२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday
उपन्यास अंश

‘गाउँमा मलामी छैनन्, गाउँ नै रित्तिएको छ’

देशमा बस्ने फोहोरी राजनीतिका झोलेहरू मात्र हुन् । सिधासादा सबै बाहिर छन् । सिङ्गो युवा पुस्ता पलायन भए । कमजोर आर्थिक हुने खाडी मुलुक जान्छन् ।
कल्पना खरेलकल्पना खरेल । साहित्यकार । २०८२ मंसिर १६ गते मंगलबार

काठमाडौँको कोलाजमा भित्रिएँ । दिनभरि भिसाको चाँजोपाँजो मिलाएँ । श्रम स्वीकृति लिएँ । दुई दिन काठमाडौँमै बित्यो । तेस्रो दिन बिहान सातबजेको उडान थियो । बिहानै एयरपोर्ट पुगेँ । म जस्ता धेरै थिए । वैदेशिक रोजगारीमा जानेको लस्कर थियो । सबैको आआफ्नो सपना थियो । म जाने एयरवेजमा खाडी मुलुक जाने मात्र थिए । एरपोर्टमा चेक जाँच भयो । भित्र ओइटिङमा बसेँ । केही क्षणमा अनाउन्स भयो । दोहा जानुहुने सम्पूर्ण यात्रुहरूलाई स्वागत छ । कृपया विमानस्थलतिर प्रवेश गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

बोर्डिङ पास देखाउँदै प्रवेशद्वारबाट बाहिर निस्केँ । बस लागिरहेको थियो । बसमा बसेँ । ठुलो बस यात्रुहरूले भरियो । विमानस्थलको खुला मैदानमा बस दगुर्यो । बसले जहाज नजिकै पु¥यायो । बसबाट उत्रिएँ । जहाजले कतारको दोहाका लागि उडान भर्दै थियो । जहाज चढ्ने लामो लाइन थियो । मानिसहरू एक एक गर्दै जहाजको भरेङ चढ्दै थिए । जहाजभित्र पसेर आआफ्नो सिटमा बसेँ । म पनि जहाजको भरेङ चढेँ । जहाजभित्र पसेर आफ्नो सिट खोज्न थालेँ । आफ्नो सिट पत्ता लगाएँ । सिट नम्बर बि. १४ थियो । त्यसै सिटमा बसेँ । ठुलो जहाजमा २५० जना थिए । जहाज भरिभराउ थियो ।

सबै वैदेशिक रोजगारीका लागि हिँडेका थिए । सबैले आआफ्नो सपना बोकेका थिए । मेरो सिटसँगै एक युवा बसेका थिए । भर्खर जुँगाको रेखी बसेको । कलिलो ओठ निचरे नि दुध आउने जस्तो । उसलाई मैले सोधेँ, ‘भाइ कहाँसम्मको यात्रा हो ? उसले भन्यो, ‘कतार जाने हो दाइ ।’ फेरि उसले मलाई नै प्रश्न गर्यो, ‘हजुर पनि कतार नै जाने हो दाइ ?’ मैले उसको उत्तर दिँदै भनेँ, ‘हो नि भाइ ।’ आफ्नो मातृभूमि छोड्दै थिएँ । एयर होस्टेजले नियम पालन गर्न सिकाइन् । जहाजमाथिको पङ्खा घुम्यो । ठुलो आवाज कानमा गुन्जियो । ठुलो जहाज विमानस्थलको रनवेमा रफ्तारले गुड्यो । गुडिरहेको जहाजको पाङ्ग्राले धर्ती छोड्यो । तीव्र पङ्खाको हावाले जहाज आकाशमा उड्यो ।

जहाजको झ्यालबाट तल नियालेँ । काठमाडौँ सहर छर्लङ्ग देखियो । जहाज बादलभित्रको संसार उछिन्दै माथि माथि लाग्यो । मैले आफ्नो प्यारो देश छोडेँ । आफ्नो प्यारो परिवार छोडेँ । सबै छोडेर परदेश लागेँ । जहाज जति माथि माथि उड्थ्यो उति उति आफैँभित्र हाराएँ । खल्लो खल्लो लाग्यो । निराश भएँ । विशाल आकाशमाथिको यात्रा निरन्तर थियो । तलतिर हेर्दा मरुभूमि मात्र देखियो । बालुवाका साना साना थुम्का थुम्कीहरू थिए । कतै समुद्र निलो दह देखिन्थ्यो । त्रिभुवन विमानस्थलपारिको कौतुहल मेटिँदै थियो । कतै पनि हरियाली थिएन । नरमाइलो लाग्यो । आफ्नै देशको हरियालीको याद आयो ।

वनभरि फुलेका गुराँसका राताम्मे फूलहरू, रङ्गीचङ्गी वनफूलहरू, कलकल पानीका झरनाहरू, अविरल बगिरहेका नदीहरू, पाखापखेरा हरियाली, बुटाभरि फलेका आँप, लिची, अनेकौँ फलफूलहरू, गराभरि झुलेका गहुँका बाला, बारीभरि फलेका हरिया मकैका घोगा, मौसम अनुसारका बालिनालीहरू, सुन्दर प्रकृतिले मुस्कुराइरहेकी मेरो देश मानसपटल घुमिरह्यो । जति पर पुग्यो, उति उराठ उराठ लाग्यो । विरक्त लागेर आयो । अत्यन्त निराशा छायो । मरुभूमिमा भेडा चराउनुपर्छ भनेको सुनेको थिए । यस्तैमा होला भेडा चराउने नेपालीहरूले सोचे । आकाशबाट हेर्दै मन भरियो । मसँगै सिटमा सहयात्रा गरिरहेका युवालाई भनेँ, ‘यता त साह्रै उराठिलो रहेछ होइन त भाइ ? विदेश त कस्तो न होला भनेको यस्तो रहेछ ?

सहयात्री भाइले निधार खुम्च्याउँदै भने, ‘स्वर्गजस्तो देशमा जन्मेर नर्कजस्तो देशमा गुलामी गर्ने हामी नेपाली । खोई कसको सराप लागेको हो ?’ मैले भनेँ, ‘आफ्नै खुट्टामा आफैँ बन्चरो हान्ने हामी अभागी नेपाली ।’ उनले मेरो कुरामा सही थाप्दै भने, ‘हो नि दाइ, दिक्क लाग्छ । देशमा बस्ने फोहोरी राजनीतिका झोलेहरू मात्र हुन् । सिधासादा सबै बाहिर छन् । सिङ्गो युवा पुस्ता पलायन भए । कमजोर आर्थिक हुने खाडी मुलुक जान्छन् । पढाइ गर्दै गरेका अमेरिका, अस्ट्रेलिया जान्छन् । पढाइ गरी सकेका पनि राम्रो देशतिर सेटल हुन्छन् । यस्तै छ दाइ हाम्रो देशको हालत । युवा जति विदेशमा कसले विकास गर्ने ? घर घरमा बुढाबुढी मात्र छन् । बिरामी हँुदा तातो पानी दिने मानिस छैन । बिरामी भए अस्पताल लैजाने कोही छैन । मर्यो भने गाउँमा मलामी जाने कोही छैन । गाउँ नै रित्तिएको छ ।’

मैले उनको कुरामा सही थप्दै भनेँ, ‘हो नि भाइ, साहै दःुख लाग्छ । लाथालिङ् छ, देशको स्थिति । देशमा हरेक युगमा शासन प्रणाली फेरियो । देश र जनता फेरिएन । जहाज आकाश माथि माथि उड्दै थियो । हामी एकै सिटका सहयात्री गफिँदै थियौँ । जहाजमै एउटा सूचना आयो । कतारको दोहा दस मिनेटमा पुगिन्छ । अब केही क्षणमै हामी अवतरण गर्दैछौँ । गफिँदै गर्दा यात्रा सहज भयो । समय बितेको पत्तै भएन । जहाज आकाशबाट तल तल हुँदै थियो । म झ्यालबाट तलको दृश्य हेर्दै थिएँ । सूर्यको प्रकाश तीक्ष्ण थियो । पूरै खाली खाली बालुवा मात्र देखियो । कतै हरियाली छैन । छ त मरुभूमि मात्र छ । लाग्छ सजाय भोग्ने ठाउँ जस्तो । दोहा विमानस्थलमा जहाज अवतरण भयो । सबै यात्रु बाहिर निस्के । हामी पनि जहाजबाट बाहिर निस्केयौँ ।

खाडीले स्वागत गर्यो
मरुभूमिले मनै मर्यो
दुःखी यो जिन्दगीमा,
पैसाले गर्नु गर्यो ।

५० डिग्रीको चर्को घाम थियो । असाध्यै गर्मी लाग्यो । खलखली असिनपसिन भए । सजाय नै भोग्नुछ भने खाडीको मरुभूमि नै काफी छ । कतार विमानस्थलको ग्राउन्डबाट एयरपोर्टभित्र छि¥यौँ । एसीको चिसोले राहत मिल्यो । सहयात्री भाइ ‘म लागेँ दाइ’ भन्दै आफ्नै बाटो लागे । म विशाल एयरपोर्टभित्र मानिसहरूको भिडभाड थियो । एयरपोर्टमा निक्कै चहलपहल देखिन्थ्यो । युरोप, यु.यस.ए विकसित मुलुकको गन्तव्य जोड्ने ठाउँ । कतार एयरपोर्ट धेरै ठाउँको ट्रान्जिट स्टेसन रहेछ । भिडभाडमा यताउता हेर्दै थिएँ । बाथरुम देखेँ । बाथरुम गएँ । बाथरुमबाट फर्किदै थिएँ, महिलाको ‘दाइ’ भन्ने सम्बोधन सुनेँ । यसो फर्केर हेरेको एक भर्खरकी युवती थिइन् । मलाई हेरेर मुसुक्क मुस्कुराइन् । मैले पनि उनको मुहारमा हेर्दै मुस्कान फिर्ता गरँे । उनले सोधिन्, ‘कहाँ जाँदै हुनुहुन्छ दाइ ?’ मैले उनको उत्तर दिँदै भनेँ, ‘म यही कतारसम्म हो बहिनी । मैले अनजान हँुदै सोधेँ, ‘तिमी कहाँ आएको त यहाँ ?’

उनले भनिन्, ‘दाइ म यहीँ काम गर्छु ।’ मैले सोधेँ, ‘के काम गछ्र्यौ नानी ?’ उनले अलि लजाएर भनिन्, ‘यही एयरपोर्टमा ट्वाइलेट सफा गर्छु ।’ मैले भनेँ, ‘जे गरे पनि काम नै गर्ने त हो बहिनी । हामी नेपालीहरूले जहाँ गए पनि त्यस्तै हो । विदेशमै शिक्षादीक्षा लिएर उतैको नागरिक हुनेहरूले हो अफिसको काम पाउने । अरू सबै हामी लेबर नै हौँ नानी ।’ त्यति भन्दै म अगाडि लागेँ । यसो मोबाइल हेरेको फ्री नेटवर्क सिग्नल देखियो । मोबाइलमा नेटवर्क कनेक्ट गरेँ । साथी अनलाइनमा देखेँ । हतपत कल गरेँ । साथीले कल उठाउँदै भन्यो, ‘हेल्लो सञ्जय तिमी कता ?’ मैले मुस्कुराउँदै भनेँ, ‘कहाँ छौ यार भन न ?’ उसले आश्चर्य मान्दै भन्यो, ‘कति छिटो आइपुग्यौ ?’ मैले हाँस्दै भनेँ, ‘आइपुगेँ नि यार । एयरपोर्टमा छु ।’ उनले भने, ‘त्यहीँ बसिराख म लिन आउँछु ।’ मैले हुन्छ भन्दै कल काटेँ ।

०००

एयरपोर्टमा साथीको प्रतीक्षा गरिरहेँ । आधा घण्टामा साथी आइपुग्यो । मलाई देख्नासाथ मुस्कुराउँदै भन्यो, ‘सञ्जय ल जाऊँ ।’ मैले ‘हुन्छ जाऊँ’ भन्दै उसैसँगै लागँे । उसले सोध्यो, ‘के छ नेपालको हालखबर ?’ मैले भनेँ, ‘के हुनु यार । उही भद्रगोल त हो । अरू के हुनु ? जहाँ पनि फोहोरी राजनीतिको गन्ध छ । भ्रष्टाचारको दलदलमा देश फसेको छ । सानालाई ऐन, ठुलालाई चैन छ । न्यायालय नै फोहोरी राजनीति र भ्रष्टाचारले अछुतो रहेन । यस्तो अवस्थामा सुशासनको कसरी अनुभूति गर्न सकिन्छ ? नयाँ त खासै केही छैन यार, यस्तै त हो ।

साथीले मेरो कुरा सुनेर भन्यो, ‘त्यही त दुःख लाग्छ । हामी युवाहरू ससाना बालबच्चा, वृद्ध बाबुआमा, जवान श्रीमती छोडेर विदेशमा दुःख गरिरहेका छौँ । यहाँबाट गएको रेमिटान्सले देश चलेको छ । हाम्रो देशको बेथितिले गर्नुगर्यो । कहिल्यै सुधार भएन यार । उसको कुरामा सही थप्दै भनेँ, ‘हो नि यार ।’ गफिँदै एयरपोर्टभित्रको पार्किङतिर लाग्यौँ । साहुको गाडी लिएर आएको रहेछ । साथीले भन्यो, ‘हेर सञ्जय, म त गाडी चलाउने हो । मेरो जागिर यही हो । साहु पनि राम्रो छ । सुरुमा त धेरै दुःख पाएँ । अहिले राम्रो छ । तैँले पनि ड्राइभिङ सिकेको भए, यस्तै गाडी चलाउन हुन्थ्यो । गार्डको ड्युटीमा दिनभरि एकै ठाउँमा बस्नुपर्छ । एकै ठाउँमा बस्न धैर्य चाहिन्छ । मैले नमजा मान्दै भनेँ, ‘जस्तो काम भए पनि गर्छु । नेपालमा बेरोजगार भएर आएको हुँ । विदेशमा दुःख गर्न आएको त हो । सुख भए त विदेश आउनै पर्ने थिएन ।’

साथीले टुइक्क पार्दै गाडीको किरिङ दबायो । बन्द गाडी खुल्यो । गाडीको ढोका खोलेर ड्राइभिङ सिटमा बस्यो । म पनि उसको छेउको सिटमा बसेँ । उसले गाडी स्टार्ट गर्दै भन्यो, ‘सञ्जय अब तैँले कतारको स्वरूप देख्छस् ।’ मैले मुस्कुराउँदै भनेँ, ‘हो नि यार अभावले कतार त देखायो । अभाव पनि अवसर हो । उसले पनि मुस्कुराउँदै भन्यो, ‘फूलको आँखामा फूलै संसार ।’ एयरपोर्ट बाहिर चिल्लो फराकिलो बाटो थियो । चिल्लो सडकमा गाडी आफ्नै गतिमा दगुर्यो । हामी गफिँदै गयौ । गाडीको चिसो एसीले स्पर्श गरिरहेको थियो । बाहिरको पचास डिग्रीको तापक्रमले केही फरक पारेको थिएन । बन्द गाडीभित्र एसीले आनन्दित तुल्याइरहेको थियो । मिठा गफले मरुभूमिको वातारणलाई परास्त गरिरहेको थियो । साथीले अतीतलाई सम्झाउँदै भन्यो, ‘सञ्जय सानुमा चौथी चोर्न गएको याद छ ? मैले हाँस्दै भनेँ, ‘त्यस्तै उट्पट्याङ त बिर्सिने कुरै भएन । गाउँभरिका काँक्रा चोरेको होइन त ?’

उसले हाँस्दै भन्यो, ‘हो नि, त्यो मादिनी बुढीले त कति खेदिन् । हाम्रो बाल्यकाल कति रमाइलो थियो । अहिलेका बच्चाहरू मोबाइल गेममै व्यस्त हुन्छन् । हाम्रो पालामा जस्तो रमाइलो छैन अहिले ।’ केही क्षण बाल्यकालतिर पुगियो । साथीले भन्यो, ‘अब हामी पुगिसक्यौँ । यही हो कतारको राजधानी । यही हो मैले काम गर्ने ठाउँ ।’ मैले ‘ए हो र’ भन्दै थिएँ । साथीले गाडी रोक्यो । गाडीबाट उत्रियौँ । दुवै कोठामा गयौँ । झोला राखेर थचक्क उसको बिस्तरामा बसेँ । यताउता हेरेँ । ठ्याक्कै अगाडिको झ्यालमा नजर पुग्यो । खाडीको खुल्ला मैदान देखियो । उराठिलो अर्कै ग्रहमा पुगे जस्तो लाग्यो । नौलो अलमल हुँदै भनेँ, ‘सुनील मलाई त अर्कै संसारमा पुगे जस्तो लाग्यो । नेपालभन्दा बिल्कुलै फरक रहेछ ।’

सुनीलले सान्त्वना दिँदै भन्यो, ‘सञ्जय सुरुमा यस्तै हो । बस्दै गर्दा रमाइलो लाग्छ । म काममा जान्छु । केही पकाएर खानू’ भन्दै ऊ निस्कियो । ऊ गएपछि म साथीको कोठामा एक्लिएँ । अनेकौँ कुरा मनमा खेल्न थाले । ‘यस्तो नरमाइलो ठाउँमा कसरी बस्ने होला ? कसरी बसे होलान् यहाँका मानिसहरू ? यस्तो मरुभूमिमा के खाएर बाँच्छन् होला ? कुनै अन्नबाली हँुदैन यहाँ ।’ मनमा अनेकौँ प्रश्न उब्जिए । त्यो वातावरण अनौठो लाग्यो । टेकेको धर्ती नै बेग्लै । माथिको आकाश नै अर्कै लाग्यो । सूर्यको ताप नै बेग्लै अनुभूति भयो । चलिरहेको वायुको स्पर्श नै छुट्टै लाग्यो । भिन्नै ग्रहमा पुगेको महसुस भयो । बाध्यता र परिस्थितिले कहाँ पु¥यायो मलाई ?

परिस्थितिको दास भएँ
मरुभूमिको लास भएँ
सङ्घर्षको पहाडभित्र,
म आफैँ नै खास भएँ

अनेकौँ कुरा मनमा खेल्दै थिए । सुषमालाई म्यासेज लेखेँ, ‘बेबी, म कतार पुगेँ । चिन्ता नलिनू । छोरी र आफ्नो राम्रो ख्याल राख्नू । आमालाई फोन गरेर भनिदिनु म राम्रोसँग पुगेँ भनेर ।’ म्यासेन्जरमार्फत म्यासेज सेन्ड गरँे । एक्लै कोठामा सेकेन्ड सेकेन्ड बिताउन गाह्रो भयो । घडीको सुई सुस्त घुमिरहेको भान भयो । पलपल तड्पिएँ । तुरुन्तै नेपाल फर्किनु जस्तो लाग्यो । मन पटक्कै अडिएन । आएको पहिलो दिन नै यति कठिन छ । अरू दिन कसरी बस्ने ? आत्तिएँ, निसासिएँ, बन्दीजस्तो महसुस गरेँ । आफैँ भित्रभित्रै गुम्सिएँ । बेलुकी हँुदैआयो । चर्को सूर्य कोल्टे फेर्दै थियो । घरको यादले सतायो । घाम डुब्दै थियो । बासस्थान खोज्ने पंछीहरू पनि देखिएनन् । न रूख छ, न बुट्यान छ । न हरियाली छ । न ताल छ । न अविरल बगिरहेकी नदी छ । न त हरियाली खेतीबाली नै छ । छ त जताततै रुखो बालुवा मात्र छ ।

मरुभूमिको संसार छ । भगवानले सजाय दिन पठाएको जस्तो लाग्यो । प्रचण्ड तेजको घाम ओझेल पर्दै थियो । मेरो मन अझै कोमल हँुदै गयो । वर्षाको भेल जस्तो आँसु बग्यो । भर्खर जन्मिएकी छोरीलाई सम्झेँ । भर्खर फक्रिरहेकी फूल जस्ती श्रीमतीलाई सम्झे । बुढी भएकी आमाको अनुहार आँखामा झल्झली देखेँ । आएको पहिलो दिन नै कष्टकर भयो । सन्ध्या कालीन समयले स्वागत ग¥यो । पलपल गर्दै समय अँधेरोतिर लम्किरह्यो । भित्ताको घडीको सुई घुम्दै थियो । रात उकालो लाग्दै थियो । मरुभूमिका खुला मैदान अँध्यारोले पर्दा लगायो । मेरो नजर रुमभित्रै सिमित भए । ‘हे भगवान ! के परीक्षा लियौ । जहिले उतार चढाव मात्र के भुल भयो ?’ अनेक सोच्दै थिएँ । साथीले आउँदा आउँदै ‘सञ्जय’ भनेर बोलायो ।

उसले भन्यो, ‘एक्लै बोर भइस् यार कि ?’ मैले उसको उत्तर दिँदै भनेँ, ‘हो नि यार । निक्कै बोर भएँ । अत्यास लाग्यो ।’ सुनीलले भन्यो, ‘सुरुमा यस्तै हो । अलिपछि बानी परिहाल्छ । हेर न मेरो ड्युटी यति बेला सकिन्छ । अब खाना बनाएर खाने हो । यस्तै छ यहाँको चलन । परदेशमा यस्तै हो । माया गर्ने को हुन्छ र यार ? दुःख गर्दै दिन काट्ने हो । यो मरुभूमिमा छ त काम छ । महिना मर्छ तलब आउँछ, त्यही हो । अरू केही छैन । रुखो छ जीवन, यहीँको मरुभूमि जस्तै ।’ उसको कुरामा सही थप्दै भनेँ, ‘हो नि सुनील । म त आएको पहिलो दिनमै आत्तिसकेँ । तँ यत्तिका वर्ष कसरी बसिस् यार यहाँ ?’ विकासले शैली मिलाएर कविले जस्तै गरी भन्यो,

‘समयले चलायो
बाध्यताले गलायो
सङ्घर्र्षको भुँमरीले,
आफैसँग हरायो ।’

गर्नुगर्यो । पैसामुखी हाम्रो समाज छ । गरिबको इज्जत नै छैन । पैसा नहुँदा त्यही मान्छेले मान्छे गन्दैनथ्यो । पैसा कमाएपछि त्यही मानिसले हाई हाई गर्छ । आफन्तले गर्ने व्यवहार नै फरक हुन्छ । गाँस, बास, कपास मात्र भएर पनि नहुने । मान सम्मान इज्जत कमाउँन पैसा चाहिन्छ । पैसाविना केही हँुदैन । पैसामुखी समाज छ हाम्रो । सुनीलको कुरामा कुरा थप्दै मैले भनँे, ‘हो नि सुनील हाम्रो समाज अत्यन्त पैसामुखी छ । भ्रष्टाचारीको इज्जत छ । कालो धन्दा गरेर कमाउनेको झन् ठुलो इज्जत छ । समाजको नजरमा पैसा चाहिन्छ । चाहे त्यो कालो धन किन नहोस् । सुनीलले कुरामा कुरा थप्दै जोसिँदै भन्यो, ‘त्यही पैसाले खाडीमा गलाउनु गलायो । मन भित्रभित्रै जलाउनु जलायो ।

मैले अलि प्रसङ्ग बदल्दै भनेँ, ‘सुनील अब खाना पकाऊँ भोक लाग्यो । सुनीलले कपडा फेर्दै भनेँ, ‘हुन्छ नि । सँगै दुवै मिलेर पकाउँला । दुई जना हँुदा त अलि जाँगर चल्छ । एक्लै बस्दा पकाउन अल्छी लाग्ने । खान मनै नलाग्ने । आज हामी दुई छाँै सहज भयो । रमाइलो लागिरहेको छ । भोलिदेखि साहुले कता राख्छ । सँगै बस्न कहाँ पाइन्छ छ र ? ड्युटीमा कता खटाउने हो । फेरि हप्ताको एकपटक मात्र भेट हुन्छ । छुट्टीको दिन त सँगै हुन्छौँ । परदेशमा साथी नै परिवार हो ।’ मैले तरकारी केलाउँदै भनेँ, ‘हो नि । यस्तो मरुभूमिमा के हुनु तर हरियो सागपात खान त पाइने रहेछ । यस्तो हरियो सागपात कहाँ हुन्छ यहाँ ?

सुनीलले भन्यो, ‘कहाँ हुनु र यहाँ । सबै बाहिर देशबाट आउँछ । सागपात हरियो तरकारी भारतले निकास गर्छ । खाद्यवस्तु सबै बाहिरबाट आयात हुन्छ । यो देश त पेट्रोलको खानी हो । विभिन्न देशहरूलाई तेल बेचेर धनी भएको हो । हाम्रो देशमा पनि विभिन्न खानीहरू छ तर त्यसको खोजी र उपयोग हुन सकिरहेको छैन ।’ गफिँदै दुवै मिलेर खाना पकायौँ दालभात सागको तरकारी पाक्यो । सुनीलले खाना पस्क्यो । दुवै मिलेर खायौँ । तातो भात पेटमा पर्यो । खाना खानासाथ निद्राले छोप्यो । मैले भनेँ, ‘सुनील भाते निद्राले झ्याम्मै पार्यो ।’ सुनीलले हाई गर्दै भन्यो, ‘हो नि यार । दिनभरिको थकित छु । सुतौँ अब भोलि बिहानै ब्युटी जानु छ । यसो बिस्तरामा पल्टेको भुसुक्कै निद्रादेवीको पोल्टामा परिएछ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार