२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

आजदेखि शुक्र अस्त, दशैंमा टीका जमरा लगाउन बाधा नपर्ने

आज दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन् । यस अवधिमा नेपालीहरूको महान् चाड बडादशैँ परेपनि दसैँको पूजाआजा गर्न तथा टीका–जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ । शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ ।

त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा माङ्गलिक कार्यहरू गरिँदैन । बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको तीन दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ ।

तर, शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकतोक हुँदैन । यस अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्य व्रत, तुलसी पूजा एवं विवाह, तुलसीको मठमा हवन, रामनवमी आदिका व्रतजस्ता नित्य कर्मका साथै श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया र ग्रहणस्नानादि कर्महरू गर्न सकिन्छ ।

साथै, यसै बिचमा बडादसैँ परेकाले देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिन गरिने नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, साधना, अष्टमीको बली पूजा, हातहतियार पूजा तथा देवी विसर्जन गरी दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न कुनै शास्त्रीय बाधा पर्ने छैन ।

यद्यपि, शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यहरूको थालनी गर्न भने शास्त्रले निषेध गरेको छ । यस समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण, गृहारम्भ वा गृहप्रवेश, मन्दिर निर्माण, देवता स्थापना, प्राणप्रतिष्ठा, चान्द्रायणादि व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि महादान, व्रतबन्ध, विवाह तथा कर्णवेधजस्ता संस्कार गर्न हुँदैन ।

त्यस्तै कहिल्यै नगरिएको देवताको दर्शन, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, अग्निहोत्र, राज्याभिषेक र समावर्तनजस्ता कार्यहरू पनि शास्त्र अनुसार वर्जित मानिएका छन् । ज्योतिष शास्त्रमा शुक्रलाई सवारी साधन र विलासिताको समेत कारक ग्रह मानिने भएकाले यस अवधिमा सकेसम्म नयाँ सवारी साधनको खरिद–बिक्री नगर्नु राम्रो हुने र विलासी जीवनशैली तथा सामानको प्रयोगमा सचेत रहनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार