बङ्गालको खाडीमा विकसित भएको ‘अर्नब’ आँधीको असर आजैबाट नेपालमा पनि देखिन सुरु हुने भए पनि यसको असर यसअघिको आकलनभन्दा कम हुनसक्ने अधिकारी र मौसमविद्हरूले बताएका छन् । भारतको विशाखापटनम नजिकबाट जमिनमा बज्रने यो आँधीको असर नेपाल आइपुग्दा घटिसकेको हुन सक्ने ठानिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारी अधिकारीहरूले नेपालमा उक्त चक्रवात निकै तीव्र बेगमा भित्रिने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘अर्नब’ आँधीले समुद्रबाट भारतको बाटो हुँदै ल्याउने जलवाष्पले निम्त्याउन सक्ने वर्षा र हिमपातको मात्रा पछिल्ला प्रवृत्तिहरूको विश्लेषणबाट मात्रै यकिन गर्न सकिने मौसमविद्हरू बताउँछन् ।
‘यो नेपाल नजिक आउँदा धेरै कमजोर भइसक्ने र धेरै कमजोर न्यून चापीय क्षेत्रका रूपमा रहने देखिन्छ । हाम्रामा आउँदा अझै कमजोर हुन सक्ने सम्भावना रहन्छ,’ जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले मङ्गलवार भनिन्, ‘तर यसको बाटोमा नेपाल देखिने भएको हुनाले हामीले सतर्कता अपनाउनुपर्ने हुन्छ ।’
बदलिँदो पूर्वानुमान
नेपाल आउँदा आँधीको तीव्रता घटे पनि यसले नेपालको हिमाली क्षेत्रमा धेरै हिउँ पार्न सक्ने मौसमविद्हरूले बताएका छन् । विभागको सोमवारको पूर्वानुमानमा नेपालका सबै हिमाली जिल्लामा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको थियो ।
तर मङ्गलवारको पूर्वानुमानमा मुस्ताङभन्दा पूर्वका हिमाली जिल्लामा मात्रै उच्च जोखिम औँल्याइएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्मै पूर्वसावधानी अपनाउन जरुरी रहेको विभागकी प्रवक्ता पोखरेलले बताएकी छन् । ‘पश्चिमतर्फ पनि जोखिम नभएको चाहिँ होइन । यो पूर्वानुमान परिवर्तन पनि हुन सक्छ,’ पोखरेल भन्छिन् ।

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल यो आँधीले वर्षा र हिमपात निम्त्याउने प्रणाली भारतको बिहार र उत्तर प्रदेशको बीच भागतिरबाट भैरहवाआसपास हुँदै नेपाल प्रवेश गर्न सक्ने पूर्वानुमान प्रणालीहरूले देखाएको बताउँछन् ।
‘बुधवारबाट नै नेपालमा बादल लाग्ने अनुमान गरिएको छ । बिहीवार त्यसले केही वर्षा गराउँछ । शुक्रवार चाहिँ लुम्बिनीदेखि कोशी प्रदेशसम्म यसको तीव्रता बढ्ने देखिन्छ,’ सहप्राध्यापक सिग्देल भन्छन् ।
मुख्य जोखिम कहाँ ?
अर्नब आँधीले नेपालका लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा र ती प्रदेशका माथिल्ला हिमाली क्षेत्रमा हिमपात गराउन सक्ने मौसमविद्हरूको पूर्वानुमान छ । ‘शुक्रवार उत्तरी क्षेत्रमा बाक्लै हिमपात गराउन सक्ने सम्भावना छ । शनिवार चाहिँ पूर्वतिर केन्द्रित हुने तर तीव्रता केही घट्ने देखिन्छ,’ सिग्देल भन्छन् ।
आँधीले निम्त्याउने प्रणालीका कारण बिहीवारबाट सुरु हुने वर्षा शुक्रवार उत्कर्षमा पुग्ने र शनिवारबाट कमजोर हुने मौसम विज्ञान विभागको पनि आकलन छ । यो आँधीका कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको भन्दै सतर्कता अपनाउन अधिकारीहरूले नागरिकहरूलाई आग्रह गरेका छन् ।
विभागकी प्रवक्ता पोखरेल उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको समेत जोखिम रहन सक्ने भन्दै हिमाली क्षेत्रमा पदयात्रामा जोखिम हुन सक्ने बताउँछिन् । पोखरेलले पदयात्रीहरूलाई उक्त समय सुरक्षित स्थानमा फर्कन वा यात्राको योजना स्थगित गर्न सुझाव दिएकी छन् ।
विज्ञहरूले पानीले खास गरेर भित्र्याउने अवस्थामा पुग्न लागेको धानबालीमा नोक्सान गर्न सक्ने भएकाले त्यसतर्फ पनि ख्याल गर्न किसानहरूलाई सचेत तुल्याएका छन् । मौसम पूर्वानुमान महाशाखाले धान काट्ने याम भएका कारण किसानहरूलाई पनि त्यहीअनुसार योजना बनाउन आग्रह गरेको छ ।
यसअघि असोजमा बङ्गालको खाडीमा यस्तै चक्रवात बन्ने आकलन गरिए पनि त्यसले चक्रवातको रूप लिन सकेन । यद्यपि त्यसले पनि नेपालमा वर्षा गराएको थियो । अहिलेको चक्रवातले केही स्थानमा असोजको भन्दा धेरै वर्षा र हिमपात गराउन सक्ने सहप्राध्यापक सिग्देल बताउँछन् । ‘असोजको प्रणालीभन्दा धेरै शक्तिशाली भएका कारण जलवाष्प पनि धेरै ल्याउँछ भन्ने छ,’ सिग्देल भन्छन् ।
