२०८३ कात्तिक ११ , मंगलबार 27, October 2026, Tuesday

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन भूभागमा कस्तो असर ?

बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक अति शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस चक्रवातको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी पर्ने तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा हुनसक्नेछ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।

वर्षाको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार क्षेत्रमा उल्लेख्य वर्षा भई जलसतह बढ्न सक्ने चेतावनी दिएको छ । प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम महाशाखाले हिमाली क्षेत्रमा जाने पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त स्थानमा नजान र गइसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । त्यसैगरी किसानहरूलाई बिहीबारअघि नै पाकेको धानबाली भित्र्याउन तथा जोखिमयुक्त सडक र पहिरो जान सक्ने क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाइएको छ । यसैबीच, भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा पनि चक्रवातलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।

भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्नेछ, जहाँ निरन्तर ११५ देखि १२५ किलोमिटर प्रतिघन्टा र झोक्का १४० किलोमिटरसम्मको हावाहुरी चल्न सक्नेछ । जोखिमयुक्त क्षेत्रमा सेना, जलसेना, वायुसेना र विपद् प्रतिकार्य बललाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ भने तटीय क्षेत्रका केही जिल्लामा शिक्षण संस्था बन्द गरिएका छन् । भारतमा पर्ने यो प्रत्यक्ष प्रभावको अवशेष उत्तरपश्चिम भारत हुँदै नेपालतर्फ सर्न सक्ने र अर्को पश्चिमी वायु प्रणालीसँग अन्तरक्रिया हुँदा नेपालमा वर्षा झनै तीव्र हुन सक्ने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार