साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।
‘साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,’ उनले भने ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खीर लगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्ध लगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो ।
वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधान, सेवई, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ । नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।
उनका अनुसार उपभोक्ताको माग अनुसार बजारमा दूध उपलब्ध हुनेछ । सरकारले २०७७ सालको फागुनमा निर्णय गरी २०७८ सालदेखि साउन १५ गतेलाई खीर खाने दिवसका रूपमा मनाउन थालेको हो । खीर खाने दिवस मौलिक संस्कृतिसँग जोडिएको दिन पनि हो । परम्परादेखि नै किसानहरूले साउन १५ गते खीर खाने चलन छ ।
रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले असार–साउनको हिलोमा काम गरेका किसानको स्वास्थ्यका लागि खीर लाभदायक हुने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । नेपाल डेरी एसोसिएसनले परिवारका सदस्यहरू सँगै बसेर खीर खाई किसानको उत्पादनको उपभोगसँगै पारिवारिक आनन्दसमेत लिन आग्रह गरेको छ ।
किन खीर खाइन्छ ?
खीर खाने दिनलाई विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खीरको लागि प्रचलित छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको छ ।
परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खीर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् ।
दूधको कमी नहुने यो प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने धारणा छ । भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न गएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखीहरुलाई खीर खुवाउने शर्त राखेका थिए । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझै पनि मन्दिरहरुमा दीनदुखीहरूलाई खीर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ ।
दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खीर बनाउने गरिन्छ । पाली चलनचल्तिमा खीर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे–वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ ।
साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खीरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ । मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ ।
यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्यूवेदमा समेत खीरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ ।
खीर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खीरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खीर पकाउने चलन छ ।
अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरी गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पूर्णिमा यमरी खाने चलन नेवार समुदायमा छ ।
सत्यपाटी