२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ । मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ ।

देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको पाइन्छ । महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथ मण्डल परम्परादेखि बैलगाडामा सामान आोसार्ने कामलाई अहिले पनि निरन्तरता दिइरहेको बताउछन् ।

उनले भने, ‘मलाई याद भएदेखि घरमा बैलगाडा छ । दुई दशक अघिसम्म पनि टोलको अधिकांशको घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो । कतै यात्रा गर्न, सामान ओसार्न, जन्तीजान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो ।’

तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न बैल अर्थात गोरुकै प्रयोग हुँदै आएको राजविराज नगरपालिका–१३ का किशुनदेव यादवले बताए । सहरी र सुगम क्षेत्रमा भने प्रविधिको विकाससँगै खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टरको प्रयोग हुँदै आएको छ ।

उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी–पिसानीका बस्तु गोरु गाडामा राखेर ओसारपसार गर्ने कार्यले मधेसको ग्रामिण क्षेत्रको मौलिकता झल्केर दिने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवले बताइन् ।

उनले भनिन्, ‘परम्परादेखि चली आएको बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण सवारीका रुपमा लिने गरिन्थ्यो । यसको प्रयोग खासगरी वर्षादको तुलनामा हिउँद महिनामा बढी प्रयोग गरिन्थ्यो ।’

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार