२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्, ‘बाँच्छौँ होला झैं लागेको थिएन, तर बाँच्यौँ’

गोरखाको चुमनुब्री–३, सल्लेरी बजारका मानिसहरू निद्रामै थिए । कल्पना गुरुङको मोबाइलमा घण्टी बज्यो । माइतबाट भाइले फोन गरेका रहेछन् । ‘दिदी, खोलामा बाढी आयो, पाखातिर भाग भन्दै चिच्याउन थाले । बोल्दाबोल्दै भूकम्प आएजस्तै घर थर्किन थाल्यो । ठूलो आवाज आयो ।

‘सुतिरहेको बच्चा च्यापेर अँध्यारोमा लड्दै, घिसारिँदै माथितिर भाग्यौँ,’ नेपाली सेनाले उद्धार गरी सल्लेरीबाट गोरखाको आरुघाट कभर्डहल आइपुगेकी कमला गुरुङ भन्छिन्, ‘ज्यान त बचायौँ, अरू सबै बग्यो । भाइको फोन आउन एक मिनेट ढिलो भएको भए मर्ने रहेछौँ ।’ कमला गुरुङलाई पनि बिहान निद्रामै ससुरा (मामा)को फोन आयो ।

‘खोलामा बाढी आयो, तुरुन्तै भाग’ भन्दै कराउन थालेपछि ओछ्यानमा सुतिरहेको दूधेबालक छोरालाई तानेर उनी भाग्न थालिन् । बच्चा च्यापेर उकालो भाग्दै गर्दा अत्तालिएर लडिन् र उनको हातबाट बच्चा छुट्यो । तर, पछाडिबाट आएका छिमेकी भाइले बच्चा टिपेर माथि पुर्‍याइदिएपछि ठूलो अनिष्ट टर्‍यो ।

त्यो भयावह क्षण सम्झिँदै कमला भन्छिन्, ‘अलि माथि पुगेर पछाडि फर्केर हेर्दा सबै बगाइसकेछ । बाँच्छौँ होलाजस्तै लागेको थिएन, तर बाँच्यौँ ।’ बिहानपख बाहिर मानिसहरू कराएजस्तो लाग्यो । ब्युँझिँदा ‘खोलामा ठूलो बाढी आयो, भाग, भाग’ भन्ने आवाज सुनियो । सिरक फालेर अरूसँगै दौडिएँ ।

‘बाढीको आवाज सुन्दा हामी त बाँच्छौँ जस्तो लागेकै थिएन । बगाएरै लैजान्छ होला जस्तो लागेको थियो, तर भाग्यले बाँच्यौँ,’ भागेरै ज्यान बचाएकी कोपिला गुरुङ भन्छिन्, ‘पैसा र सुनहरू थियो, त्यो निकाल्ने त कुरै थिएन, ज्यान जोगाउनु नै मुख्य कुरा भयो ।’

‘निद्रामै थिएँ, अँध्यारोमा आँखा नदेखिने । कहिले कता ठोक्कियो, कहिले कता ठोक्कियो । कोही नाङ्गै भाग्यो । कपडा, चप्पल पनि टिप्न भ्याएनन् । सल्लेरीभन्दा माथि डाँडामा घर थियो, सबै जना त्यहीँ गएर बस्यौँ । अहिले हेलिकप्टरले त्यहीँबाट लिएर आयो,’ कोपिलाले घटनाक्रम सुनाइन् । हुन त यसअघि पनि दुई–तीन पटक ‘बाढी आयो’ भनेर सूचना आइरहन्थ्यो ।

‘त्यतिबेला दिउँसो थियो, बाहिरतिर हेर्दै सचेत रहन्थ्यौँ । अहिले त सबै बगायो,’ कमलाले सुनाइन् । बाढीले बस्ती नै बगाएपछि उनी काठमाडौंमा आफन्तकोमा बस्न जान लागेको बताउँछिन् । आफ्नो भएको घर, जग्गाजमिन बाढीले नक्सासमेत नरहने गरी बगायो । उनीहरूसँग लगाउने एकसरो कपडा र एक जोर चप्पलसमेत छैन ।

छिमेकी गाउँका मानिसले दिएका कपडा लगाएर बसिरहेको बेला सेनाले उद्धार गरेर ल्याइदिएको कल्पनाले बताइन् । सल्लेरी बजारका सबैको कथा कल्पना, कमला र कोपिलाको जस्तै मर्माहत र पीडादायी छ । कोही बाढीको आवाज सुनेर आफैँ ब्युँझिए । कसैलाई आफन्तहरूले उठाए । एकै ठाउँमा झुपुक्क बसेको बस्ती भएकाले एकअर्काबीच पनि छिटो खबर फैलियो ।

कल्पना र कमलालाई आएका एक–एक फोन कल नै उनीहरूको जीवन बचाउने माध्यम बने । आफन्तको त्यो फोन समयमा नआएको भए सल्लेरीमा ठूलो मानवीय क्षति हुने निश्चित थियो । बाढीले सर्वस्व खोसे पनि ज्यान बचाउन सफल भएकोमा उनीहरूले भगवानलाई सम्झिएका छन् । सल्लेरीमा करिब १२ घर थिए । अधिकांश गुरुङ समुदायको बसोबास थियो ।

कपडासमेत लगाउन नभ्याई ज्यान बचाउन भागेका सल्लेरीवासीले घरका लत्ताकपडा, पैसा वा अन्नपात केही जोगाउन भ्याएनन् । सर्वस्व गुमाएका सल्लेरीका स्थानीय अहिले उद्धारपछि आफन्तको शरण लिन काठमाडौं जाँदै छन् । बिहानको झिसमिसे उज्यालो हुन नपाउँदै उर्लिएको बाढीले सल्लेरी बजार पूरै बगाएको छ ।

घरगोठ, बजार र जलविद्युत् आयोजनाका संरचनाहरू सखाप पारेको छ । तर, समयमै आएको एउटा फोन कलले मानवीय क्षति हुनबाट जोगाएको छ ।सल्लेरीमा जलविद्युत् आयोजनाको क्याम्प र पसलहरू थिए । प्राकृतिक सौन्दर्य हेर्न त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकहरू पनि त्यहीँ बास बस्थे । अहिले बाढीले सबै बगाइदिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार