राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारको भन्दै सार्वजनिक भएको अडियो प्रकरणबारे सर्वत्र चर्चा भइरहे पनि प्रहरीले छानबिन थालेको छैन । सत्तारुढ रास्वपाका महामन्त्री विपिन आचार्य स्वयंले विज्ञप्ति जारी गरेर सांसद् सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएकाले छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको बताएका छन् ।
पार्टीको अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पनि अतिसंवेदनशील घटनाबारे छानबिन सुरु गरिसकिएको बताए । तर, नेपाल प्रहरीले चाहिँ छानबिनका लागि औपचारिक उजुरी कुरिरहेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अबि रायण काफ्लेले प्रहरीको कुनै युनिटमा औपचारिक उजुरी नआएको बताएका छन् ।
‘औपचारिक रुपमा अनुसन्धान गर्नलाई केही कानुनी आधारका कुरा हुन्छन्, त्यसअनुसार उजुरी आएपछि मात्र कानुन बमोजिम हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यद्यपि, बाहिर आएका विषयमा हाम्रो हिसाबले विभिन्न च्यानलबाट बुझ्ने काम गर्दै छौं ।’ उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउसमेत गरेर अनुसन्धान हुने प्रहरीको भनाइ छ ।
अधिवक्ता राधिका खतिवडाका अनुसार हाल सार्वजनिक भएको अडियो सुनारकै हो भन्ने पुष्टि भएको अवस्थामा विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान हुन सक्छ । ‘नभए गाली बेइज्जती गरेकामा सिधै अदालतमा समेत जान सकिन्छ, तर फौजदारी कसुरतर्फ चाहिँ विद्युतीय कारोबार ऐन मात्र आकर्षित हुने देखिन्छ,’ खतिवडाले भनिन् ।
अधिवक्ता खतिवडाका अनुसार विद्युतीय कारोबार ऐनको हकमा चाहिँ छानबिन गर्नलाई आफू पीडित भएको भन्दै कोही न कोही जाहेरी दिन जानुपर्छ । पीडित नाबालिक वा अभिभावकविहीन भएको अवस्था वा फरक क्षमताको हुँदा प्रहरी प्रतिवेदनका आधारमा समेत मुद्दा जान सक्ने भए पनि हाल सार्वजनिक भएको विषयमा पीडित आउनु जरुरी देखेको उनी बताउँछिन् ।
‘नाबालकको पनि आवाज सुनिएका कारणले उसको अभिभावक वा आफन्तले समेत जाहेरी दिनसक्ने ठाउँ चाहिँ रहन्छ,’ खतिवडाले थपिन् । जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमा : पूर्वमन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा सोमबार समाचार प्रकाशित थियो ।
त्यसमा खगेन्द्र सुनारको भनिएको आवाजमा एक महिलालाई अश्लील शब्दहरुसहित गालीगलौज गरिएको सुनिन्छ । सुनारले चाहिँ भिडियो सन्देश जारी गर्दै पोसाक खरिद अनियमितताबारे आवाज उठाएका कारण आफूलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन् । उनले त्यो अडियोलाई ‘एआई लगायत प्रविधिबाट तयार पारिएको’ दाबी गरेका छन् ।
सुनारले एआई प्रयोग गरेर आफूविरुद्ध प्रचार गरिएको बताएका छन् । जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमा: पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा सोमबार समाचार प्रकाशित गरेपछि रास्वपाले विज्ञप्ति जारी आन्तरिक छानबिन सुरु गरेको जनाएको थियो ।
जनआस्थाको समाचारमा सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भनिएको छ । सुनारले धम्की दिएको चार वटा अडियोसमेत फेला पारेको जनआस्थाले जनाएको छ । सांसद सुनारले भने प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि नै आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’ आफूमाथि हुने छानबिनमा पार्टी र सरकारलाई सहयोग गर्न पनि आफू तयार रहेको सांसद सुनारले बताएका छन् ।
उनले भनेका छन्, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’

