२०८३ कात्तिक १२ , बुधबार 28, October 2026, Wednesday

सौराहामा बढ्यो पर्यटकीय चहलपहल

पछिल्लो समय चितवनको सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दसैँ बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । दसैँको आरम्भका दिनमा अपेक्षा अनुसार आन्तरिक पर्यटक नआए पनि क्रमश: पर्यटकको आगमन उल्लेख्य बढेको छ ।

पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् । सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताए । पर्यटकको आगमन बढेपछि होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उनको भनाइ छ । गिरीले अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी भएको बताए ।

उनले भने, ‘कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ ।’ पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उनले पछिल्लो समय पाहुनाको चाप बढेको बताए । सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताए ।

पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उनले जानकारी दिए । उनका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उनले बताए । उनले भने, ‘पाहुनालाई कोठा पुर्‍याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन् ।’

पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । उनले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच लगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताए । उनले अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको बताए ।

उनले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गरे । सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालनमा रहेका छन् । राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । पर्यटकको माग अनुसार हात्ती सफारी लगायतका सेवा उपलब्ध गराइने तिवारीले बताए । उनले भने, ‘यसपटक मेरो अनुभवमा गत वर्षभन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ ।’

यसले पर्यटन व्यवसायीलाई ठुलो राहत र नयाँ उत्साह दिएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताए । उनका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ । उनले भने, ‘हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहा लगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ ।’

भोटेकोशीमा आएको बाढी लगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उनले बताए । बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उनको भनाइ छ । सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार