नेपाल प्रिमियर लिग (एनपीएल) नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बनाउने सशक्त आधार बन्दै गएको छ । एनपीएलको तेस्रो संस्करणसम्म पुग्दा यस प्रतियोगिताको अर्थतन्त्रको आकार समेत ह्वात्तै बढेको छ । दोस्रो संस्करणमा आधा अर्ब रुपैयाँ हाराहारी मात्र आम्दानी गरेको एनपीएल तेस्रो संस्करण पुग्दा धेरै माथि उक्लिरहेको तथ्यांकले देखाउँछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले चैत २०८२ मा सार्वजनिक गरेको विवरण अनुसार दोस्रो संस्करणमा प्रतियोगिताको कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँ बराबर थियो । प्रतियोगिताको लागत २१ करोड ९६ लाख रुपैयाँ थियो । लागत कटाएर भएको खुद आम्दानीमध्ये गत सिजनमा क्यानले १६ करोड १८ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरेको थियो ।
बाँकी नौ करोड २१ लाख भने क्यान आफैंले आम्दानी गरेको थियो । उता, एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख आम्दानी भएको थियो । तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ ।
तेस्रो संस्करणमा प्रायोजक र टिकट बिक्रीमार्फत क्यानले ७० करोड रुपैयाँ बराबर आम्दानी गर्ने अनुमान गरिएको छ । योभन्दा बढी फ्रेन्चाइज टिमहरूले कारोबार गर्नेछन् । हरेक क्लबले यस वर्ष औसत १५ करोड हाराहारी खर्च गर्ने अनुमान छ । गत सिजनमा ८ देखि १० करोड हाराहारी औसत खर्च गरेका थिए ।
यही आधारमा हेर्दा एनपीएल अवधिमा डेढ अर्बमाथिको प्रत्यक्ष कारोबार हुने उनको भनाइ छ । अप्रत्यक्ष कारोबार आकार त्यसभन्दा धेरै माथि हुनेछ । यस संस्करणमा क्यानले प्रसारण अधिकारबाट मात्र झन्डै ३३ करोडभन्दा बढी आम्दानी गरिसकेको छ । जसमा हिमालय स्पोर्टस्बाट १४ करोड ६४ लाख प्राप्त गरेको क्यानले नेटटिभीबाट १८ करोड चार लाख आम्दानी गरेको छ ।
त्यसैले एनपीएल केवल एक खेल उत्सवमात्र होइन, यो राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउने सशक्त आधार पनि बन्दै गएको छ । एनपिएल अवधिभर विश्वका नामी खेलाडी, प्रशिक्षक, प्रसारणकर्मी र हजारौं दर्शकको आगमनले होटल, यातायात, रेस्टुरेन्ट, पर्यटन र स्थानीय व्यवसायमा नयाँ जीवन्तता प्रदान गरेको छ । यसले बाढीबाट सुस्ताएको अर्थतन्त्रमा ठूलो राहत थपिने सम्बद्ध पक्षहरुको अपेक्षा रहेको छ ।
प्रतियोगिताले नेपालको खेल पर्यटनमा समेत विशिष्ट योगदान गर्ने छ । नेपालका होटलहरूले एक महिनासम्म गुणस्तरीय पाहुना प्राप्त गर्नेछन् । त्यसमार्फत अर्थतन्त्रका अन्य अवयव चलायमान हुनेछन् । एक फ्रेन्चाइज टोलीमा ३० देखि ३५ जनासम्मको समूह हुन्छ । खेलाडी सहित प्रशिक्षक, सपोर्ट स्टाफदेखि भिडियोग्राफरसम्मको टोलीलाई टिमहरूले अलग–अलग होटलमा राखेका छन् ।
हानका अनुसार प्रतियोगिता सुरु हुनु एक साता अघिदेखि नै टोलीका सदस्यहरू क्लोज क्याम्पमा बसेका हुन्छन् । सोहीकारण कम्तीमा डेढ महिनाका लागि टोलीले होटल बुक गरेको हुन्छ । एक टिमले यस अवधिमा न्यूनतम ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म होटलमा खर्च गर्ने श्रेष्ठ बताउँछन् । एक टिमले यस अवधिमा कम्तीमा २५ देखि ३० वटा कोठा अकुपाइ गर्छन् । त्यसमध्ये विदेशी खेलाडी र टिमका विशिष्ट सदस्यका लागि औसतभन्दा महँगो पर्ने कोठा बुक गरिन्छ ।
सोहीकारण होटल व्यवसायी एनपीएलाई एक प्रकारको उत्सव मान्छन् । अहिले टिमहरूले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढाएका छन् । त्यसमार्फत होटलको समेत प्रचार प्रसार हुन्छ । ‘एक होटलले निरन्तर व्यापार पाउने वातावरण बन्दा कृषिसहित धेरै क्षेत्रको एकसाथ व्यापार बढ्छ । त्यसैले यस प्रतियोगिताले समग्रमा मुलुकको अर्थतन्त्रमा योगदान गर्दछ ।
प्रतियोगिता अवधिकम जर्सी र एसेसरिजको बढ्दो व्यापार हुने गर्दछ । रंगशालामा आफ्नो टोलीको समर्थनमा जाने फ्यानले लगाउने जर्सीको माग बढ्दो छ । यस्ता जर्सी अहिले धेरैजसो अनलाइन प्ल्याटफर्मबाट बिक्री भइरहेका छन् । एनपीएलको अर्को सकारात्मक पक्ष खेलाडी र उनीहरूको परिवारको आर्थिक अवस्था सुधार पनि हो । एनपीएलमा सहभागी खेलाडीले आफ्नो टोलीबाट आकर्षक पारिश्रमिकसँगै थप प्रशिक्षण, स्पोन्सर र अन्य अवसर पाएका छन् ।
यसले अन्ततस् राष्ट्रिय टोलीको निखारमा समेत सहयोग पुग्छ । प्रतियोगिताले राष्ट्रिय अर्थतन्त्रमा मात्र योगदान पुर्याएको छैन स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ । कीर्तिपुर क्रिकेट रंगशाला आसपास हरेक दिन हजारौं दर्शक पुग्छन् । उनीहरूका माध्यमबाट त्यस भेगको स्थानीय अर्थतन्त्र प्रत्यक्ष–अप्रत्यक्ष चलायमान भइरहेको हुन्छ । स्थानीय खाजा पसलमा खाजा, पानी, सफ्ट ड्रिंक र चिया–कफी बिक्री बढ्छ ।
