२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday
उपन्यास अंश

‘आगोको ज्वालाजस्तो घरभित्रको द्वन्द्व’

आमाको हात समातेर डोहोर्‍याएँ । मौन रातमा पाइलाहरू लम्किए । ममताभाव दर्साउँदै आमालाई घर फर्काएँ । चकमन्न अन्धकार थियो ।
कल्पना खरेलकल्पना खरेल । उपन्यासकार । २०८२ साउन १२ गते सोमबार

एकातिर आमा रुँदै हुनुहुन्छ । अर्कोतिर श्रीमती रुँदैछिन् । सधैँ सासूबुहारीको कलह छ । दिनहुँ सासूबुहारीको जुहारी नै चल्छ । दुई नारीबिच बेमेल छ । उग्र अशान्ति छ । एकले अर्कोको अस्तित्व स्विकार्न चाहँदैन । घरभित्र नै बिस्फोट भएको ज्वालामुखी जस्तो भान हुन्छ ! खोई के गरौँ ? कसो गरौँ ? कसरी सम्हालौँ ? कसरी शान्त पारौँ ? कसरी यो ज्वाला निभाऊँ ?

यता आफ्नी आमा । उता आफ्नी धर्मपत्नी अर्धाङ्गिनी । खोई कसको कुरा सुनौँ ? थचक्क पिँढीमा बसेँ । पुर्पुरामा हात राख्दै सोचमग्न भएँ । आमा भन्नुहुन्छ, ‘बुहारीले सम्मान गरिन । मुख चलाउँछे । सासूको मानभाउ छैन । घरधन्दा पटक्कै गर्दिन । मोबाइल मात्र चालाउँछे । फोनमै मात्र कुरा गर्छे । टिकटक मात्र बनाउँछे । घरको कुनै जिम्मेवारी छैन । यस्ता बुहारीले कसरी घर चल्छ ?’

यता पत्नी भन्छिन्, ‘तिम्री आमा मलाई देख्न सक्दिनन् । अपजस मात्र दिन्छिन् । जे काम गर्यो खोट लागाउँछिन् । मैले पकाएको मन पर्दैन । कहिले नुन चर्को भयो । कहिले भात साह्रो भयो । कहिले रोटी काँचो भयो । कहिले मिठो छैन । सधैँभरि मैले पकाएको खोट मात्र लगाउँछिन् । अपजस मात्र दिन्छिन् । पुराना नियम मात्र लाद्छिन् ।’

आमा पनि मलाई सुनाउनुहुन्छ । श्रीमती पनि मसँग दुखेसो पोख्छिन् । खोई म कसको कुरा सुनौँ ? म दुई ढुङ्गाबीच च्यापिएको तरुलजस्तो भएँ । दुवै नाताबाट च्यापिएको छु । दुवै नारीबिच निकट सम्बन्ध छ । सासू–बुहारी पटक्कै मिल्दैनन् । मेरो सानु संसार छ । परिवारमा म, आमा र श्रीमती मात्र छौँ । दिदीबहिनीको पहिल्यै बिहे भइसक्यो ! तीन जनाको परिवारमा कलह छ । अशान्ति छ । एकले अर्कोको छायाँ देख्न चाहँदैन । श्रीमती आमालाई देख्न सक्दिनन् । आमा श्रीमतीलाई देख्न सक्दिनन् ।

कुकुर र बिराला जस्ता छन् । खोई के गरौँ ? रातोदिनको ताप ज्वाला बलिरहेछ । श्रीमती रुँदै भन्छिन्, ‘तिम्री आमाको यस्तै यातना दिन ल्याएको ? राम्रोसँग राख्न नसक्नेले किन बिहे गर्नु ? किन अर्काकी छोरीको बिचल्ली पार्नु ?’ आमा भन्नुहुन्छ, ‘बाबु बुहारीले राम्रो गरिन । म कता जाऊँ ? म मर्दिन्छु, नारायणीमा फाल हालेर । आत्माहत्या गर्छु । देह त्याग गरिदिन्छु ।’

आमाको घुर्कीले म आत्तिएँ । दुवैलाई मिलेर बस्नु भन्दै सम्झाएँ बुझाएँ । धेरैपटक सम्झाएँ बुझाएँ, पटक्कै हुँदैन । यति सम्झाउँदा त ढुङ्गाले बुझ्ला सासूबुहारी पटक्कै बुझ्दैनन् । पशु भए पनि समझदारी गथ्र्यो । आआफ्नै अहङ्कारको दम्भ छ दुवैमा । दुवैलाई सम्झाऊँ कसरी ? दुवैलाई बुझाऊँ कसरी ? आफ्नै जुनीलाई धिक्कारेँ । पीडाको आहालमा डुबुल्की मारेँ । कसो गरौँ ? के गरेर सामाना गरौँ यो द्वन्द्व ? देशको दश वर्षे द्वन्द्वभन्दा चर्को द्वन्द्व छ । आगोको ज्वाला जस्तो घरभित्रको द्वन्द्व छ । शान्ति सम्झौता हुनै नसक्ने द्वन्द्व । सासूबुहारीबिचको बेमेलको द्वन्द्व छ । रातदिनको कलह झगडा अशान्ति उग्र छ ।

आमा बुहारीलाई भन्दै हुनुहुन्थ्यो, ‘कस्ताको छोरी आई यो घरमा । न स्वमत छ । न संस्कार छ । न जाँगर छ । श्रीमती आमाको जवाफ फर्काउँदै भन्दै थिइन्, ‘तिमी नै राम्रो घरकी हौली । किन राम्रो केटी हेरेर तिम्रा छोरालाई बिहे नगराएको ? सासूबुहारीको भनाभन झगडा सुन्दै थिएँ । म झागडाको श्रोता भएँ । त्यो जुहारीको प्रत्यक्ष्यदर्शी मै हुँ । म कसको पक्षमा बोल्नु ? आमाको पक्षमा बोल्नु कि, श्रीमतीको पक्षमा बोल्नु ? कसरी इनसाफ गर्नु ? निकम्मा न्यायाधीश भएँ । मेरो अग्निपरीक्षा नै हुँदै थियो ।

आफ्नै घरको कुरा कसैलाई भन्न नमिल्ने । न्याय खोज्न नमिल्ने । खोई कसो गर्नु ? विकल्प विहीन भएँ । दिन दिनको अशान्ति र किचलो । एक दिन रातिको समय थियो । घरमा आमालाई देखिनँ । आमालाई के सनक चल्यो, घर छोडेर निस्किनुभएछ । वरपर काहीँ भेटाउन सकिनँ । सधैँ नारायणीमा फाल हाल्छु भन्नुहुन्थ्यो । खोई कहाँ जानुभयो ? औँसीको अन्धकार रात थियो । कालो चुक पोखिएको जस्तो । घरदेखि तीन किलोमिटर टाढा नारायणी नदी थियो । पक्कै त्यतै त जानु भएन ? म नारायणीतिरै लागेँ । आमा ! आमा ! भन्दै आत्तिँदै बेजोडले दौडिएँ ।

कालो रात मौन थियो । जाडोको चिसो सेरोटो चलिरहेको थियो । शिशिर यामले ठुकठुक मुटु कपाउँदै थियो । सुनसान त्यो कालो रात जागा थियो । दगुर्दै जाँदा नारायणीको बगर आयो । नारायणी घाटमा मुर्दा पोल्दै थिए । केही मलामीहरू सल्बलाइरहेका थिए । बलिरहेको चिताको रापले नदी किनार उज्यालिएको थियो । त्यही उज्यालोले मधुरो छायाँ जस्तो देखियो ।

अलिपर नदी किनारमा मान्छे जस्तो आकृति देखेँ । त्यही आकृति पछ्याउँदै गएँ । अलि नजिक पुगे । आफ्नी आमालाई चिनिहालेँ । आमा नारायणीमा फाल हाल्न ठिक्क हुनुहुन्थ्यो । म आत्तिएँ, कराएँ, दगुर्दै गएँ, ‘आमा आमा के गर्नुभएको ?’ भन्दै च्याप्प समातेँ आमालाई । मैले भनेँ, ‘आमा यस्तो गर्न हुन्छ ? आमाले रुँदै भन्नुभयो, ‘छोड्देऊ बाबु म मर्छु । सधैँ तनावले जल्नुभन्दा एकैपटक समाप्त हुन्छु । म मरेपछि तिम्री श्रीमतीलाई आनन्द हुन्छ । म बाँच्न चाहदिनँ ।’ मैले भनेँ, ‘होइन आमा, त्यस्तो होइन । अर्काकी छोरीलाई त्यस्तो भन्नु हँुदैन । ऊ पनि सारा संसार छोडेर आएकी छ ।’

आमाले अझै रुँदै भन्नुभयो, ‘बाबु तिमी गर्भे टुहुरो हौ । दस महिना गर्भमा राखँे । प्रसव पीडा सहेर जन्म दिएँ । दस धारा दुध पिलाएँ । अरूको मेलापात गरेर पेट भरेँ । कति दुःख गरेर हुर्काएँ । दुःखकष्ट सहेँ । एक्लै हुर्काएँ । एक्लै बढाएँ पढाएँ । एक दिन सुखको दिन आउँछ भनेर त्याग गरेँ । खाई नखाई दुःख गरेर सम्पत्ति जोडिदिएँ । आफ्नो जवानीका इच्छा आकङ्क्षा सबै मारँे । कत्रो रहरले तिम्रो बिहे गरँे । अहिले बुहारी आई तर मेरो अपमान भयो । घरमा उसैको हालीमुहाली छ । उसैको मात्र हैकम चल्छ । तिमीलाई नै मदेखि लुटेर लगी । म कसको साहाराले बाचौँ ?

आमाको कुराले निःशब्द भएँ । मैले भनेँ, होइन आमा तपाईंले बुझ्न गल्ती भयो । त्यस्तो कहाँ हो र ? म सधैँ तपाईंको छोरा हुँ । तपाईंको स्थान कसैले लिन सक्दैन । तपाईं त मेरो जन्मदाता हुनुहुन्छ । तपाईंले नै मलाई यो संसार देखाउनुभयो । आमाले अझै बिलौना गर्दै भन्नुभयो, ‘छोड्देऊ बाबु, मालाई छोड्देऊ । म देवघाट गएर बस्छु । मेरो इच्छा पूरा गर्न दे । कि मर्छु, कि देवघाट गएर बस्छु । म मरे पनि घर फर्किन्नँ । मलाई स्वतन्त्र हुन देऊ । त्यो बुहारी भानाउँदीसँग मरे पनि बस्दिनँ । त्यो आइमाईको मुख हेर्दिनँ । मलाई देह त्याग गर्न देऊ ।’ मैले आमालाई सम्झाउँदै भनेँ, ‘होइन आमा मेरो माया लाग्दैन तपाईंलाई ? किन यस्तो गर्नुहुन्छ ?’ आमाले अबुझ हँुदै भन्नुभयो, ‘तिमीलाई माया गर्ने तिम्री प्यारी छिन्, अब म किन चाहियो । अब मेरो आवश्यकता नै छैन । उसैसँग खुसी भएर बस, छोडिदेऊ मलाई ।’

आमाले बालहठ जस्तै हठ देखाउनुभयो । वृद्धहठ जनाउनुभयो । मैले आमालाई फकाउँदै भनेँ, ‘आमा बिन्ती छ, यस्तो नगर्नु, घर जाऊँ । रातको बेलामा हरेक प्राणी बास बस्छन् । तपाईं यस्तो राति घर छोडेर हिँड्नु हुन्छ ? घरमुली भएर । तपाईंको छोरो म छु नि आमा चिन्ता नगर्नू । हिँड्नु घर जाऊँ सारै जाडो भयो । आमालाई मायाको भाव दर्साएँ । आमाको मजेत्रो राम्रोसँग मिलाएर ओढाइदिएँ । आमाको आँखाको आँसु पुछेँ । सुमसुम्याएँ, फकाईफुल्याई गरेँ । आमा अझै भक्कानिनुभयो । मातृत्वभाव छचल्कियो । नारीहृदय गर्मी यामको हिउँ जस्तै पग्लियो ।

आमाको हात समातेर डोहोर्याएँ । मौन रातमा पाइलाहरू लम्किए । ममताभाव दर्साउँदै आमालाई घर फर्काएँ । चकमन्न अन्धकार थियो । रातिको बाह्र बजे मध्यरात गतिशील थियो । वरिपरिको दृश्य अन्धकारले पर्दा लगाइरहेको थियो । मोबाइलको लाइटले गन्तव्यतिर डोहोर्याइरह्यो । आमाछोरा घर पुग्यौँ । आमालाई कोठामा पुर्याएँ । आमालाई मायाभाव दर्साउँदै भनेँ, ‘आमा सुत्नू, केही चिन्ता नलिनू ।’ आमा बिस्तारामा पल्टिनुभयो । म आफ्नो कोठामा गएँ । पत्नीको न्यानु अँगालोमा परेँ । भुसुक्कै निदाएँ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार