२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday
पुस्तक अंश

‘बहुश्रीमती हुने पुरुष सधैँ एक्लो’

दुवैको कुराले सुनेर दिक्क भएँ । स्तब्ध मौन रहेँ । कसको पक्ष लिनु ? अब म के गरौँ ? शान्ति खोज्न कहाँ जाऊँ ? आमा र पत्नीलाई कसरी मिलाऊँ ? कसलाई लत्याऊँ ? कसलाई अँगालौँ ?
कल्पना खरेलकल्पना खरेल । उपन्यासकार । २०८२ असोज ७ गते मंगलबार

बिहानको एघार बजिसकेको थियो । सासूआमाले भन्नुभयो, ‘बाबु खाना तयार भयो । खाना खान जाऊँ । म हुन्छ नि मुमा भन्दै कुर्सीबाट उठेँ । सुषमाले भनिन्, ‘मम्मी हजुर घाम तापेर बस्नू । ज्वाइँलाई खाना खुवाउन म जान्छु ।’ सासूले भन्नुभयो, ‘बल्ल मेरी छोरीले जाँगर निकाली ।’ सुषमाले भनिन्, ‘हजुरको प्यारो ज्वाइँ आउँदा जाँगर निकाल्नै पर्यो नि ।’

हामी दुवै भान्सातिर लाग्यौँ । म डाइनिङमा बसेँ । सुषमा खाना पस्किन थालिन् । उनले खाना पस्किँदै भनिन्, ‘केही दिन यतैबाट अफिस जाऊ है ?’ मैले भनेँ, ‘होइन प्यारी आज फर्किनुपर्छ । म त तिमीलाई लिन आएको । घरमा कोही छैन । आमा एक्लै हुनुहुन्छ । माइत यतिका दिन बसिहाल्यौ नि ।’ पस्केको थालको भात टेबुलमा राख्दै उनले भनिन्, ‘होइन प्यारा, त्यस्तो कुरा नगर । म त यतै बसेर पढ्छु । जाँदिन तिम्रा घरमा । जानै मन छैन ।’ मैले फकाउँदै भनेँ, ‘सुषमा मेरो घर नै तिम्रो घर हो । बिहे भएपछि यो त माइती घर हो । तिमीले आफ्नै घर बस्नुपर्छ ।

सुषमाले भनिन्, ‘तिम्री आमासँग कसरी बसौँ ? मलाई पटक्कै जान मन छैन ।’ मैले भातको गाँस निलेर भनेँ, ‘त्यस्तो अबुझ नहोऊ सुषमा ।’ सुषमाले ढिपी गर्दै भनिन्, ‘तिमी नै जाऊ तिम्रो घर । म त मेरै घर बस्छु । मैले भने, ‘सुषमा त्यस्तो जिद्दी नगर न । पढेलेखेको मानिस त समझदार हुनुपर्छ ।’ सुषमाले बालहठ देखाउँदै भनिन्, ‘मरे जाँदिन तिम्रो घर ।’ मैले भने, ‘ओहो मैले त बिर्सेछु, सँगै खाऊँ न सुषमा ।’ सुषमाले भनिन्, ‘मैले त तिमी आउनुअघि नै खाइसकेँ । तिमी आउँछौ भन्ने थाहै थिएन । अकस्मात् आयौ ।’ यसरी बुढीसँग गन्थन गर्दै खाना खाएँ । बेसिनमा चुठेर बाहिर निस्किएँ । पुनः बुढीसासूको छेउमा बसेँ ।

सूर्यले न्यानो प्रकाश छरिरहेको थियो । न्यानो ताप ग्रहण गर्दै थियौँ हामी । बुढीसासूसँग मैले भनेँ, ‘हजुरआमा जाडोमा त घाम कति प्यारो । हजुरआमाले भन्नुभयो, ‘हो नि बाबु, कुटे पनि आमै जाती, पोले पनि घामै जाती ।’ मैले अलि प्रसङ्ग बदल्दै भनेँ, ‘हजुरआमा सुषमालाई लिन आएको जानै मान्दिनन् ।’ हक्की स्वभावकी हजुरआमाले सोध्नुभयो, ‘के भन्छे बाबु ? सुषमा घर जान्न भन्छे ?’ मैले भनेँ, ‘हो नि हजुरआमा जानै मान्दिनन् । के के अत्तो थापेर बसेकी छिन् ।’ हजुरआमाले भन्नुभयो, ‘त्यसलाई मैले जानेको छु । ए सुषमा यहाँ आइज त ।’

सुषमाले लुरुलुरु आउँदै भनिन्, ‘किन हजुरआमा ?’ हजुरआमाले भन्नुभयो, ‘तैँले घर जान्न भनेको ? यस्तो भगवान जस्तो ज्वाइँ हुनुहुन्छ । जानुपर्छ घर । घर खान छोरी मान्छेलाई अलिअलि गाह्रो त भइहाल्छ नि । त्यसै घर जाँदिन भन्दिरहिछे ।’ सुषमाले हजुरआमालाई जवाफ फर्काउँदै भनिन्, ‘बुढीले कुरासुरा बुझ्नु छैन ।’ हजुरआमाले भन्नुभयो, ‘किन नबुझ्नु नि कुरा । हाम्रो पालामा त छोरीले घर खानु फलामको चिउरा चपाउनु हुन्थ्यो ।’ मैले भने, ‘हो है हजुरआमा त्यति गाह्रो हुन्थ्यो ?’

हजुरआमाले भन्नुभयो, ‘हो नि बाबु । नयाँ बुहारी भएकै बेलामा भर्खर म माइत आएकी थिएँ । मेरा बाले सोध्नुभयो, ‘कस्तो छ छोरी घर ? बाको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘बा घर त पहरामा कुइनो ठोकिएको जस्तै छ ।’ बाले मेरा कुरा बुझ्दै बुझ्नुभएन । के भनेकी होली छोरीले भनेर सोच्नुभएछ । एक दिन पहाडको बाटो हिँड्दै गर्दा पहरामा कुइनो ठोकिएछ । बा भुतुक्कै हुनुभएछ । झनन्न दुःखेर तोरीको पूmल देख्नुभएछ । बल्ल बाले बुझ्नुभएछ । ओहो ! छोरी भन्थी घर पहरामा कुइनु ठोकिए जस्तो छ । मेरी छोरीलाई निक्कै गाह्रो रहेछ भन्ने बुझ्नुभएछ ।

हजुरआमाको कहानी सुनेर मैले भनेँ, ‘थाहा पायौ सुषमा ? घर कस्तो हुँदो रहेछ ।’ सुषमाले रिसाउँदै च्याठ्ठिँदै भनिन्, ‘हामी हजुरआमाको जमानाको हो र ? जमाना कहाँबाट कहाँ पुगिसक्यो । उहिलेका कुरा खुइले बुझ्यौ ? नातिनीको हर्कत देखेर हजुरआमाले भन्नुभयो, ‘हेर हेर ज्वाइँलाई जवाफ लागाएकी । मुख त हजामको छुरा जस्तै छ । ज्वाइँलाई त मान्छे गन्ने रहिनछे । मुखमुखै लाग्ने रहिछे । पतिदेवलाई मुख चलाए लाटी हुन्छ । श्रीस्वस्थानी व्रतकथामा सुनेकी छैनस् ?’ हजुरआमाको कुरामा सही थप्दै मैले भने, ‘हो नि हजुरआमा मलाई जित्छिन् यिनले । काँचै खान्छिन् ।’

फेरि हजुरआमाले सम्झाउदै भन्नुभयो, ‘छोरी मानिस त नरम शालीन हुनुपर्छ । सुषमा त्यस्तो गर्नु हँुदैन । छोरी मानिस त धर्ती हुन् । नारीमा सहनशीलताको गुण हुनुपर्छ ।’ हजुरआमाको कुरा सुनेर सुषमाले झोक्किदै भनिन्, ‘त्यो जवाना गयो, महिलाले दबेर बस्ने । महिलाहरू किन धर्ती जस्तै बन्ने नि ? धर्मशास्त्रहरूले त महिलालाई दमन गरेको छ । स्वस्थानी कथामा महिलालाई तल्लो दर्जामा राखेको छ । महिलाले अन्याय अत्याचार सहेर बस्ने होइन । अन्याय गर्ने मात्र अपराधी होइन । अन्याय सहनु पनि अपराध हो । जे परे पर्छ म त नचाहिने कुरा सहन्न । एक्काइसौँ शताब्दीमा दुनियाँ कहाँ पुग्यो । महिलाहरू सधैँ अन्याय अत्याचार सहने हो र ?’

सुषमाको कडा जवाफमा नरम हुँदै हजुरआमाले भन्नुभयो, ‘त्यही त सुषमा छोरीले लडेर पनि घर खानुपर्छ । छोरीले आफ्नो घर जानैपर्छ । राजाकी छोरीको प्रजासँग बिहे हुन्छ । राजकुमारी प्रजाको घरबुहारी भएर जान्छन् । केही नपुगेर हो र ? यो त संसारको रीत नै यस्तै हो । घरको काम गरे भकारीमा हात, माइतीको काम गरे खोकिलामा हात । माइतीमा त भाउजूबुहारी आएर शासन चलाउँछन् । घरमा बिस्तारी बिस्तारी आफ्नै शासन चल्छ । त्यसैले आफ्नै घर जानुपर्छ नानी ।

हजुरआमाको कुरा सुनेर सकारात्मक हँुदै सुषमाले भनिन्, ‘हुन्छ हजुरआमा जान्छु घर । जान मन नलागे पनि जानै प¥यो । मैले भनेँ, ‘ल त जाऊँ तयार हौ ।’ सुषमा ‘हुन्छ राजा हुन्छ’ भन्दै भित्र पसिन् । चिटिक्क परेको पाइन्ट र कोट लगाएर निस्किइन् । उनले ‘हुन्छ हामी जान्छौँ’ भन्दै सबैलाई पालैसँग प्रणाम गरिन् । हामी बिदाबारी भयौँ । मैले बाइक चलाएँ । उनी बाइकको पछाडि बासिन् । बाइकको पाङ्ग्रा गुडे । बाइकको रफ्तारसँगै चिसो बतासले स्पर्श ग¥यो । तिस मिनेटमै हामी दुवै घर पुग्यौँ । आमा भित्रबाहिर घरधन्दा गर्दै हुनुहुन्थ्यो । आफैँ भुतभुताउँदै थनथनाउँदै हुनुहुन्थ्यो ।

सुषमाले भनिन्, ‘देख्यौ तिम्री आमाको हर्कत ? म त ढोग पनि गर्दिन यो बुढीलाई । त्यसैले त आउँदिन भनेकी थिएँ नि । तिमीले जबर्जस्ती लिएर आयौ । हजुरआमा बुढीले अनेक कुरा गरेर फकाएर पठाइन् ।’ मैले भने, ‘शान्त हौ सुषमा । यस्तै हो घरव्यवहार ।’ सुषमाले भनिन्, ‘कसरी शान्त हुने ? तिम्री आमाको रूप देखेनौ ?’ मैले सुषमालाई सम्झाउँदै भने, ‘आमा पहिलेकी मान्छे । उहाँले दुःख भोग्नुभयो । त्यस्तै चाहनुहुन्छ । अब हामीले आमालाई चेन्ज गराउँन सकिँदैन । हामी पढेलेखेका मानिसले समझदारी गर्ने हो ।’

सुषमाले मेरो जवाफ फर्काउँदै भनिन्, ‘तिमी नै गर समझदारी, म त गर्दिनँ । मैले ठाउकामा हात राख्दै भनेँ, ‘हरे शिव, शान्ति देऊ । सासू, बुहारीलाई सद्बुद्धि देऊ ।’ सुषमाले ठुस्किँदै भनिन्, ‘तिम्रै घरमा छ अशान्ति । तिम्री आमा सधैँ भाँडभैलो गर्छिन् । कसरी शान्ति हुन्छ ? पहिला तिम्री आमालाई सुधार, बल्ल शान्ति हुन्छ । तिम्री आमालाई शान्तिस्वस्ति गर ।’ अशान्ति किचलो हुँदै त्यो दिन बित्यो । अर्को दिन म अफिस गएँ ।

सासूबुहारी मात्र घरमा थिए । सासूबुहारीको भनाभन भएछ । लडालड नै होला जस्तो परिस्थिति भए छ । अफिस सकेर घर फर्कें । दुवै सासूबुहारीको रुवाबासी थियो । दुवै घर छोड्न तयार थिए । आमाले रुँदै भन्नुभयो, ‘तेरी स्वास्नीले मरी जा राणी बुढी भनी । खाउँला जस्तो गरी । बोक्सिनी राक्षस्नी भन्नु नभन्नु सबै भनी, म बस्न सक्दिनँ यस घरमा । यस घरमा मेरो इज्जत छैन, सम्मान छैन कसरी बसौँ ? जान्छु देउघाट गएर बस्छु ।’

उता श्रीमती रुँदै भन्छिन्, ‘तिम्री आमाले अलच्छिनी, ठुलो भाग खान आएकी भनिन् । यसको त छायाँ हेर्न पनि मन छैन निस्की जा भनिन् । म मरे यो घरमा बस्न सक्दिन ।’ दुवैको कुराले सुनेर दिक्क भएँ । स्तब्ध मौन रहेँ । कसको पक्ष लिनु ? अब म के गरौँ ? शान्ति खोज्न कहाँ जाऊँ ? आमा र पत्नीलाई कसरी मिलाऊँ ? कसलाई लत्याऊँ ? कसलाई अँगालौँ ?

आमा मेरो रगत ।
पत्नी मेरै जगत ।
किन कठिन भयो ?
दुवैसँगको सङ्गत ?

०००

मनमा बाढी आइरहेको थियो । घरव्यवहारदेखि विक्षिप्त थिएँ । कहाँ गएर मन बहलाउने जस्तो लाग्यो । पीडाको भारी बोकेर काकाको घरतिर गएँ । बेलुकी सन्ध्याकालीन समय थियो । काकाले पावरदार चस्माबाट नियाल्दै भन्नुभयो, ‘बस न सञ्जय’ । ‘हुन्छ काका भन्दै काकाका छेउमै बसेँ । काकाले सोध्नुभयो, ‘किन मलीन छौ बाबु ? के भयो ? के समस्या प¥यो ? मैले काकाको प्रश्नको उत्तर दिँदै भनेँ, ‘के हुनु घरमा शान्ति छैन । मर्नु न बाँच्नु भएँ । दिक्क भएर यता आएको मन बहलाउन ।’ काकाले भन्नुभयो, ‘के भयो त्यस्तो ? मैले भनेँ, ‘काका यी सासूबुहारी पटक्कै मिल्दैनन् । कुकुर र बिराला जस्ता छन् ।’

काकाले हाँस्दै भन्नुभयो, ‘यी महिलाहरूसँगको सहयात्रा यस्तै हो । धैर्य गर्नुको विकल्प छैन । महिलाको चक्रव्यूहमा फस्यो कि डस्यो । मैले भनेँ, ‘काका कसरी धैर्य गर्नु ?’ काकाले भन्नुभयो, ‘परिआएपछि धैर्य गर्नैपर्छ ।’ मैले भनेँ, ‘हुन त हो, काकाले कसरी दुई काकीहरूलाई मिलाएर राख्नुभयो होला ?’ नातामा काका भतिज भए पनि साथी जस्तै खुलेर कुरा गर्दै काकाले भन्नुभयो, ‘बाबु कुरा नगर । कति गाह्रो भयो त्यो त मलाई नै थाहा छ । त्यसैले भोगेकाले भनेका रहेछन् दुई जोईको पोइ कुना पसी रोई । आफ्ना छैनन् ती दुवै जोई ।’

‘उस बेलामा मर्दका दस वटी भन्थे । बुढाहरूले सुर्याइदिन्थे । हाम्रो पालामा तरुनीसँग बोले हाँसे पनि बात लगाइदिन्थे । कोही केटी मन परे घरमै बिहे गरेर ल्याउने चलन थियो । हाम्रा पालामा कसैलाई खेलबाड गरेर धोका दिने चलन थिएन । त्यो जमानामा इमानदार थियौँ । वचनबद्ध थियौँ । आजभोलि जस्तो कहाँ हुनु । जता गएर रमाइलो गरे पनि हुने । आजभोलि मन मिले सहमतिमा सबै चल्छ । बिहे नै गर्नुपर्छ भन्ने कहाँ छ र ? अब त झन् लिबिङ टुगेदर कति सजिलो । गाई नपाली दुध खान पाइन्छ भने गाई किन पाल्नु ?’ काकाको कुराले मुसुक्क मुस्कुराउँदै भनेँ, ‘हो है काका जमाना रमाइलो छ ?’

काकाले पनि मुस्कुराउँदै भन्नुभयो, ‘हो नि बाबु उहिले जस्तो कहाँ छ र ? अहिले जस्तो जमाना भए एकै थाप्लामा दुई नाम्लो किन भिर्थें र ?’ काकाका रसिला कुराले तनाब बिर्सिएर हा हा गरेर हाँस्दै भनेँ, ‘घरवाली र बाहरवाली हुन्थे होला होइन काका ?’ काकाले पनि हा हा गरी हाँस्दै भन्नुभयो, ‘हो नि सञ्जय कति रमाइलो । माया त लुकीचोरी नै मिठो हुन्छ ।’ मैले भनेँ, ‘अब त कानुनले बहुविवाह बन्देज गरेको छ ।’ काकाले मेरो कुरामा कुरा थप्दै भन्नुभयो, ‘बहुविवाह बन्देज गरेर राम्रै भयो ।’ मैले जिज्ञासु हँुदै सोधेँ, ‘किन काका ?’

काकाले झुस्स फुलेको दारी मुसार्दै भन्नुभयो, ‘बहुश्रीमती दुश्मनले पनि ब्यहोर्नु नपरोस् । धेरै श्रीमती राखेर धेरै माया पाइन्छ भन्ने सोच्छन् तर त्यो गलत हो । बहुपत्नीको शरीर पाउँन सकिन्छ, तर मन पाउँन सकिँदैन । बहुश्रीमती हुने पुरुष सधैँ एक्लो हुन्छ । ऊ कसैको पनि हुन सक्दैन । कान्छीले सोच्छे ऊ त जेठीको हो । जेठीले सोच्छे ऊ त कान्छीको हो । बीचमा आफू त कसैको पनि भइँदैन । दुवै पत्नीको समर्पणभाव शून्य हुन्छ । दुई पत्नी भएर पनि झनै एक्लो भएँ म । मेरो आफ्नो भोगाइ यही हो ।’ मैले अचम्मित हँुदै भने, ‘हो र काका ?’

काकाले भन्नुभयो, ‘हो नि, अझै दुई नालको सन्तान त अझै गाह्रो । दुवैतिरका सन्तानले बाबुले उसलाई मात्र माया ग¥यो, मलाई माया गर्दै गरेन भन्छन् । बाबुले जन्माएर विभेद ग¥यो भन्ने आरोप आयो । मिलाउन साह्रैै गाह्रो । हरबखत ओख्लीमा कुटिएको घान जस्तो, थिच्चिइरहनुपर्ने । जाँतोमा पिसेको पिठो जस्तो पिसिइरहनुपर्ने । दुई नालका सन्तान धेरै हुने पाल्न पनि धौ धौ पर्ने । आपूmले खाई नखाई गधा जस्तो लादिनुपर्ने सन्तान पाल्न । त्यति गरेर अलिकति जोडजाम ग¥यो । अझ सन्तान बढेपछि अंशबन्डामा फेरि लडालड कसको चित्त बुझाउनु ?’

मैले काकालाई जिस्क्याउँदै सोधेँ, ‘काका कुन काकीको धेरै माया लाग्छ नि ?’ काकाले मुसुक्क मुस्कुराउँदै भन्नुभयो, ‘दुवै मेरा लागि बराबर हुन् तर जेठीलाई माया गर्यो कान्छी फ्वाँ गरेर टोक्ने गोमन साप जस्तै गर्छे । कान्छीलाई माया गर्यो, फेरि जेठी फ्वाँ गरेर टोक्ने गोमन साप जस्तै गर्छे । कान्छीलाई फकायो, जेठी ठुस्किन्छे । जेठीलाई फकायो, कान्छी ठुस्किन्छे । खोई कुनलाई फकाउनु ? सधैँ अशान्ति झगडा कलह भयो ।’ मैले भनेँ, ‘निक्कै गाह्रो होइन काका ?’
काकाले हा हा गरेर हाँस्दै भन्नुभयो, ‘जात्रा जानु पर्दैन । कहीँ नभएको भद्रगोलको जात्रा आफ्नै घरमा हुन्छ । उस बेलामा कच्चा बुद्धि थियो । जवानीमा लै लैमा भुल गरियो ।’ मैले अझै जिज्ञासु हुँदै सोधेँ, ‘काकीहरू कत्तिको लड्नुहुन्थ्यो नि ?’

काकाले हाँस्दै भन्नुभयो, ‘सौता सौता लड्ने त कुरै नगरौँ । कति त भुत्लाभुत्ली गर्थे । मलाई छुट्याउन मुस्किल पथ्र्याे । जीवनभर हामी तीनै जनालाई तनाब भयो । बहुविवाह कानुनले पहिले नै बर्जित गर्नुपथ्र्यो । त्यस्तो भएको भए म यो चक्रव्यूहमा फस्ने त थिइनँ । हगिसक्यो, दैलो देख्यो भने जस्तै अब के गर्नु ?’ मैले भनेँ, ‘पछि पछुताएर त के हुनु जे हुनु भइसक्यो ।’ काकाले भन्नुभयो, ‘दुई नालको जिम्मेवारी बोक्नु पहरो बोक्नु समान हो । मैले भनेँ, ‘निक्कै गारो छ होइन त काका ? काकाले भन्नुभयो, ‘कुरै नगरौँ बेथा साह्रो छ । खाडी मुलुकमा आधी शरीर जमिनमा गाडेर टाउकोमा सबैले ढुङ्गा प्रहार गरेर सजाय दिए जस्तो । सबै सन्तति आफैँमाथि खनिन्छन् । सबैको चित्त बुझाउँन गाह्रो हुन्छ ।

मैले भनेँ, ‘त्यसैले सौताने माम्लो भनिएको रहेछ ।’ काकाले भन्नुभयो, ‘हो नि बाबु, एक भुल नै जीवनमा काफी हँुदो रहेछ । यस्तो भुल दुश्मनले पनि नगरोस् । यो पीडा कसैले नदेख्ने । भन्न पनि नमिल्ने । दुई बिहे गरेर के के नै गर्छु भन्थ्यो । ठिक्क पर्यो भन्छ समाजले पनि । खुकुरीको धार अचानोलाई मात्र थाहा हुन्छ ।’ मैले हाँस्दै भने, ‘काका घरै पिँडालु, वनै पिँडालु, ससुराली जाँदा बाह्र हातको पिँडालु ।’ आफ्नो घरको कथा बेथा बल्झेर आएको म । काकाको कथा बेथा झनै साह्रो गाह्रो रहेछ । काकाले हाँस्दै भन्नुभयो, ‘हेर न बाबु हामी पुरुषहरूको पीडा कसले बुझ्ने ?’ मैले हाँस्दै भनेँ, ‘हो नि काका, अहिलेका च्याउ उम्रेका जस्ता सङ्घसंस्था महिला हकहितमा मात्र छन् । हाम्रा समस्या कसले देख्ने ?’

काकाले भन्नुभयो, ‘पुरुषको त दुःख पोख्ने ठाउँ नै छैन । रुँदै हिँड्न नमिल्ने । कसैलाई दुःख पोख्यो भने आफ्नै घरव्यवहार मिलाउन नसक्ने कस्तो नामर्द रहेछ भन्छन् ।’ मैले भनेँ, ‘हो नि काका पुरुषको अस्तित्व जोगाउन कति गाह्रो छ ।’ काकाले भन्नुभयो, ‘अग्निपरीक्षा नै हुन्छ भतिज ।’ यसो घडी हेर्दै भनेँ, ‘काका, नौ बजिसकेछ । जाडो महिनामा नौ बजे नै सुनसान अँधेरो छ । गफमा पत्तै पाइएन समय बितेको, अब त घर जान्छु ।’ काकाले भन्नुभयो, ‘खाना खाएर जा बाबु ।’ मैले भनेँ, ‘होइन काका उतै बुहारीले पकाएकी छिन् । अहिले लागेँ घरतिर ।’

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार