२०८३ कात्तिक १२ , बुधबार 28, October 2026, Wednesday

शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम, आज कस्तो छ मौसम ?

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्‍याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ ।

अर्णव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्णव’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ । सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ ।

देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ । साथै बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मुस्ताङ र आसपासका क्षेत्रमा पदयात्रा नगर्न अनुरोध

मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् । गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले प्रशासनले पर्यटकलाई सतर्क रहन आग्रह गरेको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । यस्तै लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै पर्यटक तथा सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटनामा पर्न सक्ने र सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गरेका छन् । मौसम अनुकूल नभएसम्म पर्यटक तथा सर्वसाधारण नागरिकलाई कोरला नाकातर्फको यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार