक्ति देऊ भगवान
तिमी नै उहाँ छौ ।

जागिर गएर बिचल्ली थियौँ । भनेजस्तो खाना लाउन पनि धौ धौ थियो । डेरामा बसेका थियाँै । अहिले बास बन्यो । आर्थिक अवस्था थोरै सुधारियो । व्यवहार मिलाउँदै थिएँ तर फेरि के भइरहेको छ ? किन म परिवारबाट तिरस्कार भइरहेको छु ? कस्ता सपना बुनेर खुसीका साथ घर आएको थिएँ तर त्यो किसिमको वातावरण नै छैन । घर पुग्दा अझै एक्लो महसुस भयो । मनमा पहिरो गइरह्यो । मनमा विभिन्न कुरा खेल्यो । बेलुकापख आफ्नै घरको छतमा गएँ । पच्चिमको डाँडामा सूर्यास्तको मन्द प्रकाश छारिदँै थियो । छतबाट पूरै गाउँ देखियो । पहिलाभन्दा अहिले गाउँको संरचनाहरू बदलिएको थियो । सडक अर्थात् बाटो पिच भएको थियो । धेरैका अग्ला अग्ला पक्की घर बनेका थिए । वरिपरि हरियाली डाँडाकाँडा थियो । खाडीको मरुभूमि सम्झिँदा आफ्नो गाउँ स्वर्गजस्तै लाग्यो ।

घरघरमा चाडबाडको रौनक थियो । गाउँका दाइहरू लिङ्गे पिङ खेल्दै थिए । दसैँ तिहारको रौनकले गाउँ नै रमाइरहेको भान हुन्थ्यो । छतबाट आफ्नो प्यारो गाउँ ठाउँ नियाल्दा नियाल्दै दिनले बिदाई गर्यो । सन्ध्याले स्वागत गर्यो । जताततै झिलिमिली बिजुली बत्ती बल्यो । म छतबाट तल झरेँ । भान्सामा गएँ । श्रीमतीले खाना पकाउँदै गरेको ठाउँमा गएँ । मलाई देखेर उनी अँध्यारी भइन् । उनको सामुन्ने बसेँ । उनी पटक्कै बोलिनन् । अपरिचित जस्तो गर्दै थिइन् । बस्दा बस्दै खाना पाक्यो । खाना पस्किइन् । खाना खाइयो । बेडरुमतिर गइयो । उनी छोरी लिएर एकातिर सुतिन् । म अर्को बेडमा सुतेँ । रात ढल्दै थियो । छोरी निदाइन् । श्रीमतीलाई आफूसँग बोलाएँ । उनले नसुनेको जस्तो गरिन् । पटक्कै मेरो सामु आउँन चाहिनन् ।

धेरै फकाएँ पटक्कै उनको मन पग्लेन । अचम्म लाग्यो । पहिला आफूले छोडेर जाँदाकी श्रीमती नै होइनन् जस्तो । कोही अपरिचित जस्तो व्यवहार पाएँ । रातभरि निद्रा लागेन । छट्पटी भयो । पीडाको भारीले थिच्यो । सिसा फुटे जस्तो भएँ । मनभरि बुन्दै आएका सपनाहरू चकनाचुर भए । न छोरीले बाबुको मुख हेर्छे । न श्रीमती आफ्नो पतिको रूपमा हेर्छे । छ वर्ष खाडीमा बगाएको पसिनाले मेरो खुसी पनि बगायो । छिन्नभिन्न भएँ । रात बित्यो । प्रभातले स्वागत ग¥यो । तिहारको घरघरमा रमाइलो वातावरण थियो । सबैको मुहारमा खुसियाली छाएको देखिन्छ । आफ्नो मन तिहारको औँसीको रातसँगै अँध्यारो भइरह्यो । आफ्नो घर, घर जस्तो लागेन । भित्र जान्छु, श्रीमती बाहिर निस्किन्छिन् । म बाहिर जान्छु उनीभित्र पस्छिन् । एक्लै फोनमा गुनगुनाउँछिन् । घरधन्दा छोडेर ध्यान मग्न भएर फेसबुकमा मस्त हुन्छिन् ।

यसो बुझ्दा श्रीमतीको चालामाला ठिक लागेन । दिनहरू बित्दै गए । आफैँ पीडामा मरे पनि उनलाई कुनै जबरजस्त गरिनँ । न कुनै मानसिक तनाव नै दिएँ । उनको स्वतन्त्रतामा हस्तक्षेप गर्न चाहिनँ । एकै छानामुनि समय बित्दै गयो । हामीबिच लोग्ने स्वास्नीको व्यवहार भएन । दसैँ र तिहारबिचको रौनक थियो । सबै हाँसिखुसी छन् । आफू भने दुनियाँबाट हारेको छु । आफ्ना आफ्ना छैनन् । न छोरीले बाबा भन्छिन् । न पत्नीले पतिजस्तो गर्छिन् । घर पनि मरुभूमि जस्तै छ । रुख्खासुख्खा छ । उजाडिएको छ । भावनात्मक, संवेगात्मक छैन । प्रेमरस छैन । मिठो बोलीवचन छैन । एक दिन दिक्दार हँुदै फकाउँदै भनेँ, ‘सुषमा के भयो ? मबाट के भुल भयो ?’ उनी मौन रहिन् । पटक्कै बोलिनन् । नबोलेर जितिन् ।

टेन्सनमा चुप भएर बस्न मन लागेन । श्रीमतीलाई फेरि झक्झक्याउन मन लाग्यो । फेरि भनेँ, ‘केही त बोलन यार । तिमीलाई फेरि डिस्ट्रब गर्दिनँ । म सधैँ भ्रममा पर्न चाहन्नँ । मेरा आँखामा हेरेर भन सत्य कुरा गर ।’ अझै उनी बोलिनन् । उनी पटक्कै नबोल्दा आबेश पनि आयो तर पनि कन्ट्रोल गरेँ । नम्रतापूर्वक प्रस्तुत भएँ । फेरि फकाएँ । तिम्रो खुसी नै मेरो खुसी भन के छ बात ? तिम्रो कोही छ ? उनको अनुहार निभेको दीप जस्तो भयो । निलोकालो निःशब्द भइन् । आकाशबाट खसेको जस्तो भएँ । म आफैँ भित्रभित्रै जलेँ । आत्मग्लानि भयो । आफैँलाई नामर्द जस्तो भान भयो ।

आफैँले श्रीमतीसँग झुक्दै भनेँ, ‘सरी सुषमा । आर्थिक विपन्नताबाट सम्पन्नको सुख दिएँ तर तिमीलाई समय दिन सकिन सुषमा । म आउँने दिन समयले पर्खियो । तिम्रो यौवनले मेरो प्रतीक्षा गर्न सकेन । सम्पूर्ण भौतिक वस्तु पूरा गरेँ । बहुमूल्य बस्त्र आभुषणले सजाउन सफल भएँ । न्यानो सामीप्य दिन विफल भएँ । तिम्रो मनका चाहना पूरा गर्न सकिनँ । यौनको भोक मेटाउन सकिनँ । अहिलेसम्म जे भयो माफ गरिदिएँ । अब हामी मिलेर बसौँ ।

दिनहरू बित्दै गए तर बगिरहेको खोला फर्केला, उनको मन पटक्कै फर्किएन । उनमा परिवर्तन आएन । उनले मौन रहेर तिरष्कार गरिरहिन् । मेरो तृष्णामा तिरष्कार बज्रिरह्यो । एकै बिस्तरा हुनै सकेन । पटक पटक फकाएँ । पटक पटक झुकेँ । उनले झर्किंदै भनिन्, ‘मेरो इच्छाअनुसार बाँच्न देऊ । मलाई डिस्ट्रब नगर ।’ उनी मेरो छायाँ देख्न नरुचाउने भइन् । मैले बोलेको मन नपर्ने । मैले छोएको मन नपर्ने । मलाई घृणाको हतियार प्रहार गरिरहिन् । उनको व्यवहारले म विक्षिप्त भएँ । एकै छानामुनि सँगै बस्ने स्थिति नाजुक भयो । घरमा झैझगडाले उग्ररूप लियो । सबैभन्दा ठुलो सजाय भयो । श्रीमतीको तिरष्कारले डिप्रेसनको सिकार भएँ । पतिपत्नीबीचको सम्बन्ध कसैसँग पोख्न नमिल्ने ।

आङ कन्याउनु, छारो उडाउनु, आफ्नो घरको कुरा कोसँग भन्नु ? लाजै मर्नु । दिनदिनै पिल्सिरहेँ । पीडाको सागरले थिचिरह्यो । उनको हठले मिचिरह्यो । घर नै युद्ध मैदान भयो । कलह अशान्ति भयो । न जुट्न मिल्ने, न छुट्न मिल्ने भयो । बाबुआमाको बेमेलले छोरीको मनोविज्ञानमा असर परिरह्यो । हाम्रो झगडाको प्रत्यक्षदर्शी छोरी भइन् । साँढेको लडाइँमा बाच्छाको मिचाइ जस्तो हँुदै गयो । हामी झगडा गथ्यौँ, उनी बसेर रुन्थिन् । परदेशले घर भत्कियो । आत्मीयताको डोरी टुट्यो । विश्वासको महल ढल्यो । मन मर्यो । सम्बन्ध मूर्तिविनाको मन्दिर भयो । सपनालाई सुनामी आएर लग्यो । संसारबाटै एक्लिएँ । ट्य्राजेडीमा परेँ ।

बदलियो त्यो मन
पाएँ निष्ठुरीपन
तिरष्कार खेप्दा,
अझै टुक्रिएँ झन् ।

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार