कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाएका छन् । दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् ।
गाउँ फर्किएर कृषि उद्यममा लागेका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन् । उनले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गरेका थिए । अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम भएको उनको भनाइ छ ।
श्रीसले भने, ‘नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो ।’ उनले थपे, ‘पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।’ दुईवटा बाख्रा र एक लाख लगानीबाट उनले ६ वर्षअघि व्यवसाय सुरु गरेका थिए । अहिले फार्ममा ३० बाख्रा छन् ।
उनी वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्छन् । खरी र जमुनापारि जातका बाख्रा पालेका उनले व्यावसायिक पशुपालनलाई निरन्तरता दिएका छन् । सुरुमा बाख्रापालन सहज भएन । ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुपर्यो । तर, उनले हिम्मत हारेनन् र व्यवसायलाई निरन्तरता दिए ।
अहिले उनको फार्म व्यवस्थित बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरिएको छ । बाख्रापालनसँगै उनले सुन्तला खेतीलाई पनि विस्तार गरेका छन् । परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाइएको छ । ती बोटले उत्पादन दिन थालेका छन् ।
खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाइएको छ । यसले पशुपालनलाई सहज बनाएको छ । उनले मौरीपालन पनि सुरु गरेका छन् । अहिले उनसँग १६ वटा मौरीका घार छन् । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछा पाल्न थालिएको छ । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ ।
श्रीसको कृषि यात्रा व्यक्तिगत आम्दानीमा मात्र सीमित छैन । उनको अगुवाइमा नमुना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ । बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा संलग्न छन् ।
उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ । सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उनले सहयोग पाएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।
मध्यमवर्गीय परिवारमा जन्मिएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोजेका हुन् । केही समय उनले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गरेका थिए । तर, अहिले उनको मुख्य ध्यान कृषि र पशुपालनमा केन्द्रित छ । बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उनको समय बित्छ । फुर्सदको समय पनि फार्ममै बिताउने उनी कृषि कर्मसँगै स्थानीय सामाजिक गतिविधिमा समेत सक्रिय छन् ।
परिवारका सदस्यले उनलाई साथ दिएका छन् । श्रीसको जीवनयात्रा कृषि उद्यमबाट सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उनी नेकपा माओवादीमा आबद्ध थिए । विसं २०५८ देखि भूमिगत राजनीतिमा सक्रिय भएका उनी तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा राजनीतिक गतिविधिमा संलग्न रहे ।
विसं २०६३ मा उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बने । त्यसपछि विसं २०६४ देखि २०७० सम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गरे । संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उनी जन्मथलो बरंजा फर्किए । त्यसपछि कृषि उद्यमलाई जीवनयापनको आधार बनाइएको हो । श्रीस अहिले पनि राजनीतिमा सक्रिय छन् ।
उनी हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हुन् । राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उनको योजना छ । श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादन मात्र बढाउँदैन, गाउँमै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छ । पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उपयोग गर्न सके किसानले आफ्नै गाउँमा आम्दानी गर्न सक्छन् भन्ने उनको विश्वास छ ।
