अनेक तनाब भारी नै बोकेको जस्तो । रातमा निद्रै लागेन । भोलिपल्ट बिहान भयो । सूर्यको उज्यालो चारैतिर छरियो । शनिबारको दिन थियो । दिक्क लाग्यो घर बस्न । मामाघरतिर लागेँ । धेरैपछि मामाघर गएको थिएँ । माइजूलाई देख्नासाथ नमस्ते गरेँ । माइजूले खुसी हुँदै मुसुक्क मुस्कुराउँदै नमस्ते फर्काउनुभयो । प्रफुल्लित मुद्रामा माइजूले भन्नुभयो, ‘आज कताबाट भान्जाबाबुले बाटो बिराउनुभयो ?’ मैले पनि मुस्कुराउँदै भनेँ, ‘माइजू हजुरहरूको मायाले भेट्न आएँ ।’
माइजूले खुसी हँुदै भन्नुभयो, ‘हो नि भान्जाभान्जी त झोलीका देउता हुन् । भान्जाभान्जी आएपछि घर नै पवित्र हुन्छ ।’ मैले भनेँ, ‘हो नि माइजू त्यसैले त आएँ नि ।’ माइजूले भन्नुभयो, ‘सुषमालाई लिएर आउनुपथ्र्याे नि भान्जा ।’ माइजूलाई जानकारी दिँदै भनेँ, ‘सुषमा माइती गएकी छिन् । अर्को पटक आउँदा लिएर आउँछु । माइजूले भन्नुभयो, ‘हो नि भान्जा सुषमालाई पनि नभेटेको धेरै भयो । मैले प्रसङ्ग बदल्दै सोधेँ, ‘मामा खोई त माइजू ?’
माइजूले मेरो उत्तर दिँदै भन्नुभयो, ‘के भन्नु भान्जा, मामालाई राजनीति लागेको छ । घर बस्नु नै हुन्न । सधैँ यस्तै त हो । कहिलेको अधिवेशन, कहिलेको चुनाव यस्तै हो । मामालाई सधैँ भ्याई नभ्याई छ । छोराछोरी अस्ट्रेलिया गए । घरमा कोही छैन । बा र म मात्र हुन्छौँ घरमा । मैले भनेँ, ‘हो नि माइजू घरै शून्य भयो । दुवै भाइबहिनी विदेश छन् ।’ माइजूले भन्नुभयो, ‘दुःख बिरामी हुँदा पानी दिने कोही छैन ।
मैले प्रसङ्ग बदल्दै सोधेँ, ‘हजुरबा खोई त माइजू ?’ माइजूले भन्नुभयो, ‘बा कोठामै हुनुहुन्छ । बिहानै जाडो छ । बाहिर निस्किनु भएको छैन । कोठामै चिया लगिदिएँ ।’ कुर्सीबाट उठ्दै मैले भने, ‘माइजू म हजुरबालाई भेट्छु’ भनेर म हजुरबाको कोठातिर लागेँ । हजुरबा बिस्तरामा टुक्रुक्क बसिरहनुभएको थियो । मैले ‘प्रणाम हजुरबा’ भनेँ । उहाँले नियाल्दै ‘प्रणाम’ भन्नुभयो । हजुरबाले एकहोरो हेर्दै भन्नुभयो, ‘मैले चिनिनँ को हुनुहुन्छ बाबु ?’ मैले परिचय दिँदै भनेँ, ‘हजुरको नाति सञ्जय चिन्नुभयो ?’ हजुरबाले टाउको हल्लाउँदै भन्नुभयो, ‘बल्ल चिनेँ बाबु । माइली छोरी राधाको छोरो । आँखा धमिला भए । मान्छे चिन्न गाह्रो हुन्छ ।’
मेरो नजर टक्क हजुरबामा अडियो । हजुरबाका लामा दारीजुँगा, कपाल सेतै फुलेका थिए । गालामा बत्तीस मुजा चाउरी परेको देखिन्थ्यो । श्रीस्वस्थानी व्रतकथाको पात्र शिवभट्ट ब्राह्मण जस्तो । मैले सोधेँ, ‘हजुरबा सन्चै हुनुहुन्छ ? हजुरबाले भन्नुभयो, ‘के सन्चो हुनु बाबु, काल पर्खेर बसेको छु ।’
मैले सान्त्वना दिँदै भनेँ, ‘होइन हजुरबा त्यस्तो भन्नु हँुदैन । काललाई पर्खिनै पर्दैन । काल आउने दिनमा ऊ आफैँ आउँछ ।’ हजुरबाले सही थप्दै भन्नुभयो, ‘त्यो त हो बाबु, तर बुढेसकाल साह्रै पट्यार लाग्दो छ । पल पल बिताउन साह्रै कठिन भइरहेछ । ऊ बेलामा सन्तानले डाँडाकाँडा ढाकून् भन्थे । त्यसैले बाह्र सन्तान जन्माइयो । अहिले दश सन्तान छन् । दुई सानैमा खेर गए । जति सन्तान भए पनि बुढेसकालमा एक्लै ।’
हजुरबाको कुरामा सही थप्दै भने, ‘हो नि हजुरबा बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काधै माथि ।’ विनादाँतको थोता गिँजा देखाउँदै मुसुक्क मुस्कुराउँदै हजुरबाले भन्नुभयो, ‘सही भन्यौ नाति । जति सन्तान भए पनि आफू त एक्लै । बुढेसकाल त नितान्त एक्लिँदो रहेछ । मैले हजुरबालाई सान्त्वना दिँदै भने, ‘हजुरबा हामी छौँ त । एक्लो नसोच्नू आफूलाई ।’
हजुरबाले सिरियस हुँदै भन्नुभयो, ‘यस्तै रहेछ बाबु संसार । कोही भएर हँुदो रहेनछ । छोरा पायो बुहारीलाई, छोरी ज्वाइँलाई हुन्छ । सन्तान आआफ्नो दुनियाँमा हुन्छन् । चाहिँने त जोडा नै रहेछ । बुढालाई बुढी, बुढीलाई बुढा साथ चाहिन्छ । यो राँडो भएर बाँच्नु त ढुङ्गा चपाउनु सरह हो । एक्लो बुढेस काल पलपल मृत्युवरण गर्नु हो । राँडो भएर दुश्मनले पनि बाँच्नु नपरोस् ।’ हजुरबाको कुराले चसक्क बिझायो । मैले सम्झाउँदै भनेँ, ‘हजुरबा त्यस्तो मान्नुहँुदैन । जीवनलाई सहज रूपमा लिनुपर्छ ।
हजुरबाले आँखाभरि आँसु बनाउँदै भन्नुभयो, ‘बाबु बुढेसकाल आफैँ कष्टकर हुन्छ । त्यसमा पनि राँडोपन झनै जटिल छ । बुढी हुँदासम्म कहिल्यै गाह्रो भएन । बुढी सधैँ मेरो ख्याल गर्थिन् । सन्चो बिसन्चो भोको नाङ्गो दुःख सुख बुझ्थिन् । निद्रा नलागे बुढाबुढी गन्थन् गथ्र्यौं । तिम्री हजुरआमा साह्रै बुझ्झकी ज्ञानी थिइन् । उनको सामीप्यमा आनन्दित थिएँ । दैवको लीला उनी पहिला गइन् । उनको परमधाम भयो । म टुहुरो भएँ । श्रीमती आमाको अर्को रूप पनि हो बाबु । नारीबाट हरेक सुखभोग प्राप्त गरिन्छ ।
नारीपुरुष एकअर्काका परिपूरक हुन् । बुढी स्वर्गे भएको दस वर्ष भयो । त्यहाँदेखि म नितान्त टुहुरो भएँ । एक्लो भएँ । मुख बोल्ने कोही छैन । दुख्यो भनेर सुनाउने कोही छैन । शरीर शिथिल भयो । मनको कुरा पोख्ने ठाउँ छैन । भित्रभित्रै गुम्सिन्छु, छट्पटाउँछु । बुढो मानिसको कुरा सुन्न को चाहन्छ र ? जवानहरू आफैँमा व्यस्त, मस्त छन् । एक्लै नाना थरी सोच आउँछ । आफैँ पिरोलिन्छु । टोक्ला जस्तो एक्लोपन छ । पट्यार लाग्दा यी पलहरू छन् । आँखाको ज्योति धमिलो भयो । राम्रो ठम्याउन सक्दिनँ । टाउको दुख्छ, रिँगटा लाग्छ, प्रेसर बढ्छ । शरीरको हरेक पार्ट करकरी खान्छ । मर्ने गरी दुख्छ । रातमा पटक्कै निद्रा पर्दैन ।
अन्धकार रातहरू वर्षौँ लामा हुन्छन् । यी दिन, रातहरू वर्षौं जस्ता लम्बिएका छन् । दिन बिते रात बित्दैन । रात बिते दिन बित्दैन । पलपल तड्पिन्छु । हिँड्न सक्दिनँ । एकैठाउँमा एक्लै बस्दा बस्दा सोचेर दिमाख भरिन्छ । मिठोमसिनु पच्दैन । आहारा पनि घट्यो । शरीरमा शक्ति छैन । कमजोरीले थरथर काप्छु । छिनछिनमै स्मरणशक्ति हराउँछ । कति कुरा याद हुँदैन बिर्सिन्छु । हजुरबाको कुराले मर्माहित हुँदै सोधेँ, ‘हजुरबा हजुरको उमेरका साथी कोही छैन ?’
हजुरबाले गहभरिको आँसु पुछ्दै भन्नुभयो, ‘मेरा उमेरका सबै मरिसके । अब एउटा माथ्लाघरे न्यौपाने छन् । न्यौपाने यहाँ आउन सक्दैनन् । म पनि त्यहाँ जान सक्दिनँ । एक्लोपनले खाउँला जस्तो गर्छ । हिँड्न सकिँदैन । बुढो मानिसको नजिक हुन कोही चाहँदैन । दुःख र दुखीसँग नजिक हुन कोही चाहँदैन । आज भोलिको मानिसमा संवेदना नै छैन । अहिलेको मान्छे बुढाबुढी बिमारी देखेपछि भाग्छन् । अब त पुग्यो जिन्दगी । काल पनि छिटो लिन आउँदैन । कालको प्रतीक्षा गर्दै छु । हेर नाति बाबु, दिक्क छ बुढेसकाल ।
रिक्त छ बुढेसकाल
विरक्त छ बुढेसकाल ।
शिथिलताले गाँजेपछि,
तिक्त छ बुढेसकाल ।’
हजुरबाको वेदनाले मर्माहत हुँदै सान्त्वना प्रदान गर्दै भनेँ, ‘निरास नहुनू हजुरबा । म आउँछु फुर्सदको समयमा । मेरो बैङ्कको जागिर बिहानदेखि बेलुकीसम्म व्यस्त हुन्छु । एकछिन फुर्सद हँुदैन । शनिबार छुट्टीको दिन मिलाएर आउँछु । अर्कोदिन नातिनी बुहारी लिएर आउँछु । मेरा कुराले हजुरबाको अनुहार अलि उज्यालियो । निराशामा आशाको त्यान्द्रो अल्झियो । मुर्झाएको खुसी, पुनः बिउँतियो ।
०००
प्रभातलाई टेकेर समय लम्किरह्यो । गतिशील समय मध्याह्नतिर लम्किँदै थियो । मामाघरबाट ससुरालीतिरको गन्तव्य अपनाएँ । बाइक ससुरालीतिर दगुराएँ । आधा घण्टामै ससुराली पुगेँ । सासूससुरालाई प्रणाम गरेँ । बुढी सासूलाई पनि प्रणाम गरेँ । बुढीहजुरआमा सासूले ‘प्रणाम ज्वाइँ नारायण प्रणाम’ भन्दै प्रणाम फर्काउनुभयो । माघ महिनाको पारिलो घाम लागिरहेको थियो ।
सबै जना बाहिर घाम तापेर बस्दै थिए । सूर्यको तापले आनन्दित तुल्याइरहेको थियो । सासूआमाले कुर्सी दिँदै बस्नू बाबु भन्नुभयो । आज्ञाकारी बालक जस्तै, टुसुक्क त्यही कुर्सीमा बसेँ । सुषमा भित्रबाट मुस्कुराउँदै आइन् । मेरो नजरमा नजर मिलाउँदै भनिन्, ‘आज त तिम्रो होलिडे हो नि ।’ मैले भनेँ, ‘त्यसैले त आएँ नि यहाँ । घाम तापेर बसेकी हजुरआमाका छेउमा बस्दै सुषमाले भनिन्, ‘के छ डियर ?’ मैले भनेँ, ‘मामाघर पसेर आएको । हजुरबासँग धेरैमा भेट भयो । फेरि सुषमाले सोधिन्, ‘के छ त मामा घरको खबर ?’
उनको उत्तर दिँदै मैले भने, ‘सबै ठिकै छ तर हजुरबाले धेरै गुनासो गर्नुभयो । निक्कै समय हजुरबासँग बसेँ । सुषमाले सोधिन्, ‘कस्तो गुनासो हजुरबाको ? यो बुढाबुढीको त गुनासै हुन्छ ?’ मैले सुषमाको कुरामा कुरा थप्दै भनेँ, ‘त्यस्तै त हो बुढेसकाल । एक्लोपन गाह्रो भयो भन्दै हुनुहुन्थ्यो । गन्थन गर्दै रुनुभयो । मेरो कुरा सुन्नासाथ सुषमाकी हजुरआमाले भन्नुभयो, ‘हो नि बाबु बुढेसकाल सजिलो कहाँ हुन्छ र ? विभिन्न रोगले गाँजिसकेको हुन्छ । अझै पुरुषहरूलाई त झनै कठिन हुन्छ । मैले बुढीसासू अर्थात् हजुरआमासँग सोधेँ, ‘हजुरआमा, महिला र पुरुषलाई एकै होइन र बुढेसकाल ?’
हजुरआमाले भन्नुभयो, ‘होइन बाबु । हामी महिलाहरूसँग छोरा, छोरी, नाति नातिनी झ्याम्मिन्छन् । आउँछन् सँगै बस्छन् गफ गर्छन् । वरिपरि हुन्छन् सन्तान । पुरुषहरूसँग त्यस्तो हँुदैन । हजुरबासँग नातिनातिनी गफ गर्ने र लुटुपुटु हुँदैनन् । पुरुष त पुरुष नै हो । पुरुष त सृष्टि धान्ने बीज हो । पुरुष जिम्मेबारी बोक्ने मूल खम्बा हो । अरू सम्पूर्ण भूमिका त नारीकै हुन्छ । नारी र पुरुषसँगको भूमिका नै फरक छ । महिलाले जन्माउने हुर्काउने भएकोले सन्तान सधैँ आमासँग लुटुपुटु हुन्छन् । हजुरआमासँगै नातिनातिना रमाउँछन् । अर्को कुरा महिलामा सहन सक्ने शक्ति हुन्छ । त्यसैले महिलालाई धर्ती भनिएको हो । महिलामा एक्लोपनसँग लड्ने क्षमता हुन्छ तर पुरुषमा एक्लोपनसँग लड्ने क्षमता हँुदैन । एक्लो हुनासाथ पुरुषले आफूलाई सम्हाल्न कठिन पर्छ ।
प्रायः पुरुष पत्नी वियोगमा डिप्रेसनमा पुग्छन् । सँगै बाँच्ने, सँगै मर्ने भने पनि त्यस्तो हँुदैन । कसैको पनि जोडासँगै जाने हँुदैन । जति मायाप्रेम भए तापनि अघिपछि त भइहाल्छ । अन्तिममा वियोगको सामना गर्नैपर्छ । यो त आकाट्य छ । अघिपछि नियतिको नियम नै हो । जीवनको उत्तरार्धमा सबैले भोग्ने यही हो । वृद्ध अवस्थाको विधवाको शोकभन्दा वृद्ध अवस्थाको विधुरको शोक भयानक हुन्छ । त्यो एक्लोपनले मृत्यु नै निम्त्याउँछ ।
हजुरआमाको कुराले संवेदनशील हँुदै सोधेँ, ‘हजुरआमा यौवन अवस्थाका विधुरलाई त्यति कठिन हँुदैन ?’ हजुरआमाले सूक्ष्म ढङ्गले सम्झाउँदै भन्नुभयो, ‘त्यसैले पुरुष मनोविज्ञानअनुसार शास्त्रले विधुर विवाह अनुमति दियो । बच्चा हुर्काउनुपर्ने भएकाले विधवा विवाहलाई बन्देज गर्यो । विधवाले बिहे गरेर बच्चाको बिचल्ल्ली हुन्छ भनेर विभेद गर्यो शास्त्रले । नारीपुरुष प्रकृतिले नै फरक बनाएको छ । शारीरिक, मानसिक दुवै पक्षमा नारीपुरुष फरक छन् । पुरुषले गर्न सक्ने बलका काम नारीले गर्न सक्दैनन् । शारीरिक रूपमा नारीभन्दा पुरुष मजबुत हुन्छन् ।
महिलाहरू मानसिक रूपमा पुरुषभन्दा सबल हुन्छन् । कतिपय नारीले गर्न सक्ने काम पुरुषले गर्न सक्दैनन् । महिलाहरू मानसिक रूपबाट धेरै पक्षको सामना गर्छन् । हरेक सूक्ष्म कुरामा महिलाले निहाल्न सक्छन् । पुरुषहरूको सूक्ष्म कुरामा ध्यान जाँदैन । पुरुषहरूले महिला निर्भरताको आधारमा जीवनयापन गर्छ । त्यसैले एकल पुरुषलाई कठिन हुन्छ । त्यसैले एकल पुरुषले तुरुन्तै बिहे गर्छ । बिहे नगरे पहिले त संन्यास लिन्थे । नारी अत्यधिक सहनशील हुन्छन् । त्यसैले नारीलाई धर्ती भनिएको हो ।
हजुरआमाको संवेदनशील कुरा सुनेर मैले भनेँ, ‘त्यही त हजुरआमा नारीपुरुषमा फरक हँुदो रहेछ । बल्ल थाहा पाएँ । एक्लै जिउन त कठिन रहेछ पुरुषलाई । अझै बुढेसकालको एक्लोपनले छिटै चितामा पुर्याउने रहेछ । हजुरआमाले भन्नुभयो, ‘हो नि बाबु प्रायः पत्नी अघि लगाएका बुढाहरू छिटो संसार छोड्छन् । पत्नी वियोगमै तड्पिँदै मर्छन् । सबै कुरा सुनेपछि सुषमाले भनिन्, ‘बल्ल थाहा पायौ, श्रीमतीको महत्त्व ? तिमी त आफ्नी आमा भएपछि कोही चाहिँदैन जस्तो गर्छौ ? मैले श्रीमतीको कुरा काट्दै भनेँ, ‘त्यस्तो नभन न प्यारी । मनै कटक्क खान्छ ।’
हाम्रो कुरा सुनेर हजुरआमाले भन्नुभयो, ‘सुषमा ज्वाइँ बाबुलाई अप्ठ्यारो नपार । किनकि बाबुले आमालाई पनि मान्नुपर्यो । छोराको भूमिका निर्वाह गर्नुपर्यो । छोराको दायित्व कर्तव्य पालना गर्नुपर्छ । पहिला आमा भएर त तिमी दुई भयौ । अलिकति संस्कार सिक्नुपर्छ सुषमा । त्यस्तो ढोटे बुद्धि चलाएर हुँदैन ।’ हजुरआमालाई जवाफ फर्काउँदै सुषमाले भनिन्, ‘हामी हाम्रो रहरले जन्मिएका हौ र ? बाबुआमाले आफ्नै आनन्दमा जन्माएका त हुन् नि ।’ सुषमाको कुरा सुनेर हजुरआमाले भन्नुभयो, ‘सकिँदैन अहिलेका केटाकेटीसँग बोल्नुहँुदैन । बोल्यो कि पोल्यो ।
कल्पना खरेल