सोलुखुम्बुका कुमार राई व्यवसायको सिलसिलामा काठमाडौँ बस्न थालेको २४ वर्ष भयो । अहिले परिवारसहित काठमाडौँमा बस्दै आएका राई व्यावसायिक कामकै लागि कुनै सरकारी कार्यालय जाने क्रममा बाइकमा यात्रा गर्दैगर्दा नागरिकता हरायो । खोजी गरे पनि उनको नागरिकता भेटिएन । उनलाई गाउँ जाने खासै काम पर्दैन तर नागरिकताको प्रतिलिपि लिन भने सोलुखुम्बु जानैपर्ने बाध्यता थियो ।
एकातिर व्यवसाय अर्कोतर्फ परिवारको रेखदेख पनि गर्नुपर्ने जिम्मेवारीले गर्दा उनले नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला सोलुखुम्बु जान पाएका थिएनन्, तर अब भने सरकारले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकता लिन सकिने व्यवस्था गरेको छ । जसले गर्दा राई जस्ता थुप्रै नागरिकलाई सजिलो हुने भएको छ ।
‘अब त यहीँ (काठमाडौँ)बाट पनि नागरिकताको प्रतिलिपि लिन पाइन्छ भन्ने सुनेको छु, यो त हामी जस्ता टाढा घर हुनेका लागि धेरै नै ठुलो सुविधा हो,’ राईले भने । यस्तै बाजुराका श्याम विक काठमाडौँमा स्नातक तहमा अध्ययन गर्दै छन् । विदेश जाने सोचमा रहेका विकको नागरिकताको प्रमाणपत्र पानीले भिजेर काम नलाग्ने भयो ।
नागरिकताको प्रतिलिपि बनाउन गृहजिल्ला जान नसकेर बसेका विकले अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि बनाउन सकिने समाचारमार्फत थाहा पाएपछि खुसी भएका छन् । ‘बाजुरा जान तीन दिन लाग्छ, कसरी जाने, पैसा पनि धेरै खर्च हुन्छ । यतैबाट बनाउन मिल्ने व्यवस्था सरकारले गरेको सुनेको छु । अब वडाबाट सिफारिस मगाएर यतैबाट प्रतिलिपि बनाउँछु,’ विकले भने ।
सरकारले नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवालाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने, नागरिकता तथा राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सक्ने व्यवस्था गर्ने लक्ष्य अनुसार नियमावली नै संशोधन गरेको छ ।
जसका लागि नेपाल नागरिकता ‘पाँचौँ’ संशोधनमार्फत अबदेखि नागरिकता प्राप्त गरेका जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नेपाली नागरिकताको प्रतिलिपि तथा गैरआवासीय नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले २०८२ चैत १३ गतेको मन्त्रीपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गर्दै जनताको सहजताका लागि आफूले नागरिकता प्राप्त गरेको जिल्लाभन्दा बाहेकका अन्य जिल्लाबाट पनि प्रतिलिपि लिन सकिने व्यवस्था गर्ने उल्लेख गरेको थियो ।
हाल मन्त्रीपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावलीमा आगलागी भई वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक भएमा, नेपाली नागरिकताको प्रमाणपत्र वा गैरआवासीय नेपालीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन चाहने व्यक्तिले आफूले प्रमाणपत्र प्राप्त गरेकोबाहेक आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्ने व्यवस्था छ ।
हराएमा वा नष्ट भएमा नेपाली नागरिकताका लागि स्थानीय तहको सिफारिससहित राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जासहित निवेदन दिनुपर्नेछ भने गैरआवासीय नेपालीका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र हाल बसोबास गरेको देशको राहदानी पेस गर्नुपर्ने छ ।
नेपाली नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले पेस गरेको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसँग रुजु गरी सो विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा भएको विवरणसँग यकिन गरी नागरिकता व्यवस्थापन सूचना प्रणालीमा भएको विवरण अनुसारको विवरण उल्लेख गरी प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रतिलिपि उपलब्ध गराउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौँ उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकका हकमा तीन वटा जिल्लाबाट नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई प्रतिलिपि प्रदान गरिनेछ ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई जिल्ला प्रशासन कार्यालय ललितपुर तथा कोशी र मधेश प्रदेशका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकताको प्रतिलिपि प्रदान गरिनेछ । प्रजिअ पौडेलले अभिलेखमा उल्लेख भएभन्दा सच्याएर प्रतिलिपि लिन चाहने व्यक्तिले जुन जिल्लाबाट नागरिकता जारी भएको हो, सोही जिल्लामा सम्पर्क गर्नुपर्ने बताए ।
